मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने

हिमाल प्रेस ६ फागुन २०८२ १५:१० | Wednesday, February 18, 2026
2
SHARE
मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने

मुस्ताङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त संख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दीपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदानस्थलमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी ७८ जना कर्मचारी खटाइने तयारी भइरहेको छ।

निर्वाचनका लागि एक मतदान स्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिने सहायक निर्वाचन अधिकृत पौडेलले बताए।

घोषित प्रतिनिघिसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा खटाइने कर्मचारी पहिलो प्राथमिकतामा संघीय कार्यालय, दोस्रो प्राथमिकतामा प्रादेशिक कार्यालय र तेस्रो प्राथमिकतामा स्थानीय तहका कर्मचारीलाई समावेश गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कारागार मुस्ताङको अस्थायी मतदानस्थलका लागि पनि थप मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ६ जना कर्मचारी खटाइने बताएको छ।

यसैगरी हिमाली जिल्ला मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलको संख्या आठ वटा र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलको संख्या ३१ वटा रहेको जनाइएको छ। यसका अलवा थप एक अस्थायी मतदान केन्द्र जिल्ला कारागारा शाखामा कायम गरिएको छ।

निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा ८६ स्वयंसेविक परिचालित हुनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा तीन जना स्वयंसेविक र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलमा दुई जना स्वयंसेविक राख्न पाउने व्यवस्था मिलाइएको छ।

निर्वाचनमा खटाइने स्वंयसेवकहरू सम्बन्धित मतदानस्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको सिफारिसमा नियुक्ति गरिने जनाइएको छ।

यसैगरी जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग र खाद्यसंस्थान गरी ९५ प्रतिशत निर्वाचन सामग्री उपलब्ध भइसकेको जनाएको छ।

मतपेटिका बाकस कार्यालयमै रहेको मतपत्र ढुवानी हेलिकप्टर मार्फत उपलब्ध हुने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए।

प्रकाशित: ६ फागुन २०८२ १५:१० | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast