जबरजस्ती हटाइन्छन् देउवा?

हिमाल प्रेस २७ पुष २०८२ १२:०३
24
SHARES
जबरजस्ती हटाइन्छन् देउवा?

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार काठमाडौँमा सुरु भएको छ। विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बोलाएका हुन्। पार्टी विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्तक्षार गरेर विशेष महाधिवेशन माग गरेका थिए।

पार्टीले भने १५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको छ।

विशेष महाधिवेशन पक्षधरले भने पार्टी संस्थापनले विशेष महाधिवेशन कुनै छलफल नगरी १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको आरोप लगाउँदै आएको छ।

विशेष महाधिवेशनमा कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ या हुँदैन भन्ने विषयमा चासो छ।

लामो इतिहास रहेको नेपाली कांग्रेसमा पटकपटक निर्वाचित सभापतिले पद छाड्नुपरेको अवस्था छ। यस्तो अवस्थामा अधिवेशन गरेरै सभापति पद हस्तान्तरण गरिएको पाइन्छ। सभापतिलाई जबरजस्ती छुटाउने काम यसअघि कहिल्यै भएको छैन।

डिल्लीरमण रेग्मीसँग छुट्टिइसकेपछि २०१२ साल माघमा वीरगन्जमा भएको छैटौँ महाधिवेशनमा गणेशमान सिंह र सुवर्णशमशेरबीच प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा सुवर्णशमशेर निर्वाचित भएका थिए।

त्यही महाधिवेशनबाट कांग्रेसले आफ्नो नीतिमा समाजवाद समावेश गरेको हो। तत्कालीन राजा महेन्द्रले आमनिर्वाचन गर्ने सुरसार नगरेपछि कांग्रेसले भद्र अवज्ञा आन्दोलनको तयारी थालेको थियो। आन्दोलनको नेतृत्व गर्न सुवर्णशमशेर पछि हटेका थिए। उनले ‘म आन्दोलन हाँक्न त्यति समर्थ हुन्न, सभापति छोड्छु’ भनेपछि २०१४ जेठमा विराटनगरमा भएको विशेष महाधिवेशनमा बीपी कोइराला सभापति भएका थिए।

कांग्रेसको नेतृत्वमा २०१४ सालमा अवज्ञा आन्दोलन भएको थियो। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई कु गरे। बीपी जेल गएपछि सुवर्णले कार्यवाहक सभापति भएर काम गरेका थिए। २०३३ सालमा बीपी नेपाल फर्किएपछि कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाइएको थियो। २०३४ सालदेखि २०४८ सालसम्म भट्टराई कार्यवाहक सभापति थिए। त्यसयता कांग्रेसमा नियमित महाधिवेशनमार्फत सभापति निर्वाचित हुँदै आएका छन्।

कांग्रेस विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशत अर्थात् २,४८८ प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका हुन्। अहिलेसम्म यसमा दुई सयदेखि तीन सय प्रतिनिधिहरू थपिएको नेताहरूले बताएका छन्।

विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र हुनेछ। विशेष महाधिवेशन आयोजक पक्षले ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित हुने दाबी गरेको छ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विशेष महाधिवेशन माग गर्दै गत असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तनको माग गरेका छन्। उनीहरूले नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गर्नुपर्ने एजेन्डा अघि सारेका छन्।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य प्रतिमा गौतमले नेतृत्व परिवर्तनका विषयमा अहिले केही भन्न नसकिने बताइन्। उनले हिमालप्रेससँग भनिन्, ‘बन्दसत्रमा प्रतिनिधिहरूले जे निर्णय गर्छन् त्यही हुन्छ। हलले चाहेमा नेतृत्व परिवर्तन हुन पनि सक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast