बालानन्द र तारिक भेट

बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिकले नेपाललाई दिए निर्वाचनको शुभकामना

हिमाल प्रेस ६ फागुन २०८२ ११:५१ | Wednesday, February 18, 2026
6
SHARES
बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिकले नेपाललाई दिए निर्वाचनको शुभकामना

काठमाडौँ- ब‌ंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

सपथग्रहण कार्यक्रममा सहभागी हुन बंगलादेश पुगेका परराष्ट्रमन्त्री बालानन्द शर्मालाई छुट्टै भेट दिँदै बंगलादेशका प्रधानमन्त्री तारिकले नेपालको पछिल्लो अवस्थाबारे जानकार रहेको र निर्वाचन सफलताको शुभकामना दिएका हुन्।

नेपालको विकास, लोकतन्त्र, स्थायित्व र शान्तिका लागि मिलेर काम गर्न बंगलादेश तयार रहेको र नेपालले पनि यसमा आफूलाई परिपक्व बनाउँदै अघि बढेकोमा उनले खुसी व्यक्त गर्दै द्विपक्षीय र क्षेत्रीय सहकार्यमा समेत जोड दिएका थिए।

बंगलादेशको स्वतन्त्रतादेखि अहिलेसम्म पनि नेपालले निरन्तर देखाएको सदासहयता र ऐक्यबद्धताप्रति आफू जानकार रहेकोमा तारिकले नेपाल र नेपाली नागरिकप्रति आभार प्रकट समेत गरेका थिए।

तारिक बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। सन् १९८१ मा राष्ट्रपति रहँदै जियाउरको हत्या भएपछि बीएनपीको नेतृत्व खालिदाले गरेकी थिइन्।

१९६८ मा जन्मिएका तारिकले प्रारम्भिक शिक्षा ढाकाको बीएएफ शाहिन कलेजमा लिएका थिए। ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अध्ययन थाले पनि पूरा गर्न सकेनन्।

तारिक सन् १९८८ औपचारिक रूपमा बीएनपीको राजनीतिमा लागेका थिए भने २००१ को संसदीय निर्वाचनपछि पार्टीभित्र प्रभावशाली बनेका थिए।

त्यही समयमा उनीमाथि ‘हवा भवन’ प्रकरणसहित विभिन्न भ्रष्टाचार आरोप लाग्यो। सन् २००७ मा सेना समर्थित सरकारको समयमा उनलाई भ्रष्टाचार आरोपमा पक्राउ गर्दै जेलमा राखियो। करिब १८ महिना जेल बसेर उनी लण्डन  निर्वासनमा गएका थिए। लण्डनमा उनले राजनीतिक शरण लिएका थिए।

उनका आमा खालिदा जिया जेलमा परेपछि तारिक पार्टीका कार्यवाहक अध्यक्ष थिए। उनी लण्डनबाटै पार्टी सञ्चालन गर्थे। एक महिनाअघि मात्रै आमाको निधन भएपछि बीएनपीको नेतृत्व तारिकको काँधमा आइपुगेको हो।

१८ महिना जेल र १७ वर्ष निर्वासनपछि उनको स्वदेश फिर्तीपछि बीएनपीको राजनीतिक पुनर्जन्म भएको र तीन दशकपछि बंगलादेशले पुरुष प्रधानमन्त्री पाएको हो।

बीएनपीले पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो। शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनलाई पनि खालिदा जियाले समर्थन गरेकी थिइन्।

त्यही कारण पनि बीएनपीलाई युवाले साथ दिएका हुन्। विद्यार्थी आन्दोलनले जन्मिएको दलभन्दा अनुभवी दललाई नै त्यहाँका जनताले अघि बढाएको देखिन्छ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले मंगलबार साँझ बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिकसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा उनले नेपालको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको बधाई सन्देश हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री कार्कीले तारिकलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिँदै पारस्परिक सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनामा आधारित सहकार्यमार्फत नेपाल-बंगलादेश सम्बन्धलाई दुवै देश र जनताको हितमा अझ सुदृढ बनाउँदै लैजान इच्छुकता व्यक्त गरेकी थिइन्।

परराष्ट्रमन्त्री शर्माले १२ फेब्रुअरी २०२६ मा सम्पन्न राष्ट्रिय निर्वाचनमा ब‌गंलादेश नेसनल पार्टी (बीएनपी) अत्यधिक बहुमतसहित विजय भई मुलुकलाई नेतृत्व दिन सपथ लिएका प्रधानमन्त्री रहमानलाई बधाई दिएका थिए।

बंगलादेशमा विद्यार्थी आन्दोलनले लामो समयदेखि लागतार नेतृत्व गरिरहेकी शेख हसिनाको सरकार ढालेको १८ महिनापछि निर्वाचन भएको हो।

सन् २०२४ को जुलाईमा विद्यार्थीहरूको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सत्ता छाडेर भारतमा शरण लिन पुगेकी हुन्। उनको एक पक्षीय चरम दमनका कारण उनी सत्ताच्युत भएर विदेश निर्वासनमा जान बाध्य भएकी हुन्।

बंगलादेशमा निर्वाचनपछि सपथग्रहण भइरहँदा हसिना भने भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। प्रधानमन्त्री हुँदा विद्यार्थी आन्दोलनलाई दमन गरेर १४ सयभन्दा बढी विद्यार्थीको हत्या गरेको अभियोग उनीमाथि छ। त्यही अभियोगमा उनलाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय समेत सुनाएको छ।

यस पटकको निर्वाचनमा हसिनाको दल अवामी लिगले सहभागिता जनाउन पाएन। मोहम्मद युनुसको अन्तरिम सरकारले हसिनाको दललाई प्रतिबन्ध समेत लगाएको थियो। तीन  सय मध्ये २९९ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि कम्तिमा १५० सिट आवश्यक हुनेमा बीएनपीले २०९ सिट जितेको छ। गठबन्धनमा सहभागी जोड्दा त २१२ सिट नै जितेको छ।

साथै निर्वाचनको सफल सञ्चालन तथा लोकतान्त्रिक प्रक्रियामा सुचारु रूपान्तरण गरेकोमा बंगलादेशको निवर्तमान युनुस सरकारको पनि हाम्रा परराष्ट्रमन्त्री शर्माले  खुलेर प्रशंसा गरेका थिए।

प्रधानमन्त्री तारिकले शपथग्रहण समारोहमा सहभागी भएकोमा परराष्ट्रमन्त्रीप्रति धन्यवाद व्यक्त गर्दै उनको भ्रमणले नेपाल सरकार र नेपाली जनताको बंगलादेशप्रति रहेको ऐक्यबद्धता र सद्भाव प्रतिबिम्बित गरेको बंगलादेशस्थित नेपाली दूतावासले जानाएको छ।

दुवै नेताले नेपाल-बंगलादेशबीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गर्दै व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), शिक्षा तथा पर्यटनलगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने बताएका छन्।

भेटअघि परराष्ट्रमन्त्री शर्माले बंगलादेश सरकारका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथग्रहण समारोहमा सहभागिता जनाएका थिए।  बंगलादेशका राष्ट्रपति महामहिम मोहम्मद शहाबुद्दिनले नेशलन पार्लियामेन्ट (जाटीया संसद) परिसरमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका थिए।

यसै क्रममा परराष्ट्रमन्त्री शर्माले प्रमुख प्रतिपक्ष दलका नेता तथा बंगलादेश जमात-ए-इस्लामीका आमिर डा.शफिकुर रहमानसँग पनि भेटवार्ता गरेका थिए। भेटमा दुवै नेताबीच द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरूबारे विचार आदान-प्रदान भएको थियो।

विद्यार्थी आन्दोलनबाटै हसिना र अवामी लिग सत्ताबाट बहिर्गमन भए पनि बंगलादेशको सरकारले विद्यार्थी आन्दोलनबाट स्थापित पार्टी नेसनल सिटिजन पार्टी (एनसिपी) लाई भने अनुमोदन गरेन। त्यो दलले खासै सिट ल्याउन सकेन।

परराष्ट्रमन्त्री शर्मा वर्तमान प्रधानमन्त्री तारिककी आमा खालिदा जियाको अन्तेष्टिमा सहभागि हुन १६ देखि १९ फेब्रुअरी २०२६मा पनि बंगलादेश भ्रमण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast