काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिएपछि चुनावी माहोल रोचक बनेको छ। गोरखा २ मा जितका लागि निर्णायक मानिएका भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको समर्थन कसलाई हुन्छ भन्ने चर्चा चलेको छ।
भट्टराईले सबैको अभिभावक बन्ने भन्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक रहे पनि अन्य दलले समेत अभिभावक मान्ने उनको दाबी छ। अब भट्टराईको समर्थन अन्य कुन उम्मेदवारलाई हुन्छ भन्ने अन्योलछ। यसअघि नै रास्वपा गोरखाले विज्ञप्ति निकाल्दै आफूहरूको समर्थन हालसम्म कसैलाई नभएको बताएको छ। यही कारण सबै उम्मेदवार भट्टराईको समर्थन लिने दाउमा छन्।
यही अवसरमा गोरखा २ का कांग्रेस उम्मेदवार प्रकाशचन्द दवाडी अहिले भट्टराईको काठमाडौँस्थित अस्थायी निवास टोखा पुगेका छन्। भट्टराई निकट स्रोतका अनुसार अहिले केहीबेर दवाडी त्यहाँ पुगेका छन्। उम्मेदवार समेत रहेका दवाडी त्यहाँ पुग्नुलाई निर्वाचनसँग जोडेर हेरिएको छ। यसअघि नै कांग्रेसले पनि भट्टराई गोरखाको अभिभावक भएको बताउँदै आएको थियो।
यही कारण भट्टराईलाई भेट्न दवाडी उनकै निवास पुगेका हुन्। गोरखामा यसअघि भट्टराईकै समर्थनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठेका थिए। प्रचण्डले सानदार मत ल्याएर जिते।
अहिले प्रचण्ड गोरखाको मैदानमा छैनन् भने माओवादीसहितको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट लेखनाथ न्यौपाने उम्मेदवार छन्। गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कवीन्द्र बुर्लाकोटी र एमालेबाट मिलन गुरुङ (चक्रे) उम्मेदवार छन्। आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।



