काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने दाबी गरेका छन्।
काठमाडौँ ५ मा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेलामा उनले भदौ २३ को जेनजी आन्दोलनले आफूहरूलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रूपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए।
‘हामीले सबैलाई तपाईँले भने जस्तो कांग्रेस बन्यो। तपाईँले खोजेजस्तो कांग्रेसले नै देश रूपान्तरण गर्छ मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने,
‘भदौ २३ ले हामीलाई खबरदारी ग¥यो, हामीले कमजोरी स्वीकार गरेर सच्चियौँ।’
नेतृत्व र विचार परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रूपान्तरित भएर आउ भनेकाले त्यसै अनुसार सच्चिएको बताए। जन्मको आधारमा पुरानो भए पनि विचारले कांग्रेस नयाँ जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जबरजस्त राजनीति नगरेको बताए।
समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उनले बताए। ‘कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका हौँ,’ महामन्त्री पौडेलले भने, ‘यो निर्णय व्यक्तिको होइन, पार्टीको हो।’
आम नागरिकले नेतृत्व परिवर्तन गरेर र नीतिमा प्रष्टता गरेर आउ भनेकाले त्यसैलाई आत्मसात् गरेर भावी कार्यक्रममा प्रष्टसाथ ब्रेन ड्रेनसहितका समस्या सम्बोधन गर्दे देश बदल्ने १० एजेन्डा लिएर आउने उनले बताए।
कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै महामन्त्री पौडेलले दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने बताए। ‘मतदाताले पनि एजेन्डा र दृष्टिकोणका आधारमा छनोट गर्नुपर्छ। हामीले मर्यादित ढंगले मतदातामाझ गएर मत माग्न जरुरी छ,’ उनले भने।



