काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गरेका छन्।
महाशिवरात्रि तथा नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा जर्नल प्रकाशन गरिएको हो। सेनाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ।
खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा र डा. गीता थपलिया तथा तृतीय हुनुहुने सृजना आचार्य र सहायक रथी अर्जुन बस्नेतलाई प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे।
सोही अवसरमा प्रधानसेनापतिले उक्त जर्नलको मूल्यांकन तथा सम्पादकमण्डलमा रहेका सदस्यहरूका साथै लेखकलाई कदरपत्र प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त कार्यक्रममा प्राध्यापक डा. ध्रुव कार्कीले जर्नल प्रकाशनको महत्त्वसम्बन्धी जानकारी गराएका थिए।
यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास सेनाले लिएको छ।
विमोचन कार्यक्रममा बलाधिकृत, प्राध्यापक वर्ग, रथीवृन्द, विषयविज्ञ तथा सम्पादक मण्डल, लेखकहरूलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो।




