पोखरा म्याराथनमा १० हजार धावक दौडिने

हिमाल प्रेस २६ माघ २०८२ १९:०२ | Monday, February 9, 2026
12
SHARES
पोखरा म्याराथनमा १० हजार धावक दौडिने

पोखरा- ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी साता २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ। विभिन्न विधामा उक्त प्रतियोगितामा १० हजार धावक दौडिने आयोजकले जनाएको छ।

सोमबार पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष दिलबहादुर गुरुङले २ फागुनमा हुने म्याराथनमा १० हजार २०६ जना धावक दौडिने जानकारी दिए। तीमध्ये प्रतिस्पर्धात्मकरुपमा ३ हजार ५०६ जना र रन फर फनमा ६ हजार ७ सय जना दौडिनेछन्।

उनका अनुसार खुला म्याराथन (४२.१९५ किमी) मा २१ देशका ६० भन्दा बढी विदेश धावकसहित १५१ जनाले भाग लिँदैछन्। हाफ म्याराथनतर्फ ८ विदेशीसहित १८८ जना छन्। प्रतियोगितामा महिलातर्फ ८ विदेशीसहित १९० जना, ४५ वर्षमाथि उमेर समूहमा १ विदेशीसहित २५ जना दौडिनका लागि नाम दर्ता गराएका अध्यक्ष गुरुङले बताए।

यसै गरी १० किमी पुरुषतर्फ ७ विदेशीसहित २०७ जना, महिलातर्फ ६ विदेशीसहित ८६ जनाले भाग लिएका छन्। ५ किमी भेट्रान्स पुरुषतर्फ ७५ जना, महिलातर्फ ३० जनाले भाग लिएका छन्।

त्यस्तै, ५ किमी छात्रमा १ हजार ६५०, छात्रातर्फ ४७५, ५ किमी कर्पोरेट महिला दौडतर्फ १६० जना र पुरुषतर्फ ७० जना दौडिदैछन्। रन फर फन (प्रतिस्पर्धात्मकबाहेक) तर्फ सबै जना दौडिन सक्ने आयोजकले जनाएको छ।

दौड पोखरा रंगशालाबाट बिहान ७ बजे सुरु हुनेछ। दौडमा चिप्स प्रयोग गरिएको छ।

मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले सिटी म्याराथनको अवधारणाअनुरुप पोखरामा दुई दशकदेखि म्याराथन हुँदै आएको प्रस्ट पारे। उनले पर्यटकीय राजधानी पोखरालाई विश्व मानचित्रमा खेलकुदको सहरको रुपमा चिनाउने र खेलबाटै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए। प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो।

खुला म्याराथनमा प्रथमलाई ४ लाख, दोस्रोलाई २ लाख र तेस्रोलाई १ लाख प्रदान गरिनेछ। चौथोदेखि आठौंसम्मलाई पनि नगद पुरस्कार व्यवस्था छ। अन्य विधामा पनि नगद पुरस्कार राखिएको छ। आयोजकले यसअघि ह्विलचेयर दौड गरिसकेको छ।

प्रकाशित: २६ माघ २०८२ १९:०२ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast