काठमाडौँको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

हिमाल प्रेस १५ फागुन २०८२ ६:५७ | Friday, February 27, 2026
8
SHARES
काठमाडौँको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ।

सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको कामपा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन्।

त्यसैगरी, तेस्रो चरणमा थप आठवटा वडाको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यससम्बन्धी जानकारी दिइएको हो।

तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डंगाेल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गरेका हुन्।

यस चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको मौलिक नामको अध्ययन गरिने राईले जानकारी दिइन्।

विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ।

अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा बस्तीको मौलिक एवं प्राचीन नामकरणसम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको उनले जानकारी दिइन्।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ। यसरी पहिचान गरिएको नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गराइन्छ।

प्रकाशित: १५ फागुन २०८२ ६:५७ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast