काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रसँगै विद्यालय तहका पाठ्यपुस्तक पनि छपाइ भइसकेको जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएपछि पाठ्यपुस्तक छपाइमा ढिलाइ हुने हो कि भन्ने चासो बढिरहेका बेला केन्द्रले यस्तो जानकारी दिएको हो।
केन्द्रका उपनिर्देशक (उत्पादन तथा वितरण निर्देशनालय) तिलबहादुर अधिकारीले बुधबार हिमालप्रेससँग कुरा गर्दै ९० प्रतिशत पाठ्यपुस्तक छपाइ सकिएको जानकारी दिए। उनले मतपत्र छपाइका कारण पाठ्यपुस्तक छपाइमा कुनै अवरोध नआएको बताए।
‘मंगलबारबाट मतपत्र छपाइ सकियो। पाठ्यपुस्तक र मतपत्र सँगसँगै छापिरहेका थियौं। मतपत्र र पाठ्यपुस्तक छपाइ गर्ने मेसिन छुट्टाछुट्टै हुन्। अब करिब १० प्रतिशत मात्रै पाठ्यपुस्तक छपाइ बाँकी छ। निर्वाचनले गर्दा पाठ्यपुस्तक छपाइमा समस्या आएको छैन। हामीले पहिल्यै योजना बनाएका थियौँ’, उनले भने।
अधिकारीका अनुसार कक्षा २ र ४ का पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने व्यवस्था रहेको छ भने कक्षा ३, ५ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक केन्द्रले नै छाप्दै आएको छ। केन्द्रको सेक्युरिटी प्रेसमा अन्य महत्त्वपूर्ण कामसमेत सँगसँगै भइरहेको छ।
अधिकारीले भने, ‘चिकित्सा शिक्षा आयोगको एमडीको प्रश्नपत्र, शिक्षक सेवा आयोगको प्रश्नपत्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का प्रश्नपत्र पनि यहीँ छपाइ भइरहेका छन्। तीनवटै काम एकसाथ भइरहेको छ।’
गत वर्ष पाठ्यपुस्तक समस्या नदेखिएको र यसपटक पनि त्यस्तो समस्या नहुने उनले बताए। ‘पुस्तक बिक्रीका लागि नवीकरण र सूचीकरणका लागि सूचना आह्वान गरिसकेका छौँ। यहाँ भक्तपुरस्थित मुख्य कार्यालयबाट उत्पादन भएका पाठ्यपुस्तक सातवटा प्रादेशिक कार्यालय र नेपालगन्जसहित आठवटा कार्यालयमा ढुवानी गरिरहेका छौँ,’ उनले भने।
अधिकारीका अनुसार बाँकी १० प्रतिशत पाठ्यपुस्तक पनि फागुन मसान्तसम्म छपाइ गरी ढुवानी सम्पन्न गरिनेछ। ‘देशमा निर्वाचन भइरहन्छ, हामी आफ्नो काम गरिहन्छौँ। पाठ्यपुस्तकका लागि पहिल्यै कागज किनेर राखेका थियौँ। भदौअसोजमै निर्वाचन हुने पक्का भएकाले सोहीअनुसार योजना बनाएका थियौँ,’ अधिकारीले भने।
विद्यालय तहअन्तर्गत कक्षा १ देखि १० सम्मको नयाँ शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ। सरकारले विद्यालय तहको पाठ्यपुस्तक निःशुल्क वितरण गर्दै आएको छ। अधिकारीका अनुसार यस वर्ष एक करोड ५० लाख पाठ्यपुस्तक छापेर वितरण गरिनेछ। अधिकारीले भने, ‘शैक्षिक सत्र सुरु नहुँदै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्छ।’





