चाइना जर्नल

बेइजिङमा पूर्वकुमारीलाई भेट्दा

अजय अलौकिक ३ माघ २०८२ १५:३१
36
SHARES
बेइजिङमा पूर्वकुमारीलाई भेट्दा

गथे याना ध्यागु ग्व, गथे याना त्यगू त्व
मतिनाया स्वरूपे, कुमारी हे व थें च्वं

गायक उजन शाक्यको यो कुमारी शीर्षकको गीत सामाजिक सञ्जालमा निकै चर्चित छ। चर्चित भन्नुभन्दा पनि यो गीत मलाई असाध्यै मनपर्छ भन्नु उपयुक्त होला किनभने कतिपय मिलियन्स भ्युज गएका गीत हामीले नसुनेको पनि हुन सक्छौँ। यो गीत जतिपटक सुने पनि मलाई भने अलौकिक अनुभव हुन्छ। सायद, शब्दको शक्ति हो या सङ्गीतको या त कुमारीको किंवदन्तीसँग जोडिएको गीत भएर हो, मनलाई स्पर्श गर्छ।

काठमाडौँमा नयाँ कुमारीका रूपमा आर्यतारा शाक्य भएपछि यो गीत र गीतांश भाइरल भएको रहेछ। दसैँतिर हुनुपर्छ, म पनि यो गीतमा तरङ्गीत हुनपुगेको थिएँ। तर यो गीत इन्द्रजात्राको अवसरमा नै सार्वजनिक गरिएको रहेछ।

इन्द्रजात्रालाई नेपाल भाषामा येँया पुन्ही भनिन्छ। प्रत्येक वर्षको भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन हनुमानढोका प्रागणमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यँलागा चौथीको दिनसम्म अर्थात् आठ दिनसम्म विभिन्न नाचगान, पुलुकिसी, लाखे नाच, कुमारी रथयात्रा गरी धुमधामसाथ मनाइन्छ।

यसपटक, पुरानो काठमाडौँभित्र इन्द्रजात्रा मनाइरहेको बेला नयाँ काठमाडौँको केन्द्रभागमा भने जेनजी आन्दोलन चर्किरहेको थियो। यसरी टिकटक, रिल्स अनि सर्ट्सलगायतका प्ल्याटफर्ममा गीतांश भाइरल भइरहेकै बेला देशविदेशमा जेनजी आन्दोलनको चर्चा पनि शिखरमा पुगेको थियो।

भदौ २३ र २४ को जेनजी आन्दोलनकै बेला एक पूर्वकुमारी भने चीनमा उच्चशिक्षा अध्ययनका लागि बेइजिङ उत्रेकी थिइन्।

नेपालमा जीवित देवीका रूपमा कुमारीको स्थापना तथा पूजाआजा गर्ने नेपाली हिन्दू र बौद्ध धर्मावलम्बीहरूले मान्दै आएको एउटा परम्परा हो। जहाँ विशेष रूपमा छानिएकी सानी कन्या केटीलाई देवीको जीवित रूप मानेर पूजा गरिन्छ। यो चलन विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदायमा काठमाडौँ, ललितपुर र भक्तपुर जस्ता सहरहरूमा प्रचलित छ। यसबाहेक नुवाकोट, काठमाडौँको टोखामा समेत कुमारी स्थापनाको प्रचलन रहेछ।

काठमाडौँमा वर्षदिनजसो कुमारी घर जानेबाहेक विशेषतः इन्द्रजात्राको समयमा हुने कुमारी रथयात्रा लगायत अरू विभिन्न जात्राहरू र ललितपुरमा पनि कुमारी घरबाहेक भोटेजात्रा अनि मच्छिन्द्रनाथको जात्रा बेला कुमारीको सर्वसाधारण बटुवा सबैले दर्शन गर्न पाउँछन्। विदेशीहरूको हकमा भने कुमारीसँग नजिकबाट फोटो खिच्ने, टीका थाप्नेजस्ता कार्यहरू विशेषतः पाटन यानि कि ललितपुरकी कुमारी देवीसँग सहज र सुलभ रूपमा गर्न सक्छन्।

सायद ललितपुरको यस्तो व्यवस्थाले विश्वको विभिन्न भागसम्म जीवित देवी कुमारीको प्रचार पुगेको हुनुपर्छ। संयोगवश, मास्टर्स तहको अध्ययनका लागि बेइजिङ आएकी पूर्वकुमारी पनि पाटनकै हुन्। उहाँ पाटनकी पूर्व कुमारी समिता बज्राचार्य हुनुहुन्छ। त्यही भएर चिनियाँ सहकर्मी च्याङ मिङ, नेपाली नाम रविले उहासँग फोटो खिचेको सम्झे, जसले उपस्थित सबै सहकर्मीमा उत्सुकता थप बढेको थियो। उनले आफ्नो नेपाल बसाइका क्रममा (२०१२/१३) तिर पाटनको तत्कालिन कुमारी अर्थात् पूर्व कुमारी समिता बज्राचार्यसँग फोटो खिचेका रहेछन्। र, अरू चिनियाँ सहकर्मीलाई सुनाउँदै थिए, काठमाडौँमा तलबाट माथिल्लो तलाको झ्यालमा मात्रै हेर्न पाइन्छ तर पाटनमा टीकासमेत लगाउन सकिन्छ।

 

उहाँ पाटनकी पूर्वकुमारी समिता बज्राचार्य ८ वर्षको उमेरदेखि १२ वर्षसम्म कुमारी भएर बस्नुभएको थियो। वि.सं. २०६७ सालदेखि २०७१ सालसम्म ललितपुरको पाटनमा जीवित देवी कुमारीको रुपमा पुजियएको थियो। पूर्वकुमारी समिता बज्राचार्यले बेइजिङमा अध्ययन थाल्नुभएपछि यो पङ्क्तिकार कार्यरत चाइना मिडिया ग्रुपमातहतको सीजीटीएन नेपाली सेवाका प्रमुख लीऊ वन (सुमेघा) ले कार्यालयमा भेटघाटको चाँजो मिलाउन भनेपछि यो जमघट भएको थियो।

नेपाल चिनेका अधिकांश चिनियाँहरूलाई नेपालको कुमारी चलनबारे थाहा पनि छ। यसैगरी चिनियाँ विकिपेडिया मानिने पाइखमा पनि नेपालको जीवित देवीबारे पढ्न पाइन्छ। कुमारीको छनौट प्रक्रियादेखि कुमारीको दैनिकी र भूमिका सबै कुरा उल्लेख छ।

यस्तै एउटा चिनियाँ वेब पोस्टमा कुमारी परम्पराको प्रशंसा गर्दै यस्तो लेखिएको छ। ‘ऐतिहासिक कारणले, संसारको अधिकांश सभ्यतामा, तिनका धर्ममा मुख्य देवता पुरुष नै हुन्छन्। रोचक कुरा के छ भने यी विभिन्न छाला र जातको पुरुष देवताहरूको बीचमा केही ‘महिला देवता’ हरूको उपस्थिति हुन्छ, जसलाई कहिलेकाहीँ जनताले निकै पूजा गर्छन्। तर उनीहरूको पहिचान प्रायः एकदम सीमित हुन्छ। छिमेकी देश नेपालमा एउटा परम्परा छ, जुन परम्परागत संस्कृतिको भागका रूपमा आजसम्म कायम छ, त्यो हो ‘जीवित देवी’।

यद्यपि कुमारीको पद किशोरवस्था सुरु भएसँगै अर्थात् पहिलोपटक रजस्वला भएमा वा चोटपटक लागेर शरीरबाट रगत बगेमा पनि देवीत्व समाप्त हुने मान्यता छ। आज, हाम्रो साथ पूर्वकुमारी हुनुभएकोले नै होला साथीहरूमा पनि कुमारी बेलाको अनुभव र पछि सामान्य जीवनमा फर्केपछिको भोगाइ र चुनौतीको सामना सम्बन्धमा सुन्न आतुर थिए।

त्यसमाथि, उहाँ, समिता बज्राचार्यले कुमारीबाट पूर्व कुमारी भएपछि गर्नुभएको काम र हाल अध्ययनको कुराले पनि चिनियाँ साथीहरू अचम्भित् थिए। त्यही भएर, सहकर्मी कु छनसी (राधिका) ले भनिन्, यति सानो उमेरमा धेरै गर्नुभएको छ, सुन्दरीको ताज जित्नुभएको छ, साथै विमान परिचारिकाको परिचयसमेत बनाउनुभएको छ।

पूर्वकुमारी समिता बज्राचार्यले कुमारी भएको अवस्थामा निरन्तर शिक्षादीक्षा प्राप्त गर्नुभएको थियो। कुमारीहरूलाई घरमै आएर पढाउने गरिन्छ। कुमारीबाट पूर्वकुमारी भएपछि अरू बालबालिकाजस्तै स्कुल गएर पढ्नुभएको थियो। कक्षा आठमा पहिलोपटक विद्यालय जानुभएको थियो। कलेजपछि मिस मङ्गोललगायतका सुन्दरी प्रतियोगतामा भाग लिनुभएको थियो। सम्भवतः सौन्दर्य प्रतियोगितामा भाग लिने पहिलो कुमारी पनि हुनुहुन्छ।

मिस मङ्गोल ब्युटी प्याजेन्टमा ‘सांस्कृतिक दूत’ को उपाधि जित्नुभएको थियो। त्यसपछि अर्को प्रतियोगिता मिस नेसनल २०२२ मा प्रथम हुँदै ताज पहिरिनुभएको थियो। पछि उहाँले र्याम्प वाकसमेत पनि सिकाउनुभएको थियो। यसै क्रममा उहाँले भन्नुभयो, ‘हो नि, मैले खुट्टा कहाँ राख्ने भनेकी थिएँ, स्टेजमा हिँड्ने कुरा पनि सिकाएँ, पछि आकाशमा पनि उडेँ।’

खास कुरा के हो भने कुमारीलाई हिँडाउने गरिँदैन, रथ या खट नभए काँधमा बोकेर लगिन्छ। भुइँमा खुट्टा टेकाइदैन। मान्यताअनुसार जमिनमा पाउ पर्नु हुँदैन। तर जे जति छ या हुन्छ सबै कुमारी रहुञ्जेल हो, नयाँ कुमारी भएसँगै या पूर्वकुमारी भएपछि त्यो सुविधा र सम्मानमा फरक हुन्छ।

पूर्वकुमारी मुस्कुराउँदै भन्दै हुनुहुन्थ्यो, ‘म कुमारी नभएपछि मेरी आमालाई सर्वप्रथम खुट्टा कहाँ राख्ने भनेर सोधेकी थिएँ। पहिला पहिला त हिँड्न पनि नजान्ने, बिस्तारै जमिनमा टेकेर हिँड्न जानियो, पछि प्रतियोगितामा भाग लिएँ र पछि त नयाँ मोडलहरूलाई र्‍याम्पवाक पनि सिकाएँ, एयर होस्टेस पनि भएँ।’ यो कुरा सुनेर हामी सबै दङ्ग पर्यौँ। राधिकाले भनिन्, ‘बहिनीले यति सानो उमेरमा धेरै गर्नुभएको छ। साहसी कथाजस्तो लाग्यो।’

कुमारीका रूपमा बसेर साधारण जीवनमा फर्केपछिका अप्ठ्यारा र पूर्व कुमारी समिताले गर्नुभएको संघर्ष देखेर अचम्म थियौँ, हामी सबै। त्यसपछि, फेरि गाँइगुँइ भयो र अनि केही सहकर्मीले अलि असहज मान्दै एकैपटक भनेँ, हामीले सुनेको आजीवन विवाह गर्न हुँदैन, अरे।

चिनियाँ विकिपेडिया पाइखमा पनि नेपालको जीवित देवी बारे उल्लेख छ, यद्यपि कुमारीको विवाह सम्बन्धमा यहाँ पनि यही भ्रामक कुरा लेखिएको रहेछ, ‘पहिलो महिनावारी भएपछि पद त्याग गरिन्छ र परम्परागत रूपमा पद त्याग गरेपछि समाजिक अलगाव र विवाह प्रतिबन्धका कारण जीवनमा कठिनाइ सामना गर्नुपर्छ।’

हुन त धेरै नेपालीलाई पनि यस सम्बन्धमा तथ्य कुरा थाहा छैन। पुरानो नेपाली चलचित्र कुमारीमा कुमारीसँग बिहे भएपछि नायकको मृत्यु भएको देखाइएको छ र योसँगै सबैमा कुमारीसँग बिहे गर्न हुँदैन भन्ने छाप परेको देखिन्छ। यसै प्रश्नको उत्तर दिँदै पूर्वकुमारी भन्नुहुन्छ। ‘होइन, म भन्दाअघिका सबै ठाउँका पूर्वकुमारीहरूको विवाह भएको छ, सुखद रूपमा दाम्पत्य जीवन चलेको छ।’ यसैबीच एकले सोधिन्, तपाईँको ब्वाइफ्रेन्ड छ कि? हालसम्म ब्वाइफ्रेन्ड नभएको बताउनुभयो।

देशीविदेशी सबैलाई विशेष अर्को चासो भनेको कुमारीबाट पूर्व कुमारी भएपछि के हुन्छ भन्ने हो। जब किशोरावस्था प्रवेशसँगै महिनावारी सुरु हुन्छ, तब तुरुन्तै साधारण जीवन र समाजमा फर्कनुपर्छ। भर्खरै किशोरावस्थामा पुगेकी बालिकाले यी सबै कुराको कसरी सामना गर्छन्? कति गाह्रो होला स्वीकार्न? हाम्रो समाजले यस्ता जिज्ञासा र प्रश्नहरू गरिरहेका छन्। यद्यपि, पूर्वकुमारी समिता बज्राचार्यलाई भेटेपछि त्यो सबै सामान्य लाग्छ। दैविक शक्ति, अलौकिक शक्तिको अगाडि यो नश्वर संसारको के कुरा!

नेपालमा कुमारी प्रथाले धर्म र सामाजिक विश्वासलाई जोडेको छ। सोही आस्थाका साथ मैले सोधेँ, पाटनमा त विदेशीहरू पनि आएर टीका लाउन पाइन्छ। तर हाम्रो चलनअनुसार टीका थाप्ने बेला त जुत्तासुत्ता लगाउन हुँदैन। त्यस्तो अवस्थामा के गर्नुहुन्छ। उहाँले आफ्नो एउटा कुरा सुनाउनुभयो, एकपटक राष्ट्रपति आउनुभएको रहेछ, तर मैले टीका नै लगाइदिइनँ। उहाँ टीका थाप्दै धेरै बेर कुर्नु पनि भएछ, तापनि मैले टीका लगाइदिइनँ, अरे। भरे, मलाई आमाले सोध्नुभएको थियो कि पत्रकारहरूले समेत राष्ट्रपतिसँग के कुरा भयो, आदि, इत्यादि प्रश्नहरू गरेका थिए। तर तपाईँले किन टीका लगाइ दिनु भएन। अनि मैले उहाँले जुत्ता लगाउनुभएको थियो भनेकी थिएँ, अरे।

तत्कालीन राष्ट्रपति रामवरण यादव, पाटनकी कुमारीकहाँ टीका थाप्ने बेला जुत्ता नखोली जाँदाखेरि खाली निधार फर्केका रहेछन्। उहाँले यो सुनाउँदै गर्दा दैविक शक्ति अनुभव भयो। कुमारीलाई देवी तलेजुको जीवित अवतार भएको विश्वास गरिन्छ। यो कुमारी पूजाको परम्परा १७औँ शताब्दीतिर भएको मानिन्छ।

ललितपुरकी पूर्व कुमारी छिमेकी राष्ट्र चीनको राजधानीमा अवस्थित मिन्चु विश्वविद्यालयमा स्नाकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ। हिमाल वारिपारिका दुई देश बीचको प्रागैतिहासिक कालदेखिको सम्बन्धमा उहाँको उपस्थितिले नयाँ आयाम दिने छ भन्ने आशा छ।

(तस्बिर : पूर्वकुमारी समिता बज्राचार्यको फेसबुकबाट साभार)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast