फाइल तस्बिर।
नारायणगढ (चितवन)- चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मंगलबार २० वटा घडियाल नदीमा छाडिएको हो, जसमा तीन भाले र बाँकी पोथी रहेका छन्। छाडिएका २० गोहीसँगै यस वर्ष प्रजनन केन्द्रमा हुर्काइएका कुल १६५ घडियाल राप्ती नदी प्रणालीमा छाडिएको छ। उनका अनुसार केन्द्रमा हुर्काएर हालसम्म दुई हजार २४० घडियाल विभिन्न नदीमा छाडिएकामा राप्ती नदीमा मात्रै एक हजार ४८५ घडियाल छाडिएको छ।
निकुञ्ज भएर बग्ने राप्ती नदी घडियालको प्राकृतिक बासस्थानका लागि उपयुक्त मानिन्छ। नारायणी तथा राप्ती नदी किनारबाट संकलन गरिएका गोहीका अण्डा र केन्द्रमै रहेका गोहीबाट जन्मिएका बच्चालाई केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ। हाल केन्द्रमा करिब ६०० को हाराहारीमा घडियाल रहेका छन्।
नदी किनारबाट संकलन गरिएका अण्डालाई केन्द्रको कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ। प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राखिन्छ। प्राकृतिक वातावरण अनुकूल भएकाले राप्तीमा बढी घडियाल छाडिँदै आएको छ।
अवलोकनका क्रममा विशेष गरी राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन्। गत मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ घडियाल भेटिएका छन्। तीमध्ये नौवटा भाले रहेका छन्।
घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुन्छ र नदी तथा किनार छाडेर धेरै टाढा जाँदैन। घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ।
केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ। पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि नदीमा छाड्ने गरिन्छ।
प्राकृतिक बासस्थानबाट अण्डा संकलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब एक दशमलव पाँच मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छाड्न योग्य हुने सूचना अधिकारी थापाले बताए।
प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरै मात्र जीवित रहने गरेको पाइएको छ। कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन्। नदीमा माछा मार्न प्रयोग हुने जालमा अल्झिएर घडियाल मर्ने समस्या बढ्दै गएको छ। निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको थापाले बताए। रासस



