बंगलादेश : सामाजिक सञ्जालमा लोकप्रिय, चुनावमा पराजित

हिमाल प्रेस १ फागुन २०८२ १५:४० | Friday, February 13, 2026
22
SHARES
बंगलादेश : सामाजिक सञ्जालमा लोकप्रिय, चुनावमा पराजित सामाजिक सञ्जाल फेसबुकमा  झन्डै ७५ लाख फलोअर्स रहेकी तास्निम जारा। 

काठमाडौँ- बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी आन्दोलनबाट उदाएका जेनजी उम्मेदवारहरूले हार बेहोर्नुपरेको छ। सेख हसिनाको सरकार अपदस्थ गर्न भएको आन्दोलनबाट उदाएका जेनजी नेताहरूले पराजित भएका हुन्।

सामाजिक सञ्जालहरूमा लोकप्रिय अनुहारहरूले पनि चुनावमा पराजित भएका छन्। जसमध्ये एक हुन् तास्निम जारा। सामाजिक सञ्जाल फेसबुकमा झन्डै ७५ लाख फलोअर्स रहेको उनलाई बंगलादेशको जनताले पत्याएनन्।

पेसाले चिकित्सक रहेकी जारा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ हुन्। झकुन्डो चुनाव चिह्न लिएर राजधानी ढाका क्षेत्र नम्बर ९ बाट प्रतिस्पर्धा गरेकी उनी तेस्रो स्थानमा रहिन्।

सञ्चारमाध्यमका अनुसार जाराले ४४ हजार ६८४ मत प्राप्त गर्दा विजयी उम्मेदवार हबिबुर रसिदले १ लाख ११ हजार २१२ मत ल्याए। हबिबुर बंगलादेश नेसनल पार्टी (बीएनपी) का उम्मेदवार हुन्।

चुनावमा हार बेहोरोपछि जाराले आफूहरू रचनात्मक शक्तिका रूपमा काम गरिरहने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘हामी एक रचनात्मक शक्तिको रूपमा काम गर्नेछौँ। जनहितका कार्यहरूमा हाम्रो समर्थन रहनेछ, तर जनताको अहित हुने कुनै पनि निर्णयविरूद्ध हामी आवाज उठाउनेछौँ।’

सेख हसिनाको पार्टी अवामी गिलाई प्रतिबन्ध लगाइएको निर्वाचनमा खालिदा जियाको पार्टी बीएनपीले कुल २९९ निर्वाचन क्षेत्रमध्ये २१२ क्षेत्रमा जित सुनिश्चित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै विद्यार्थी आन्दोलनबाट उदाएका जेनजी उम्मेदवारहरू जम्मा ६ जना निर्वाचित भएका छन्।

प्रकाशित: १ फागुन २०८२ १५:४० | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast