आचारसंहिताविपरीत टाँसिएका २० हजार पम्पलेट र ब्यानर हटाइयो

हिमाल प्रेस ९ फागुन २०८२ ६:४५ | Saturday, February 21, 2026
8
SHARES
आचारसंहिताविपरीत टाँसिएका २० हजार पम्पलेट र ब्यानर हटाइयो

धनुषा- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो।

प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो। निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो।

तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।उनले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाहीस्वरूप हटाइएको र अब फेरि यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने बताए।

यहाँ विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँस्ने गरिएको छ। प्रमुख जिल्ला अधिकारी लुइँटेलले आफ्नो पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न आग्रह गरेका छन्।

‘नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने छ । अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गर्ने अवस्था आउँछ’, उनले भने,’चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्छौं। यसको पालनाका लागि सबैलाई आग्रह छ।’

प्रकाशित: ९ फागुन २०८२ ६:४५ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast