पर्साका ६२ मतदानस्थल अति संवेदनशील

हिमाल प्रेस २२ माघ २०८२ १५:०२ | Thursday, February 5, 2026
14
SHARES
पर्साका ६२ मतदानस्थल अति संवेदनशील

काठमाडौँ– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सामा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयलगायतका टोलीले मतदानस्थल तथा केन्द्रहरुको निरीक्षण र सम्भावित सुरक्षा जोखिमको आवश्यक पूर्व तयारीमा जुटेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले यहाँको १६७ मतदानस्थलमध्ये ६० को निरीक्षण गरिसकेको जनाउँदै सो मतदानस्थलको लागि आवश्यक सुरक्षा रणनीति बनाउने काम भइरहेको जानकारी दिए।

‘‘अहिले दैनिक रुपमा मतदानस्थलको निरीक्षण गरेर त्यहाँ देखिएको सुरक्षा चुनौतीका लागि थप रणनीति बनाउने काम भइरहेको छ,’ उनले भने, ‘‘अहिले दैनिक दिनको १ बजेपछिको समयमा मतदानस्थलको अनुगमन र निरीक्षण गर्ने काम भइरहेको छ। निरीक्षणमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा रणनीति बनाउने काम पनि भइरहेको छ।’

दाहालले जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले अघि बढाउनको लागि आवश्यक समन्वय गरिरहेको बताए।

‘‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नका लागि सबै निकायले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरेर अघि बढ्नका लागि जरुरत रहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उम्मेदवार, आमजनता र सञ्चारकर्मीलगायतले पनि पालना गर्नका लागि अनुरोध गर्दछौँ।’

जिल्लाको एक सय ७ किलोमिटर खुला सीमा नाका भएकाले पनि निर्वाचनको बेला शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने प्रयास गरिरहेको दाहालले बताए। पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिएको बताए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धित प्रचारप्रसारमुलक कार्यक्रम अघि बढाउन लागिएको बताइन्।

‘निर्वाचन आचारसंहिताले निर्वाचनमा उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन। सोतर्फ उम्मेदवारहरुले सचेत हुन जरुरी छ,’ उनले भनिन्।

जिल्लाभरि रहेका १६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ। क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन्। पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ।

जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन्। यहाँ चार निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन्। पर्सा जिल्लामा कूल मतदाता संख्या तीन लाख ७६ हजार ५१३ छन्।
तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता छन्।

प्रकाशित: २२ माघ २०८२ १५:०२ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast