नयाँ दिल्ली- भारतका ओपनर ब्याट्सम्यान अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन्। बिहीबार दिल्लीमा नामिबियाविरुद्ध हुने खेलमा उनको सहभागिता कठिन देखिएको छ।
पीटीआईले बुधबार बिहानको रिपोर्टमा जनाएअनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा उपचाररत छन्। बीसीसीआईलाई उद्घृत गर्दै पीटीआईले शर्मालाई पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना गरिएको हो।
समस्याको वास्तविक कारण पत्ता लगाउन केही परीक्षणहरू भइरहेको छ। आजै उनलाई डिस्चार्ज गरिने हो वा होइन भन्ने विषयमा भने अझै स्पष्ट भइसकेको छैन। हालको अवस्थामा नामिबियाविरुद्धको खेलमा उनी खेल्ने सम्भावना कम देखिएको छ।
अभिषेकलाई पेटसम्बन्धी समस्या पहिलेबाटै थियो। मुम्बईमा अमेरिकाविरुद्धको खेलका क्रममा उनी फिल्डिङ गर्न मैदानमा नउत्रिँदा भारतका सहायक प्रशिक्षक रायन टेन डोशेटले उनको पेटमा समस्या रहेको पुष्टि गरेका थिए। उनले भनेका थिए, ‘उनको पेटमा केही समस्या छ। हामी आशा गर्छौं दुई दिनभित्र अर्को खेलका लागि उपलब्ध हुनेछन्।’
स्यामसन र इशानले ओपनिङ गर्ने सम्भावना
यदि अभिषेक नामिबियाविरुद्धको खेलका लागि फिट नभएमा भारतसँग संजु स्यामसनलाई ओपनिङ गराउने विकल्प छ। हालै न्युजिल्यान्डविरुद्धको खराब प्रदर्शनपछि संजुलाई विकेटकिपर ब्याट्सम्यानको रूपमा इशान किशनले प्रतिस्थापन गरेका थिए।
मंगलबारको पत्रकार सम्मेलनमा टेन डोशेटले भने, ‘हामी अभिषेकको फिटनेसको प्रतीक्षामा छौं। उनको उपलब्धताका आधारमा टोली संयोजनमा केही परिवर्तन हुन सक्छ।’



