फाइल तस्बिर
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई मधेशी नेता भन्न नमिल्ने बताएका छन्। सामाजिक सञ्जालको हाइहुइका आधारमा बालेनलाई मधेशको प्रतिनिधि बनाउने प्रयास भइरहेको भन्दै यादवले त्यसलाई अस्वीकार गरेका छन्।
एक अन्तर्वार्तामा यादवले मधेशी पहिचान भाषा, संस्कृति र समुदायसँग जोडिने विषय भएको उल्लेख गर्दै बालेन शाहले कहिल्यै आफूलाई मधेशीका रूपमा प्रस्तुत नगरेको दाबी गरे।
‘उहाँ मधेशी भाषा बोल्नुहुन्छ? मधेशी संस्कृतिमा चल्नुहुन्छ? मधेशको मुद्दामा कहिल्यै आवाज उठाउनुभएको छ?’ यादवले प्रश्न गरे।
रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको सन्दर्भमा यादवले सामाजिक सञ्जाललाई राजनीतिक ‘लिस्नु’ को संज्ञा दिँदै त्यसकै भरमा देश नचल्ने बताए। ‘सामाजिक सञ्जालले प्रचण्डलाई राष्ट्रपति बनाएकै हो तर कहाँ भए?’ उनले प्रश्न गरे। सामाजिक सञ्जालमा देखिने ट्रेन्ड र यथार्थ राजनीतिबीच ठूलो अन्तर रहेको पनि उनले बताए।
यादवले मधेश आन्दोलन, जनजाति आन्दोलन र संघीय गणतन्त्र स्थापनाका बेला मौन बसेकाहरू अहिले मधेशको नाम लिएर राजनीति गर्न खोज्नु अवसरवाद भएको आरोप लगाए।
उनले मधेशका लागि स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारबारे स्पष्ट धारणा नराख्ने शक्ति मधेशको प्रतिनिधि हुन नसक्ने जिकिर गरे। ‘घण्टीले मधेशको स्वायत्ततालाई समर्थन गर्छ? आत्मनिर्णयको अधिकार स्वीकार्छ? यदि गर्छ भने हामी पनि सहयोग गर्न तयार छौँ,’ यादव भन्छन्।



