नेपाली कांग्रेसको वर्तमान संकट गहन गरी हेर्दा यसलाई एउटा राजनीतिक दलको आन्तरिक द्वन्द्व मात्र नभएर विचारधारा र सिद्धान्तको क्रमिक क्षयको परिणाम हो भन्ने स्पष्ट हुन्छ। जसले पार्टीको मूल आत्मालाई खोक्रो बनाइरहेको छ। यहाँ कांग्रेसका संस्थापक बीपी कोइरालाको भनाइ सान्दर्भिक हुन्छ- जब पार्टीले विचारलाई त्याग्छ वा विचारलाई आभूषणमात्र ठान्छ, तब व्यक्तिको प्रधानता सर्वोच्च बन्छ र पार्टी विघटनयोग्य हुन्छ।
उनको यो भनाइ आज नेपाली कांग्रेसको वास्तविकतासँग ठ्याक्कै मेल खान्छ। महाधिवेशन मिति तोक्ने विषयलाई निहुँ बनाएर झन्डै दुई महिनासम्म कांग्रेसमा ठूलो टसल चल्यो। फागुन २१ को चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा विवाद लम्बिँदै गएपछि मुलुककै सबैभन्दा पुरानो दल फुट्न सक्ने अनुमान धेरैले लगाइसकेका थिए। नेताहरूले भने यसअघिजस्तै यो विवादलाई पनि सहज रूपमा लिए। पार्टी विभाजन नहुने दाबी गरिरहे।
लामो रस्साकस्सी र विवादपछि अन्ततः ३० पुस २०८२ मा कांग्रेस औपचारिकरूपमा विभाजित भएको छ। विशेष महाधिवेशन पक्षले गगन थापालाई नयाँ सभापतिमा निर्वाचित गर्दै देउवा नेतृत्वको कार्यसमितिलाई भंग गरेको घोषणा गरेको छ। उता संस्थापन पक्षले थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्दै अद्यावधिकका लागि निर्वाचन आयोगमा आफ्नो निर्णय बुझाएको छ।
यो घटनाक्रमले पार्टीको एकताको अन्त्यमात्र गरेको छैन, यसले नेपालको लोकतान्त्रिक इतिहासमा एउटा दुःखद् अध्याय पनि थपेको छ, जसको जड वैचारिक शून्यता र व्यक्तिगत महत्त्वाकांक्षाको दलदलमा गाडिएको छ। यो विभाजनको प्रक्रिया लामो समयदेखि चलिरहेको थियो। पुस २७ गते भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनले यसलाई निर्णायक मोड दियो।
बहुमत महाधिवेशन प्रतिनिधिहरूको समर्थनमा आयोजित महाधिवेशनले देउवाको नेतृत्वलाई चुनौती दिँदै नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढायो। यतिबेला विशेष महाधिवेशनले भंग गरेको कार्यसमिति र चयन गरेको कार्यसमिति छ, कांग्रेसमा। यसमा गगन पक्षधरले हामी सही भन्लान् र देउवा पक्षधर वा पाका नेताहरूले हामी सही भन्लान्। बाहिरबाट हेर्दा एकातिर तीन महिना पनि कुर्न नसक्ने देखिन्छ भने अर्कोतिर यस्तो हुँदा पनि नचेतेर राजनीतिलाई पेसा नै बनाउने त भन्ने देखिन्छ।
विशेष महाधिवेशन पक्षधरले संस्थापनमाथि लगाएका आरोप हेर्दा भृकुटीमण्डमा सिद्धान्त, विचार, नीति, आगामी कार्यदिशालगायतका विषयमा गहनताका साथ छलफल हुनुपर्ने थियो। त्यहाँ कुनै गहन वैचारिक बहस देखिएन, गम्भीर विमर्श थिएन, थियो त केवल पार्टी सत्ता ‘कब्जा’ गर्ने खेल। विशेष महाधिवेशनमा पनि वैकल्पिक नीतिहरू वा राजनीतिक रोडम्यापको प्रस्ताव नदेखिनुले यसले नेतृत्व परिवर्तनको सतही उद्देश्य बोकेको पुष्टि हुन्छ। जुन त्यही कार्यसमितिमा रहनेले केही महिनामा थाहा पाउनेछन्।
यतिबेला सबैको ध्यान निर्वाचन आयोगतर्फ छ। हिजोसम्म आयोगले निर्वाचन कार्यक्रम कसरी अघि बढाउला भन्नेमा ध्यान थियो, आजबाट अब कुन कांग्रेसलाई वैधानिकता दिन्छ भन्नेमा गएको छ। कानुनी जटिलता सहज भने छैन। यता पनि विधि पुर्याएकैझैँ देखिन्छ उता पनि विधिमा टसमस छैनन्। अब को आधिकारिक भन्ने विषय निर्वाचन आयोग हुँदै अदालत पुग्ने प्राय: निश्चित छ। यस्तो अवस्थामा दुवै पक्षले आन्तरिक र बाह्य शक्तिको उपयोग गर्न पक्कै खोज्ने छन्, जुन खरतनाक सावित हुने देखिन्छ।
देउवा पक्षले भृकुटीमण्डपका निर्णयहरूलाई अवैधानिक ठहर गर्यो। नियमित महाधिवेशन (वैशाखमा) को पक्ष लिए। आफू निर्वाचन नै लडे पनि अब सक्रिय रहन्नँ भन्दै विशेष किन आवश्यक रह्यो भन्ने देउवाको तर्क थियो। अनि भृकुटीमण्डपमा विशेष अधिवेशन लम्बाउँदै गरेको वार्ताले उनीहरू पनि स्वतः पावर आफूमा आउँछ र आफ्नालाई टिकट बाँड्न पाइन्छ भन्ने लोभमा परे। जसले यी दुवै पक्षलाई अलमल्याउँदै यहाँसम्म ल्यायो अब त्यसलाई कसरी ल्याण्ड गराउने कांग्रेसीहरूलाई थाहा छैन।
पटकपटक भएका वार्ता असफल भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कास गर्ने निर्णय गर्यो, जसले पार्टी एकतामा अपुरणीय क्षति पुर्यायो, जुन क्षति नजिकिँदै गरेकाे निर्वाचनमा देखिने प्रस्ट छ। विशेष अधिवेशन गर्नेले पनि केही समयअघि आँट गर्नुपर्ने थियो भने कारबाही गर्नुपर्ने तहमा पुग्ने भन्ने जानकारी भएका संस्थापनले पनि केही समयअघिनै अनुशासनको कारबाही गर्नुपर्ने थियो। यो नहुँदा निर्वाचनको मुखमा मुलुककाे ठूलो दलको समस्या निर्वाचन आयोगमा पुग्नु दुःखद् हो।
देशको सबैभन्दा पुरानो राजनीतिक दल विभाजन हुनु दु:खद् घटना मात्र होइन, असामान्य घटनासमेत हो। यसमा को कति जिम्मेवार भन्ने आआफ्ना बुझाइ र हिसाबकिताब रहन सक्छन्। सबैको बुझाइ फरक पनि हुन सक्छ। यसलाई केही गैरकांग्रेसीजनले राजनीतिक लाभहानिका रूपमा हेरे पनि लोकतान्त्रिक पद्धति, बृहत्तर राजनीतिक पुनःसंरचना, नेपाल र नेपालको समग्र राजनीतिलाई पक्कै पनि प्रभावित पार्नेछ। जब कांग्रेस कम्युनिष्टसँग मिलेर सरकार बनाउने र विदेश नीतिमा उनीहरूको पछुवा हुने गर्दा पनि यो अवस्था निम्तिएको भन्नेहरू पनि छन्।
राजनीतिक वृत्तमा चर्चा भइरहेझैँ यो प्रक्रियाको ‘स्क्रिप्ट’ कतै तयार भएको हो भने झनै डरलाग्दो अवस्था नेपालीले भोग्नु पर्नेछ। कैयौँ मुलुक ख्यालख्यालमै द्वन्द्वमा फसेका छन्। ती मुलुकमा नेपालबाट शान्तिसेना पनि गइरहेको छ। यसरी जानेमध्ये एक विज्ञले केही समय अघि सुनाएका थिए- यसरी नै नचाहिँदा काम र निर्णय लिँदै अघि बढ्ने, भेनेजुयलामा केही हुँदा काठमाडौँमा भुइँचालो गएझैँ गर्ने अनि युक्रेनमा हुँदा शान्त तलाउझैँ बस्दै जाने हो भने हामीले झनै दयनीय अवस्था भोग्नु पर्ने हुन सक्छ। अहिले त्यो सत्य हो कि झैँ लाग्न थालेको छ।
कांग्रेसभित्रको हतार र तिक्तताले प्रश्न उठाउँछ- के यो स्वाभाविक राजनीतिक प्रक्रिया हो? वा बाह्य शक्तिबाट निर्देशित ‘स्क्रिप्ट’? राजनीति संयोगले होइन, लामो अभ्यास र आधारले चल्छ। यो विभाजनमा व्यक्तिगत स्वार्थ जोडिएको स्पष्ट छ- चाहे त्यो पदको लोभ होस् वा आगामी फागुन २१ को निर्वाचनमा टिकट बाँड्ने भूत। आफ्नो प्रभाव घटेपछि दलको नेतृत्वबाट कार्यकर्तामा प्रभाव राख्ने नयाँको प्रयास हुन सक्छ भने पुरानोले आफ्नो प्रभाव कायमै रहेको भाव राख्दा पनि यो अवस्था आएको हो।
युवा हुनु आफैँमा योग्यता होइन, उमेर कम हुँदैमा विचार प्रगतिशील वा दृष्टिकोण क्रान्तिकारी भन्ने हुँदैन। अनुशासन, गहन अध्ययन र धैर्यबिनाको युवा राजनीति परिवर्तनको माध्यम होइन, अराजकताको अर्को संस्करणमात्र बन्न पुग्छ।
कांग्रेसको यो संकटको मूल कारण वैचारिक अभाव हो, जसले पार्टीभित्रको संवादलाई पद र गुटको खेलमा सीमित गरेको छ। आज कांग्रेसमा लोकतन्त्रको समकालीन व्याख्या, सामाजिक न्यायको स्पष्ट दिशा वा राज्य सञ्चालनको ठोस खाका जस्ता विषयमा खासै छलफल हुँदैन। यसको साटो, को सभापति बन्ने, कसले टिकट पाउने वा को गुटबाट बाहिरिने भन्नेमा मात्र केन्द्रित छ। पहिला देउवा गुट वा त्योभित्र अनेक गुट भएझैँ भृकुटीमण्डपको भेलालाई निर्वाचन आयोग वा अदालतले मान्यता दियो भने गगन गुट र उनका वरिपरि बसेर अहिले सबै क्षेत्रमा हुकम चलाइरहेकाहरू थप हाबी हुने प्रस्ट छ। ती बाहेक अन्य कांग्रेस नै होइन भन्ने सोच गगनको वरपर पनि उत्तिकै बलियो छ। त्यो उनले चिर्न सक्दैनन् वा चाहँदैनन्।
इतिहास हेर्दा कांग्रेस यसअघि २०५९ जेठमा विभाजन हुनुको कारण थियो- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच संकटकाल लम्ब्याउने र नलम्ब्याउने खेल। अझ मिहीन ढंगले हेर्ने हो भने त्यो विवाद राजतन्त्र र लोकतन्त्रको द्वन्द्व वा सिद्धान्त र सत्ताको संघर्षमा आधारित थिए। त्यसअघि मातृकाप्रसाद कोइरालाको पालामा भएको विषय पनि दरबारसँगै जोडिएको थियो। मातृका र बीपीको कुरा नमिल्दा मातृका कोइरालाको सभापतित्वमा राष्ट्रिय प्रजा पार्टी खुलेकाे थियो। त्यसपछि कांग्रेसमै विलिन भयो। तर अहिले त दरबार छैन र पनि शक्ति र सत्ताले यो अवस्था ल्यायो।
आजको फुटमा झन् व्यक्ति र पदबाहेक केही छैन, जसले पार्टीको नैतिक दिवालियापनलाई उजागर गरेको छ। त्यो बेला केही हदसम्म सिद्धान्तको कुरा उठेको भए पनि अहिले त्यो अवस्था छैन। युवाका नाममा केहीले आफूलाई अगाडि बढाएको देखिन्छ। यहाँ केही प्रश्न उठ्छन्- कांग्रेस बलियो बनाउने निहुँमा चलाइएको अभियानका कारण पार्टी फुट्छ भन्ने जानकारी हुँदाहुँदै किन तीन महिना कुर्न सकिएन? के फुटेर गएको कांग्रेसले बहुमत वा ठूलो पार्टी हुन्छ? के गगन-विश्वका कुरा सुनेरनै भोट ओइरिन्छ? त्यसो भए चितवनका गगन भनेर चिनिएका जितनारायण श्रेष्ठले रविको अगाडि किन लज्जाबोध हुने गरी हार बेहोर्नुपर्यो? यी प्रश्नको उत्तर न थापासँग छ न देउवासँग।
अनि अहिलेको विषय भदौ २३ र २४ को जेन-जी आन्दोलनसँग जोडिन्छ। आन्दोलनले पुराना दलमा नीतिगत र नेतृत्वगत परिवर्तन आवश्यक देखिएको भन्दै महामन्त्रीद्वय गगन-विश्वले आवाज बलियो बनाए। सोही क्रममा कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर पनि भयो। २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतको हस्ताक्षर पेस पनि गरे। तर देउवाले कार्यवाहक दिएर नियमित महाधिवेशनको कार्यतालिका ल्याउन भने। तर त्यो कार्यतालिकाअनुसार कांग्रेसको सबैभन्दा बढी समस्या रहने क्रियाशील सदस्यता समाधानमा गगन-विश्वको ध्यान पुगेन।
अहिले कांग्रेस बिग्रिनु र समयकालअनुसार अगाडि बढ्न नसक्नुमा गगन-विश्वहरूले सबै दोष शेरबहादुरमाथि थुपार्न खोजेको देखिन्छ। शेरबहादुरमाथि दोष थुपार्दै गर्दा गगन-विश्वहरूले यो भुल्नु हुँदैन कि उनीहरू त्यही कार्यसमितिका महामन्त्री थिए। कांग्रेस विधानमा सभापतिपछि दोस्रो शक्तिशाली पद महामन्त्रीको हो। त्यसैले कांग्रेस बिग्रिनुपछाडि शेरबहादुरभन्दा कम दोषी गगन-विश्वहरू पनि छैनन्। कांग्रेस बिग्रिएकै हो भने शेरबहादुरजत्तिकै दोषको भारी गगन-विश्वहरूले नबोकेर उम्किन पाउँदैनन्।
पुस्तान्तरण सकारात्मक हो, तर यसका नाममा अनुभवलाई अपमान गर्नु विद्रोह होइन, अधैर्यको प्रदर्शन हो। सच्चा नेतृत्वले संस्थाभित्र संघर्ष गर्छ, संरचना सुधार्छ र विश्वसनीयता आर्जन गरेर अगाडि बढ्छ। भागेर नयाँ संरचना खडा गर्नु साहस होइन, सुरक्षित निकास खोज्ने अभ्यास मात्र हो। कांग्रेसमा आज नेताको कमी छैन, तर नेतृत्वको खडेरी छ। सबैलाई अगुवा बन्न मन छ, जिम्मेवारी बोक्ने र दलको साथै राष्ट्रविकासमा कसैको केही चासो छैन।
विभाजनअघि गगन-विश्वले सधैँ शेरबहादुरलाई गाली गरिरहे। शेरबहादुरलाई गाली गरिरहँदा उनीहरूले चार वर्षे कार्यकालमा आफ्नो जिम्मेवारीमा रहेको क्रियाशील सदस्यतालाई टुंगोमा पुर्याउन सकेनन्। क्रियाशील सदस्यता टुंग्याउन नसक्नुमा गगन-विश्वले जिम्मेवारी लिने कि नलिने? संगठन विस्तारका लागि देशभर उनीहरूले गरेका कामको मूल्यांकन गर्ने कि नगर्ने? अनि अहिले उनीहरू आए राम्रो हुन्छ भनेर पत्याउने कसरी? बोल्ने कला र काम गर्ने कला फरक हो भन्ने बुझ्न जरुरी छ। हो पुरानामा समस्या छ, त्यसो भन्दैमा सबै पुराना काम नलाग्ने, नयाँ सबै अब्बल?
यतिबेला विश्वमा ‘टेक्नो पपुलिजम्’ चलेको छ। त्यही टेक्नोलोजी उपयोग गरेर लगातार सामाजिक सञ्जालमा पोस्ट गरी विश्वभर पपुलर हुने युग हो यो। अहिले यहाँ त्यही भइरहेको छ। अहिले प्रविधिको प्रयोग गर्ने र पपुलर हुनेका लागि सहज भएकाले पनि मुलुकमा ‘टेक्नो पपुलिस्ट’हरूको वर्चस्व रहँदै गएको छ। यस्ताले सुरुमा आस देखाउने र पदमा पुगेपछि निराशा बाँड्ने अनि केही गर्न नसकेपछि अन्यलाई दोष थोपर्दै आफू चोखिन खोज्छन्। अनि सकेसम्म पदमै रहिरहन चाहन्छन्।
यतिबेला सबैको ध्यान निर्वाचन आयोगतर्फ छ। हिजोसम्म आयोगले निर्वाचन कार्यक्रम कसरी अघि बढाउला भन्नेमा ध्यान थियो, आजबाट अब कुन कांग्रेसलाई वैधानिकता दिन्छ भन्नेमा गएको छ। कानुनी जटिलता सहज भने छैन। यता पनि विधि पुर्याएकैझैँ देखिन्छ उता पनि विधिमा टसमस छैनन्। अब को आधिकारिक भन्ने विषय निर्वाचन आयोग हुँदै अदालत पुग्ने प्राय: निश्चित छ। यस्तो अवस्थामा दुवै पक्षले आन्तरिक र बाह्य शक्तिको उपयोग गर्न पक्कै खोज्ने छन्, जुन खरतनाक सावित हुने देखिन्छ।
विभाजनपछि कांग्रेसको रूख चिह्न कसले पाउँछ? वैधानिकता कसलाई मिल्छ? निर्वाचन आयोगले निर्क्योल गर्नुपर्नेछ। यसभन्दा गहन प्रश्न हो- कुन पक्ष बीपी कोइरालाको सच्चा राजनीतिक उत्तराधिकारी? यो जवाफको अभावले कांग्रेसलाई दिशाहीन बनाएको छ र यो वैचारिक शून्यताले पार्टीको आत्मालाई नै खण्डित गर्दैछ।
अहिले कांग्रेस अब युवाको हो भन्ने नारा चर्चामा ल्याइएको छ, तर यो आकर्षक भए पनि गहिराइमा खोक्रो र अधुरो लाग्छ। युवा हुनु आफैँमा योग्यता होइन, उमेर कम हुँदैमा विचार प्रगतिशील वा दृष्टिकोण क्रान्तिकारी भन्ने हुँदैन। अनुशासन, गहन अध्ययन र धैर्यबिनाको युवा राजनीति परिवर्तनको माध्यम होइन, अराजकताको अर्को संस्करणमात्र बन्न पुग्छ।
पुरानो पुस्तालाई गन्हाएको ठान्दै फाल्ने प्रवृत्ति राजनीतिक अपरिपक्वताको संकेत हो, किनभने ती पुस्ताले लोकतन्त्रका लागि जेल, निर्वासन र संविधान निर्माणमा जीवन खर्चेका थिए। नयाँ पुस्ता- जसमा गगन-विश्वजस्ता नेताहरू पर्छन् । उनीहरूले वैकल्पिक वैचारिक नेतृत्व प्रस्तुत गर्न सकेनन्। उनीहरूले मात्र विद्रोहका नाममा पदको दौड देखाएको प्रस्ट हुन्छ। यद्यपि उनीहरू कांग्रेसमा आस गरेका व्यक्ति हुन्।
उनीहरूले तीन महिना अरू कुरेर अघि बढेको भए बिग्रने केही थिएन। धैर्य राख्न नसक्दा, पद पाउन आतुर हुँदा, आफूले मात्रै सारा देश जित्ने दृष्टिभ्रम पाल्दा कांग्रेस खण्डित भएको छ नै, आसन्न निर्वाचनमा पनि ठूलो क्षति बेहोर्नुपर्ने स्थितिमा पुगेको छ। इतिहासले कैयन् यस्ता ‘हिरो’हरूलाई कुपात्र बनाएकाे अवस्था छ, कैयन् कुपात्र ‘हिरो’ भएका पढ्न पाइन्छन्। यसैले मुलुकलाई आत्मसात् गरेर अघि बढ्ने नेताको अभाव सबै दलमा देखिन्छ।
पुस्तान्तरण सकारात्मक हो, तर यसका नाममा अनुभवलाई अपमान गर्नु विद्रोह होइन, अधैर्यको प्रदर्शन हो। सच्चा नेतृत्वले संस्थाभित्र संघर्ष गर्छ, संरचना सुधार्छ र विश्वसनीयता आर्जन गरेर अगाडि बढ्छ। भागेर नयाँ संरचना खडा गर्नु साहस होइन, सुरक्षित निकास खोज्ने अभ्यास मात्र हो। कांग्रेसमा आज नेताको कमी छैन, तर नेतृत्वको खडेरी छ। सबैलाई अगुवा बन्न मन छ, जिम्मेवारी बोक्ने र दलको साथै राष्ट्रविकासमा कसैको केही चासो छैन।
युवाहरूले पार्टी संस्थागत बनाउने, विचार स्पष्ट पार्ने वा अनुशासन बलियो बनाउने ठोस आधार देखाएका छैनन्, जसले यो नारालाई अहंकारपूर्ण र अवास्तविक बनाउँछ। कांग्रेस विभाजनको असर लामो समयसम्म रहनेछ। आगामी निर्वाचनमा कांग्रेसको मत बाँडिने छ, जसले लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन सक्छ। दुवै पक्षले निर्वाचन आयोगमा दाबी गरे पनि यो कानुनी लडाइँले मात्र सतही समाधान दिन्छ।
कांग्रेसले विचार फेरि केन्द्रमा राखेन, अनुशासन शक्ति ठानेन र व्यक्तिवाद पार्टीभन्दा माथि राखिरह्यो भने यो फुटमात्र संगठनात्मक घटनामात्रै रहँदैन, पार्टीको इतिहासमा अन्तिम अध्याय बन्न सक्छ। बीपीको चेतावनी आज पनि जीवन्त छ, विचार बोक्न नसक्ने पार्टी लामो समय टिक्दैन। कांग्रेसले अब पुनर्जन्मको साहस देखाउनुपर्छ, व्यक्तिगत दलदलबाट मुक्त भएर, वैचारिक मेरुदण्डलाई बलियो बनाएर। अन्यथा यो नेपालको लोकतान्त्रिक विरासतको स्मृतिमा मात्र सीमित हुनेछ।
राजनीति र राजनीतिकर्मी ‘असक्षम’ हुँदा न्यायालयले राजनीति गर्ने ‘स्पेस’ पाउँछ। बढी उथलपुथलको अवस्था आएमा सेना सक्रिय नहोला भन्न सकिँदैन, जसले गर्दा पाकिस्तान ‘मोडेल’ मा मुलुक जान सक्छ। अपराधका आरोप लागेकाहरूलाई न्यायालयको फैसला कुर्नुपरेको छैन। सरकारले निर्णय सुनाउँदै उन्मुक्ति दिइरहेको अवस्था छ। अनि दलहरूले जनअपेक्षाअनुरुप काम गर्न नसक्दा जेनजी विद्रोहसँगै प्रतिनिधिसभा फालिएर असजिलो अवस्थामा मुलुक हुँदा मियो मानिएको दल विभाजनको अवस्थामा पुग्छ भने मुलुकले कसरी अगाडि बढ्ने?
अदालतमा सदन पुनःस्थापनाको मुद्दा विचाराधीन छ। अब कांग्रेसको विशेष महाधिवेशन र आधिकारिकताको मुद्दा पनि निर्वाचन आयोग हुँदै अदालतमा पुग्ने छ। अनि अदालतले राजनीति नगरेर भयो? यो अवस्था आउँछ भनेर युवाले चाहिँ सोच्न पर्दैन। आफैँ हुनु मात्र ठूलो हो कि त्याग गर्नु पनि ठूलो हो? यो बुझिनसक्नुको राजनीतिले यतिबेला मुलुकलाई असजिलो पारेको छ।
कांग्रेस आधिकारिताको मुद्दा अदालतले समयमा टुंगोमा पुर्याउला। अदालतको फैसला आए त्यसलाई स्वीकार्न सम्बन्धित दलहरूलाई कर पनि लाग्छ। अनि यस्ता फैसला राजनीतिक रूपमा विवादित बन्छन् नै। यसले निर्वाचनलाई पनि प्रभावित पार्ने निश्चित छ। परिणामस्वरूप संक्रमण लम्बिनेछ। राजनीति थप पेचिलो हुनेछ। अन्त्यमा दुःख पाउने आमनेपाली नागरिकले नै हो। मुलुकले नै हो। यसतर्फ किन कसैको ध्यान नगएको? सेनाले पनि यो गलत भएको छ भनेर सल्लाह कसैलाई किन नदिएको? पछिल्लो राजनीतिक परिदृश्यमा सेना पनि छ। त्यसैले सेनाको प्रसंग पनि आवश्यक परेको हो। सेनाले प्रत्यक्ष राजनीति गर्न हुँदैन तर सुझाउन सक्छ अवस्था यो हुन्छ भनेर।



