भेनेजुएलाका राष्ट्रपति मादुरोलाई किन धम्की दिइरहेका थिए ट्रम्पले?

हिमाल प्रेस १९ पुष २०८२ २१:०६ | Saturday, January 3, 2026
72
SHARES
भेनेजुएलाका राष्ट्रपति मादुरोलाई किन धम्की दिइरहेका थिए ट्रम्पले?

काठमाडौँ- अमेरिकाले भेनेजुएलाको राजधानी काराकसमा सैन्य आक्रमण गरेको छ। यो आक्रमणलगत्तै भेनेजुएला सरकारले देशभर संकटकाल घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र त्यहाँका नेता निकोलस मादुरोविरूद्ध ठूलो स्तरको आक्रमण गरेको छ। मादुरोलाई उनकी पत्नीसँगै पक्राउ गरिएको छ र उनीहरूलाई देशबाट बाहिर लगिएको छ।’

यद्यपि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले सरकारसँग राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे कुनै जानकारी नभएको बताएकी छन्। उनले दुवै जना जीवित रहेको ‘तुरुन्त प्रमाण’ दिन अमेरिकासँग माग गरेकी छन्।

भेनेजुएलाका रक्षामन्त्री व्लादिमिर प्याड्रिनोका अनुसार सरकार हाल मृतक र घाइतेहरूको तथ्यांक संकलन गरिरहेको छ। उनले अमेरिकाले सर्वसाधारण बस्ने आवासीय क्षेत्रमा आक्रमण गरेको आरोपसमेत लगाएका छन्।

अमेरिकी सिनेटर माइक लीले विदेशमन्त्री मार्को रुबियोसँग भएको कुराकानीलाई उद्धृत गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरोको गिरफ्तारीको पुष्टि गरेका छन्।

मादुरोविरूद्ध अमेरिकामा आपराधिक आरोपमा मुद्दा चल्ने उनले बताएका छन्। लीले भने,‘उहाँ (रुबियो) लाई अब भेनेजुएलामा कुनै कारबाहीको आशंका छैन, किनभने मादुरो अमेरिकी हिरासतमा छन्।’

तनावको पृष्ठभूमि र तेल ट्यांकर विवाद

अमेरिकाले विगत केही सातादेखि मादुरो सरकारमाथि दबाब बढाउँदै लगेको थियो। डिसेम्बर १० मा अमेरिकाले भेनेजुएलाको तटनजिकै एउटा तेल ट्यांकर जफत गरेको थियो। ट्यांकरले प्रतिबन्धित तेल ओसारपसार गरिरहेको अमेरिकाले दाबी गरेको थियो।

भेनेजुएलाको तटीय क्षेत्रमा अमेरिकाले तैथान गरेको युद्धपोतहरूबाट ८० भन्दा बढी मानिसको मृत्यु भएको थियो। अमेरिकाले ती मानिसहरू लागुऔषध तस्करीमा संलग्न रहेको दाबी गरेको थियो। ट्रम्प प्रशासनले मादुरोको गिरफ्तारीमा सहयोग गर्नेलाई दिइने पुरस्कार राशिलाई दोब्बर बनाएको थियो।

को हुन् मादुरो?

मादुरो वामपन्थी नेता ह्युगो चावेज र उनको ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला’ बाट उदाएका हुन्। पहिले बस चालक र युनियन नेता रहेका मादुरोले सन् २०१३ देखि भेनेजुएलाको सत्ता सम्हालिरहेका छन्। चावेज र मादुरोको पार्टीले पछिल्लो २६ वर्षदेखि भेनेजुएलामा शासन गरिरहेको छ।

सन् २०२४ को चुनावमा मादुरोलाई विजेता घोषित गरिए पनि विपक्षीहरूले एडमुन्डा गोन्जालेजले भारी बहुमत ल्याएको दाबी गरेका थिए। मुख्य विपक्षी नेता मारिया कोरिन मचाडोलाई चुनाव लड्न रोक लगाइएको थियो। मचाडोलाई हालै अक्टोबरमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।

ट्रम्पको भेनेजुएला नीति र आरोपहरू

ट्रम्पका अनुसार भेनेजुएलाबाट लाखौँ मानिस अवैध रूपमा अमेरिका प्रवेश गरिरहेका छन् र यसको मुख्य जिम्मेवार मदुरो हुन्। सन् २०१३ यता करिब ८० लाख मानिसले आर्थिक संकट र दमनका कारण भेनेजुएला छोडेका छन्। भेनेजुएला छोडेकामध्ये लाखौँ मानिस अवैध रूपमा अमेरिका प्रवेश गरेको ट्रम्पको आरोप छ।

ट्रम्पले मादुरोमाथि आफ्ना जेल र पागलखान खाली गरेर कैदीहरूलाई जबरजस्ती अमेरिका पठाएको आरोप लगाएका छन्। साथै अमेरिकामा ‘फेन्टानाइल’ र कोकिनजस्ता लागुऔषधको आपूर्ति बढाएको भन्दै उनले भेनेजुएलाका दुईवटा समूह ‘ट्रेन दे अरागुवा’ र ‘कार्टेल दे लोस सोलेस’ लाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेका छन्।

मादुरोले भने यी आरोपहरूको कडा निन्दा गर्दै अमेरिकाले ‘लागुऔषविरूद्धको युद्ध’ को बहाना बनाएर भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्न खोजेको दाबी गर्दै आएको छ।

भेनेजुएलाको तेल र अर्थतन्त्र

तेल भेनेजुएलाको मुख्य आयस्रोत हो र सरकारी बजेटको आधाभन्दा बढी हिस्सा यसैबाट आउँछ। भेनेजुएला संसारकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेलको भण्डार भए पनि प्राविधिक र आर्थिक समस्याका कारण सन् २०२३ मा विश्वको कुल उत्पादानको मात्र ०.८ प्रतिशत उत्पादन गरेको थियो।

चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। ट्यांकर जफत गरेपछि ट्रम्पले भनेका थिए,‘मलाई लाग्छ, हामी यो तेल राख्नेछौँ।’

यसले गर्दा अमेरिकाको मुख्य उद्देश्य तेल कब्जा गर्नु नै रहेको भेनेजुएलाको आरोपलाई थप बल पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast