पोखरा- सहारा क्लब पोखराद्वारा आयोजित २५औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी सातादेखि सुरु हुँदैछ। माघ २७ देखि फागुन ९ सम्म पोखरा रंगशालाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टिमले भाग लिँदैछन्। २५औं संस्करणको यो प्रतियोगितालाई विशेष बनाइएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो।
क्लब अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रत्येक खेल फ्लड लाइट जडान गरी रातिमा समेत खेलाइनेछ। बेलुका करिब ५ बजेतिर सुरू हुने प्रतियोगितामा हाफ टाइमसम्म उज्यालोमै भए पनि त्यसपछि फ्लड लाइट प्रयोग हुनेछ। यसबाट नौलो प्रयोग थालिएको र दर्शकसमेत बढ्ने थापाको विश्वास छ। नेपालको पूर्वी भेगमा विभिन्न प्रतियोगितामा अभ्यास गरिएको लाइट करिब २० लाख खर्चेर पोखरा ल्याइनेछ।
आयोजकले यसपालि पुरस्कार राशिसमेत बढाएको छ। प्रथम र दोस्रो पुरस्कारको धनराशि वृद्धि गरी क्रमशः १४ लाख र ७ लाख रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा नेपाल पुलिस क्लव, मनाङ मस्याङ्दी, प्लानिङ्ग बाईज युनाईटेड, भारत सिक्किमको थनडरबोन्ड नर्थ यूनाईटेड, गोर्खा इन्टरननेशनल फुटबल क्लब हड़कङ, आभा फुटवल क्लब उज्बेकिस्तान, चर्च व्वाईज यूनाइटेड, नेपाल एपिएफ क्लब, जाउलाखेल युथ, मछिन्द्र क्लब, भारतको थप एक टिम र आयोजक सहारा क्लब रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरूङले जानकारी दिए
प्रतियोगिता सधैं झैं हिमश्री फुड्स प्रा लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने मूल आयोजक समितिका सदस्य सचिव गंगाराज पौडेलले जनाए ।
सहारा क्लब पोखराले आयोजना गर्ने यो प्रतियोगिता नेपालको फुटबल इतिहासमा निरन्तर भएको एकमात्र प्रतियोगिता हो । सहाराले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ। हाल चौथो ब्याचमा १६ जिल्लाका ३० जना बालक सूर्यबहादुर केसी सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित रहेको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए । फुटबल प्रतियोगिताको आम्दानी एकेडेमीका लगानी हुँदै आएको छ।



