काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनपछि कुशासन र बेथितिको सटर सधैँका लागि बन्द हुने बताएका छन्।
बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार र मुद्दालाई वर्षौँसम्म अल्झाउने कामका साथै अन्य कुशासन र बेथितिको सटर सधैँका लागि बन्द हुने बताएका हुन्।
उनले फागुन २१ गते भोट हाल्ने मात्रै नभई इतिहास लेख्ने दिन भएको उल्लेख गरे। जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा मात्र अक्षरमा उल्लेख युगको अन्त्य अब रास्वपाले गर्ने भन्दै लामिछानेले जनताको माग र अधिकारलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए।
जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अवस्था अब नेपालमा नचल्ने उनले बताए। लामिछानेले देशको राजनीतिक आशा आकांक्षालाई केन्द्रमा राखेर रास्वपा आएकाले देशको परिवर्तनका लागि सहभागी हुन आह्वान गरे।
त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताए। सुदूपश्चिमका जनताले आफूहरूलाई मत नदिए पनि सुदूरपश्चिमलाई देशसँग जोडेरै छाड्ने उनले बताए। उनले विपन्न गरिबले सहजरूपमा शिक्षा पाउनुपर्ने, विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्ने, २० वर्षमा पनि नबन्ने बाटो डेढ वर्षमा बन्नुपर्ने लगायतका आफूहरूको एजेण्डा रहेको धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस, एमाले, माओवादीसहित सबै नेपाली जनता हिँड्ने बाटो बनाउने उनको भनाइ छ।




