बंगलादेशी दूतावासले मनायो मातृभाषा दिवस

हिमाल प्रेस १० फागुन २०८२ २१:३४ | Sunday, February 22, 2026
8
SHARES
बंगलादेशी दूतावासले मनायो मातृभाषा दिवस

काठमाडौँ- काठमाडौँस्थित बंगलादेशी दूतावासले आज (आइतबार) अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ।

कार्यक्रममा सहभागीहरूले बंगला भाषा प्रयोग गर्न पाउने अधिकारका लागि लडेका भाषाका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे भने मातृभाषा र बहुभाषिकताको विश्वव्यापी महत्त्वका बारेमा चर्चा गरेका थिए।  सो अवसरमा सन् १९५२ को भाषा आन्दोलनको स्मरण गरिएको थियो।

सहभागीहरूलाई स्वागत गर्दै नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले १९५२ मा बंगला भाषाको पवित्रता अक्षुण्ण राख्न प्राण आहुति दिने सहिदहरूप्रति श्रद्धा अर्पण गरे। उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनको आवश्यकतामाथि जोड दिँदै गुणस्तरीय शिक्षा प्रणालीको आधारका रूपमा मातृभाषामा आधारित बहुभाषिक शिक्षाको आवश्यकता औंल्याए।

कार्यक्रममा बंगलादेशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो। आफ्नो सन्देशमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले बंगला भाषीहरूलाई भाषाको गुणस्तर र मर्यादा जोगाउन सतर्क रहन आग्रह गर्दै भाषा राष्ट्रको अस्तित्व, सम्पदा र संस्कृतिको प्रमुख संरक्षक र वाहक भएको बताए।

त्यसै गरी बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले विश्वभरका भाषाहरूको मर्यादा कायम राख्न र संरक्षण गर्न सामूहिक प्रयासका लागि आह्वान गरे। उनले भने, ‘हाम्रो देश भित्रको भाषिक विविधतालाई संरक्षण गरौं, हाम्रो अद्वितीय संस्कृति र सम्पदाको रक्षा गरौं र सबै तहमा बंगला भाषाको उचित प्रयोग र विकास सुनिश्चित गरौं।’

बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानले ऐतिहासिक आन्दोलनले सांस्कृतिक विविधताको सम्मान, भाषिक बहुलताको प्रवर्द्धन र समावेशी शिक्षा नै शान्तिपूर्ण, दिगो र समावेशी समाज निर्माणका अत्यावश्यक स्तम्भ हुन् भन्ने कुरा सबैलाई स्मरण गराउने बताए।

कार्यक्रममा श्रीलंका, फिनल्याण्ड, रुस र मलेसियन दूतावासका प्रतिनिधिहरू तथा नेपालस्थित युनिसेफका प्रतिनिधिहरूले विश्वव्यापी सद्भाव कायम राख्न मातृभाषा र बहुभाषिक शिक्षाको सार्वभौमिक मूल्यमाथि जोड दिए। उनीहरूले आफ्नै मातृभाषामा सम्बोधन गरेका थिए।

सो अवसरमा नेपाल भाषा आयोगका कृष्णप्रसाद न्यौपानेले आयोग र यसका गतिविधिबारे प्रस्तुतीकरण दिएका थिए। सो समारोहले ‘एकुशे’ (२१ को बंगला शब्द) को भावनालाई विश्वभरको भाषिक सम्पदा संरक्षणको प्रेरणाको स्रोतका रूपमा प्रतिबिम्बित गरेको थियो। युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस घोषणा गरेको छ।

उक्त कार्यक्रममा सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र काठमाडौँमा रहेका बंगलादेशी समुदायका सदस्यहरूको उपस्थिति थियो।

प्रकाशित: १० फागुन २०८२ २१:३४ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast