काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भएपछि कानुनबमोजिम कारबाही हुने जनाएको हो।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको विषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए।
उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानूनी नमान्ने धारणा राखे। चुनावका नाममा नियतवस आर्थिक दुरुपयोग भएको देखिए कानुनबमोजिम त्यसको पछि समाधान हुने उनले बताए।
प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामाग्रीहरु जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए। उनले फागुन चार गतेदेखि प्रचार प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दबाब भए–नभएको आयोगले हेर्ने बताए। सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए।
उनले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको जानकारी दिए। प्रत्यक्ष तर्फको मतपत्र छपाईको कामले गति लिइरहेको र अहिलेसम्म करिव ८४ लाख ४० हजारभन्दा बढी मतपत्र छपाइ भइसकेको उनले बताए।



