महाशिवरात्रिमा खुले २ बजेदेखि पशुपतिका चारवटै ढोका : ८ लाख दर्शनार्थी आउने अनुमान, ४ हजार साधुसन्त

हिमाल प्रेस ३ फागुन २०८२ ६:५३ | Sunday, February 15, 2026
8
SHARES
महाशिवरात्रिमा खुले २ बजेदेखि पशुपतिका चारवटै ढोका : ८ लाख दर्शनार्थी आउने अनुमान, ४ हजार साधुसन्त पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको चहलपहल काठमाडौँ, १२ फागुनः महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका साधु सन्त । यस पर्वमा पशुपतिनाथ राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा आकर्षकको केन्द्र बन्ने गरेको छ। तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ- महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा रातिदेखि भक्तजनको भीड लागिसकेको छ। बिहान २ बजेदेखि मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थी, साधुसन्त एवं भक्तजनको संख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ। आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ। महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो।

यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए।

कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सीसीटीभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ ।

प्रकाशित: ३ फागुन २०८२ ६:५३ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast