काठमाडौँ- आम जनता पार्टी (आजपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै आजपाले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।
आजपाको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, नि:शुल्क स्वास्थ्य र शिक्षालगायतका विषयलाई समावेश गरिएको छ।
घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफूलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरेपछि आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए। उनले यसअघिको निर्वाचनमा पुरानाले देश बिगार्यो भन्दै मत माग्ने नयाँ भन्नेहरूले पनि पुरानै सरकारमा घुसेर सत्ताको स्वाद लिएको तर्क गरे।
आफूलाई जनतालाई मुर्ख बनाउनेहरूले आज नयाँ भनेर व्याख्या गरिराख्दा चिन्ता लाग्ने गरेको भन्दै उनले अब आफ्नो पार्टी नयाँ मुद्दाका साथ जनतामा गएको दाबी गरे।
उनले जनताको जीवनस्तर कागजी किताबमा नभई वास्तविकरूपमा नै सुधार गर्ने योजना आफूहरूसँग रहेको बताए। अध्यक्ष साहले उम्मेदवार पनि ठीक हुने र व्यवस्थाका साथै नीति पनि सही ढंगले चल्ने गरी देशलाई अघि बढाउन जनताहरूले पनि गम्भीर भएर निर्वाचनमा मत प्रयोग गर्नुपर्नेमा जोड दिए।




