…अनि मनोजलाई हर्कसँग प्रतिस्पर्धा गर्ने झोक चल्यो

विवेक विवश रेग्मी २७ माघ २०८२ १४:५० | Tuesday, February 10, 2026
180
SHARES
…अनि मनोजलाई हर्कसँग प्रतिस्पर्धा गर्ने झोक चल्यो

इटहरी- सुनसरी-१ को निर्वाचनमा हर्क साम्पाङ र मनोज भट्टराईबीचको प्रतिस्पर्धा सबैभन्दा चासोको विषय बनेको छ। यो भिडन्तलाई दुई व्यक्तिबीचको व्यक्तिगत असमझदारी मात्र नभएर दुई भिन्न राजनीतिक ‘लाइन’ को संघर्षसमेतका रूपमा लिइएको छ।

हर्क साम्पाङ धरानको राजनीतिमा विद्रोही चेतनाको प्रतिनिधि पात्र हुन्। स्वतन्त्र उम्मेदवारबाट धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि श्रमदान, कडा बोली र व्यवस्थाविरोधी भाषाका कारण उनी चर्चामा आए।

स्थानीय तहको निर्वाचन २०७९ मा पार्टी, संरचना र परम्परागत नेतृत्वलाई चुनौती दिएर उनले जनताको भावनात्मक समर्थन जुटाए। निर्वाचित भएपछि धरानमा खानेपानी वितरणका लागि उनी आफैँ मजदुरजसरी स्वयंसेवामा सक्रिय भए। पालिका प्रमुखका रूपमा उनको सक्रियतालाई लिएर अनेकखालका टीकाटिप्पणी भए।

धरानको दीर्घकालीन पूर्वाधार निर्माणमा उनको केकति योगदान रह्यो भन्नेचाहिँ थप खोजीको विषय हुन सक्छ। आफ्ना मतदाताका कम र सामाजिक सञ्जालमा भावनात्मक समर्थन जुटाएका साम्पाङले नगर प्रमुखको एक कार्यकाल पूरा गर्न चाहेनन्।

पाँच वर्षका लागि निर्वाचित भएका उनी ३३ महिनापछि नगर प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मैदानमा उत्रिएका हुन््। नगर प्रमुखमा निर्वाचित गराएका धरानेका लागि उनले आफ्नो जबाफदेहिता भुलेको भनेर टिप्पणी भइरहेको छ।

हर्कका समर्थक भने नगर प्रमुखको कार्यकाल नसकिँदै संसद्तर्फको यात्रा उनका समर्थकका लागि ‘सिस्टम भत्काएर माथिसम्म पुग्ने’ साहसी कदमका रूपमा लिन्छन्।

हर्क नगर प्रमुख हुँदा निर्णय प्रक्रियामा एकल सोच, असहमतिको सीमित सहनशीलता र आलोचकप्रति आक्रामक प्रस्तुतिले कार्यपालिकाका कतिपय सदस्य असन्तुष्ट बने। तीमध्ये सबैभन्दा मुखर थिए तत्कालीन वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)।

कार्यपालिका बैठकमा उनले बारम्बार हर्कको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका थिए। यही कारण उनी हर्क समर्थकको नजरमा ‘विरोधी’ बने भने आलोचनात्मक मतदाताको नजरमा सन्तुलन खोज्ने नेताका रूपमा देखिन थालेको स्थानीय अगुवा बताउँछन्।

हर्कले सामाजिक सञ्जालमा मनोजलाई ‘गुइँठे’ आरोप लगाएपछि यो असमझदारी सार्वजनिक टकरावमा बदलिएको हो। मनोजको उम्मेदवारीलाई धेरैले ‘हर्कविरुद्धको प्रतिशोध’ का रूपमा व्याख्या गरेका छन्।

मनोज भने त्यसलाई अस्वीकार गर्छन्। उनका अनुसार यो झोक वा व्यक्तिगत रिसको विषय होइन, जनताको चाहना र पार्टीको निर्णय हो।

जानकारहरूका अनुसार हर्कले भावनात्मक र व्यवस्थाविरोधी मत तानिरहेका छन् भने मनोजले सुकुमबासी, खानेपानी र पूर्वाधारजस्ता मुद्दामा काम गरेर देखाएका अनुभवका आधारमा मत मागिरहेका छन्।

हर्क र मनोजबीच मत बाँडिँदा त्यसको फाइदा रास्वपालाई पुग्न सक्ने सम्भावना बलियो छ। धरानको विद्रोही मत एक ठाउँमा नअडिँदा सुनसरी-१ को नतिजा अपेक्षाभन्दा फरक मोड लिन सक्ने अनुमान भइरहेको छ।

कुनै बेला एमालेको गढ मानिएको सुनसरी-१ मा यसपटक भने श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङको उम्मेदवारीलाई लिएर आकर्षणले हेरिएको हो। साम्पाङ अहिले घरदैलो गर्दै मत मागिरहेका छन्।

हर्क र मनोज एउटै कार्यपालिकामा काम गरेर आएका व्यक्ति हुन्। उनीहरूबीचको आन्तरिक असमझदारी र बारम्बारको असहमतिको परिणाम चुनावी भिडन्तमा परिणत भएको हो।

हर्क साम्पाङसँगै प्रतिस्पर्धा गर्र्ने झोकमा कसरी पुग्नुभएको त? भन्ने हिमालप्रेसको जिज्ञासामा मनोज भन्छन्, ‘उहाँ (हर्क) का स्वभावजन्य र प्रवृत्तिगत समस्यासँग मैले चट्टानी अडान राख्दै आएको हुँ। हर्कजी त पार्टीको अध्यक्ष, आफैँले आफैँलाई टिकट दिने मान्छे हो। मैले मेरो इच्छाले मात्रै चुनाव लड्ने कुरा होइन। जनताको चाहना र भावनाबमोजिम पार्टीले मलाई विश्वास गरेर टिकट दिएकाले चुनावमा होमिएको हुँ।’

हर्कसँग मात्र आफ्नो प्रतिस्पर्धा नरहेको उनको जिकिर छ। ‘मलाई झोक चल्नु र नचल्नु कुनै अर्थ होइन। पार्टीको कार्यकर्ता भएकाले पार्टीले टिकट दिएपछि अहिले घरदैलो अभियानमा छु। यहाँ उम्मेदवारी दिएका सबैजना मेरा प्रतिस्पर्धी हुन्’, उनले भने।

हर्कले भनेका थिए- ‘हिम्मत भए मसँगै चुनाव लड्नू’

एक दिन धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चलिरहेको थियो। बैठकमा कार्यपालिका सदस्यहरूले आआफ्नो कुरा राखिरहेका थिए। सोही क्रममा उपमेयर आइन्द्रविक्रम बेघाको अभिव्यक्तिमा हर्कले चित्त बुझाएनन्। भनाभनको अवस्था उत्पन्न भयो। त्यति मात्रै नभई उनीहरूबीचको भनाभन उत्कर्षमा पुग्यो।

सोही क्रममा हर्कले आइन्द्रलाई लक्षित गरेर भने, ‘मेयर ठूलो कि उपमेयर ठूलो हुन्छ? तपाईँ भनेको उपनेता हो, म नेता हुँ।’

आइन्द्रले जबाफ फर्काए, ‘तपाईंँले खेलाँची गरेको हो?’

केहीबेरको भनाभनपछि हर्कले भने, ‘हिम्मत भए मसँगै चुनाव लड्नु…!’

आइन्द्रविक्रम एक पात्र भए पनि कार्यपालिका सदस्यहरूले हर्कको कार्यशैलीमाथि बारम्बार प्रश्न गरिरहे। जसमध्ये प्रश्न उठाइरहने मुख्य व्यक्ति थिए, मनोज। आइन्द्रविक्रम र मनोज तत्कालीन नेकपा माओवादी केन्द (हाल नेपाली कम्युनिस्ट पार्टी) मा आबद्ध छन्। आफ्ना नेतालाई र कार्यपालिका सदस्यहरूको मनोभावनालाई अपमान गरेको महसुस गरी मनोजले हर्कसँग चुनाव लड्ने सोच बनाए। अनि वडाअध्यक्षबाट राजीनामा दिए। पार्टीले टिकट दिएपछि मनोज प्रतिस्पर्धामा होमिएका हुन्।

हर्कले तत्कालीन वडाध्यक्ष मनोजमाथि श्रमदाता लगाएर वडा कार्यालयमै आक्रमणको प्रयास गरेको आरोप लागेको थियो। यसैगरी इलाका प्रहरी कार्यालयमा भएको एउटा छलफल कार्यक्रममा पनि भनाभनको अवस्था उत्पन्न भएको थियो।

धरानका अर्का एक वडाध्यक्ष पनि हर्कले होच्याएकै कारण मनोज मैदानमा उत्रिएको बताउँछन्। ‘कार्यपालिका बैठकमा भनेको हुनाले पात्र पो आइन्द्रविक्रम भए, तर सबैलाई अपमान गरेको महसुस भयो,’ ती वडाध्यक्षले भने, ‘त्यति मात्र नभई हर्कले मै सर्वैसर्वो हो भन्ने कुरा दोहो¥याइरहनु र अरूलाई होच्याइरहनाले यो अवस्था उत्पन्न भएको हो।’

हर्कसँग मनोज रहरले नभएर बाध्यताले मैदानमा उत्रीएको ती वडाध्यक्षको भनाइ छ। उनले भने, ‘मनोजलाई प्रतिस्पर्धा गर्ने रहर थिएन तर परिस्थितिले बाध्य बनायो। हर्कका गलत हर्कतविरूद्व बोल्ने र हिजो मेयर हुँदा ड्यासिङ दिने व्यक्ति मनोज भएकाले पनि अहिले चुनावमा भिड्न सहज भएको छ।’

कुनै बेला हर्क साम्पाङ व्यवस्थाविरुद्धको जनआक्रोशका प्रतीक बनेका भए पनि अहिले उनका अभिव्यक्तिले आफैँलाई असहज अवस्था सिर्जना भएको छ। सत्ता, शासन प्रणाली, पार्टी संरचना र ‘नेतागिरी’ माथि सीधा प्रहार गर्ने हर्कलाई अहिले आफ्नै बोली गलपासोजस्तो भएको जानकारहरू बताउँछन्।

कार्यपालिकाभित्र निरन्तर टकराव, सहकार्यको अभाव र दीर्घकालीन योजनामा अस्पष्टताले केही मतदातामा ‘हर्कले विरोध त गरे, समाधान के?’ भन्ने प्रश्न चिर्न मनोजको प्रवेश भएको कतिपयको बुझाइ छ।

धरान-१७ मा दुईपटक निर्वाचित वडाध्यक्ष मनोज हर्कजस्तै सुकुमबासी, गरिब र आधारभूत सेवाबाट वञ्चित समुदायका आवाज उठाउँछन्। तर शैली फरक छ। मनोज प्रणालीभित्र बसेर भिड्ने रणनीतिमा रहेको बताउँछन्।

आफूसँग खानेपानी, सुकुमबासी समस्या, ल्यान्डफिल साइट र आधारभूत पूर्वाधारबारे स्थानीय तहमा काम गरेको अनुभव रहेको मनोज बताउँछन्। उनी भन्छन्, ‘सुनसरी-१ को भूगोल धरानसँगै बराहक्षेत्र र रामधुनीसँग जोडिएको छ। तर मनमा अझै ‘सर्दु वारि-सर्दु पारि’ भन्ने मनोविज्ञान छ। म यो मनोविज्ञान तोड्न आएको हुँ।’

‘स्पिरिचुअल कनेक्टिभिटी’ अन्तर्गत धरान-१४ का दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा तथा धरान-२० को विष्णुपादुका मन्दिरलाई बराहक्षेत्र र रामधुनीसँग धार्मिक सञ्जालमा जोड्ने योजना रहेको उनले सुनाए।

धरानको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न आफूसँग विशेष योजना रहेको उनले सुनाए। ‘अर्कोपटक चुनाव लड्ने जुनसुकै पार्टीको उम्मेदवारले धरानमा खानेपानीको मुद्दालाई देखाएर निर्वाचन लड्नुपर्दैन,’ भट्टराईले भने, ‘यसको दीर्घकालीन समस्या समाधान गरिनेछ ।’

यस क्षेत्रमा भूगोलको समस्या रहेको स्मरण गर्दै उनले एकता र सद्भाव कायम राख्नसमेत आफ्नो उम्मेदवारी रहेको बताए। जानकारहरूका अनुसार सुनसरी-१ मा रोचक राजनीतिक गणित बनाएको छ। साम्पाङले भावनात्मक र विद्रोही मत काट्छन्। मनोजले स्थानीय शासन र व्यवहारिक मत तान्छन्। यी दुईबीच मत विभाजन हुँदा त्यसको प्रत्यक्ष फाइदा रास्वपालाई वा कांग्रेस र एमाले कसलाई पुग्छ भन्ने चुनावको निर्णायक बिन्दु बन्न सक्छ।

सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्कराज राई, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेकपा एमालेका टीका माङ्लेन, राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङ (गोमा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराई (मनोज) बीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

उक्त क्षेत्रमा २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। जहाँ धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ। यहाँ कुल एक लाख ५० हजार ३९३ मतदाता छन्।

निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष ७२ हजार १८०, महिला ७८ हजार २१२ तथा यौनिक तथा लैंगिक अल्पसंख्यक एकजना मतदाता छन्।

वडागत मतदाता संख्या

धरान उपमहानगरपालिका

वडा १ : ३,३६२
वडा २ : २,४१७
वडा ३ : ३,४९८
वडा ४ : २,६६१
वडा ५ : ७,६२६
वडा ६ : ५,६९९
वडा ७ : २,२८०
वडा ८ : ८,६९०
वडा ९ : २,७१५
वडा १० : ३,७८८
वडा ११ : १०,७८८
वडा १२ : २,९३४
वडा १३ : ६,८४१
वडा १४ :  ३,२२१
वडा १५ : १५,७०८
वडा १६ : ८,८६५
वडा १७ : १०,२२३
वडा  १८ : २,४७२
वडा १९ : ४,२४१
वडा २० : २,९१०

बराहक्षेत्र नगरपालिका

वडा १ : ४,५३८
वडा २ : ५,९२७
वडा ३ : ६,६८१
वडा ४ : ४,२६३
वडा ५ : ६,८३२

रामधुनी नगरपालिका

वडा ६ : ५,३०३
वडा ७ : ५,९१०

प्रकाशित: २७ माघ २०८२ १४:५० | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast