बंगलादेशमा सन् २०२४ मा भएको आन्दोलन।
बंगलादेशको नयाँ र चर्चित नेसनल सिटिजन पार्टी (एनसीपी) फेब्रुअरी १२ मा सम्पन्न संसदीय निर्वाचनमा ६ सिट मात्र जित्न सफल भयो। यो पार्टी २०२४ को जुलाई क्रान्तिका विद्यार्थी नेताहरूले गठन गरेका थिए। यसकै अगुवाइमा भएको आन्दोलनले सेख हसिनाको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई सत्ताच्युत गराएको थियो। प्रारम्भमा देखिएको जनमत र सामाजिक सञ्जाल अभियानले एनसीपी खेल बदल्ने शक्ति बन्ने अपेक्षा दिएको थियो।
परम्परागत दलहरू बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) र जमात ए इस्लामीको तुलनामा एनसीपी नेतृत्व विवाद, वैचारिक मतभेद र सत्ताप्राप्तिको महत्त्वाकांक्षी दौडका कारण संघर्षरत रह्यो। आफ्नै असुरक्षा र आन्तरिक टकरावले गर्दा पार्टीले पछि जमात इस्लामीसँग हातेमालो गर्नुपर्ने अवस्था आयो। अन्ततः बंगलादेशका मतदाताले बीएनपीका पक्षमा स्पष्ट जनादेश दिए।
यसले पपुलिस्ट राजनीतिबारे एक पुरानो प्रश्न फेरि उठाएको छ- के सडक आन्दोलन वा युवाहरूको विरोध प्रदर्शनलाई निर्वाचनमा सफलतामा रूपान्तरण गर्न सकिन्छ?
भारतमा आम आदमी पार्टी (आप) यसको एउटा उदाहरण हो। भ्रष्टाचारविरुद्ध आन्दोलनबाट जन्मिएको आपले दिल्लीको निर्वाचन जित्दै भारतीय राष्ट्रिय कांग्रेसलाई सत्ताच्यूत गरायो। यहाँ विरोध प्रदर्शनलाई मात्र मतमा रूपान्तरण गर्नु महत्त्वपूर्ण रहेन; पार्टीको संगठन, नेतृत्व क्षमता र रणनीति पनि निर्णायक साबित भयो।
तर २०२२ मा श्रीलंका र २०२४ मा बंगलादेशका आन्दोलनले त्यस्तै सफलता दोहोर्याउन सकेनन्। युवाहरूले परम्परागत नेतृत्व र स्थापित राजनीतिक दलहरूलाई चुनौती दिन कठिन पर्ने उदाहरण ती देशका घटना हुन्। मुख्यतः तर्कसंगत मतदाताका कारण निर्वाचनमा मतदाताले अनुभव, नेतृत्व क्षमता र दीर्घकालीन रणनीति मूल्यांकन गर्छन्; सामाजिक सञ्जालमा ‘फ्लोअर’ वा समर्थनको भर्चुअल चित्र मात्र पर्याप्त हुँदैन।
नेपालमा भएको जेनजी आन्दोलन र फिलिपिन्समा भएको जेनजी आन्दोलनले पनि सामाजिक सञ्जालले भ्रष्टाचार, नातावाद वा कमजोर शासन जस्ता विषयहरूलाई उठाउन प्रभावकारी हुन सक्छ भन्ने देखाएको छ। तर मैदानमा परम्परागत राजनीतिक दलहरूको शक्तिले फरक परिणाम ल्याउन सक्छ।
सत्ता प्राप्तिको आकांक्षा युवा नेताहरूलाई उत्साही बनाउँछ। यसको अर्थ चुनावी सफलता होइन। नेपालमा फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा धेरै युवा नेताहरू नेपाली कांग्रेस, नेकपा एमाले र अन्य परम्परागत दलहरूमा स्थान खोज्न संघर्षरत छन्। युवा केन्द्रित दलहरूले वास्तविक जनसमर्थनको परीक्षण गर्दै छन्।
श्रीलंका र बंगलादेशका उदाहरणले के स्पष्ट देखाउँछ भने नेतृत्वले आवश्यक रूपमा हरेक उमेर समूहको प्रतिनिधित्व गर्न सक्दैन। बंगलादेशमा करिब एक करोड २५ लाख नयाँ मतदातामध्ये १८–३५ वर्षका युवाले ३० प्रतिशत हिस्सा ओगटेका थिए। एनसीपीले तिनलाई आकर्षित गर्न सक्थ्यो, तर पुराना दलहरूको प्रतिस्पर्धा र पार्टीभित्रको नेतृत्व संघर्षले युवा दललाई कमजोर बनायो।
जमातको विद्यार्थी शाखा इस्लामिक छात्र शिविरले ढाका विश्वविद्यालय र जहानगिर नगर विश्वविद्यालयमा प्रभुत्व जमाएको थियो। त्यसैले राष्ट्रिय चुनावमा विजयको अपेक्षा गरिएको थियो, तर वास्तविक परिणाम उल्टो आयो।
सामाजिक सञ्जाल प्रभावकारी माध्यम हो- जनमत एकत्रित गर्न, असन्तुष्टि व्यक्त गर्न र गुनासो उठाउन। तर बंगलादेश र श्रीलंका अनुभवले मे देखाए भने पपुलिस्ट आन्दोलनको लोकप्रियताले चुनावी सफलता सुनिश्चित गर्दैन। चुनावका लागि त संगठन, नेतृत्व संरचना, संस्थागत उपस्थितिको बल र दीर्घकालीन रणनीति निर्णायक हुन्छ।
नेपालको सन्दर्भमा युवा नेताहरूको राजनीति र सक्रियता महत्त्वपूर्ण छ, तर त्यसले मात्रै चुनाव जित्ने ग्यारेन्टी दिँदैन। मतदाताको विवेक, अनुभवमाथि मूल्यांकन र परम्परागत दलहरूको संरचना युवा दलहरूको सफलता वा असफलता तय गर्छ।




