नेपाल र इंग्ल्यान्डबीचको खेल। तस्बिर : क्यान
नयाँ दिल्ली- क्रिकेटमा पहिले ठूला टोलीहरूले एसोसिएट राष्ट्रहरूलाई सामान्य प्रतिस्पर्धी ठान्थे तर टी–२० विश्वकप २०२६ का सुरुवाती खेलहरूले त्यो धारणा तोडिदिएका छन्।
नेपालले इंग्ल्यान्डलाई कडा चुनौती दियो। नेदरल्यान्ड्सले पाकिस्तानलाई अप्ठ्यारोमा पार्यो र अमेरिकाले भारतलाई समेत दबाबमा राख्यो।
सन् २०२२ को विश्व च्याम्पियन इंग्ल्यान्डविरुद्ध नेपालले देखाएको प्रदर्शन उल्लेखनीय रह्यो। नेपाली खेलाडीहरूले विश्वस्तरीय इंग्लिस खेलाडीहरूलाई अन्तिम ओभरसम्म दबाबमा राखे।
इंग्ल्यान्डले १८४ रन बनाए पनि नेपाल १८० रनसम्म पुगेर कडा प्रतिस्पर्धा गर्यो। नेपाली खेलाडीहरूको जाँगर र आत्मविश्वासले सबैलाई प्रभावित बनायो।
त्यस्तै, नेदरल्यान्ड्स अब ‘अपसेट’ गर्ने सानो टोली मात्र होइन बलियो प्रतिस्पर्धीका रूपमा स्थापित हुँदैछ। पाकिस्तानविरुद्धको खेलमा १४७ रनको लक्ष्य दिएपछि उसले उत्कृष्ट बलिङ र रणनीतिबाट खेल रोमाञ्चक बनायो।
पाकिस्तान ९८/२ को सहज अवस्थामा हुँदाहुँदै पनि नेदरल्यान्ड्सले खेल पल्टाउँदै १००/५ को स्थितिमा पुर्यायो। अन्तिम क्षणमा क्याच छुटेपछि पाकिस्तानले कठिन जित हात पारे पनि नेदरल्यान्ड्सको रणनीति र फिल्डिङ प्रशंसनीय रह्यो।
अमेरिका पनि विश्व क्रिकेटमा नयाँ ‘जायन्ट किलर’का रूपमा देखा परेको छ। उसले अघिल्लो संस्करणमा पाकिस्तानलाई हराएको थियो भने यसपटक भारतविरुद्ध पावरप्लेभित्रै चार विकेट लिएर चकित पार्यो। उत्कृष्ट फिल्ड प्लेसमेन्ट र योजनाबद्ध बलिङका कारण भारत दबाबमा पर्यो यद्यपि अन्ततः भारतले २९ रनले जित निकाल्यो।
एसोसिएट टोलीहरूको सुधारका पछाडि खेलको बढ्दो संख्या, लिग क्रिकेटमा सहभागिता, अनुभवी खेलाडीहरूको उपस्थिती, उत्कृष्ट कोचिङ तथा पूर्वाधार र टी-२० ढाँचाको अनिश्चित स्वभाव प्रमुख कारण हुन्।
एसोसिएट टोलीका खेलाडीहरू निडर भएर खेलेका छन्। तर अन्तिम क्षणमा अनुभव र बेन्च स्ट्रेन्थको कमीले जित हात पार्न भने कठिन भइरहेको छ। दैनिक भास्करबाट



