कोशी : वीरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालनका लागि सम्झौता

हिमाल प्रेस १८ माघ २०८२ १७:३४
26
SHARES
कोशी : वीरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालनका लागि सम्झौता

इटहरी- कोशी प्रदेशसभाको सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ। विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आइतबार महानगरपालिकामा आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन्। महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे सम्झौताको साक्षीका रूपमा रहेका छन्।

सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ। सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ।

भाडा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र महानगरलाई भुक्तानी गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ। साथै प्रचलित कानुनअनुसार लाग्ने अन्य कर प्रदेशसभा सचिवालयले नै व्यहोर्नेछ।

सम्झौताको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ। प्रदेशसभा सचिवालयले सम्झौता अवधि सकिनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ।

त्यस्तै, महानगरपालिकाले सम्झौता अगावै अन्त्य गर्नुपर्ने अवस्था आएमा दुई महिना अगावै सूचना दिनुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए।

प्रदेशसभा सञ्चालनका लागि महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह उपलब्ध गराइएकोमा प्रदेशसभा सचिव खड्काले महानगरपालिकालाई धन्यवाद व्यक्त गरे। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा ध्वस्त भएको थियो।

त्यसपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो। वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनमा प्रदेशसभा सञ्चालनको तयारी गरिए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण असहज भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: १८ माघ २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast