फाइल तस्बिर।
धरान (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज (शुक्रबार) दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जंगलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्।
त्यस्तै, आजै दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जंगलबाट घाँस काटेर फर्किने क्रममा हात्तीको आक्रमणमा परी गम्भीर घाइने भएको थेबेले जानकारी दिए। पूजनलाई नडाहा–धरान रोडमा हात्तीले आक्रमण गरेको बताउँदै उनको निधार, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको उनले बताए।
उनका अनुसार घाइते दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएसँगै उपचार भइरहेको छ।
प्रहरीका अनुसार हात्ती अझै बराहक्षेत्र-३, कालिन्द्र सामुदायिक वन क्षेत्रमा रहेका छन्। यसैबीच, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले स्थानीयलाई हात्तीबाट सुरक्षा अपनाउन सचेत गराउने तथा घटनास्थलमा सतर्कता कायम गर्न आग्रह गरेको छ। बिहीबार राति करिब ११ः४५ बजे धरान-१९ स्थित हरियाली सामुदायिक वनमा जंगली हात्ती देखापरेको थियो। रासस



