सन् २०२५ विश्व इतिहासमा धेरै सानाठूला संकटहरू एकैचोटि चर्किएको वर्षका रूपमा स्मरण हुने देखिन्छ। अमेरिका-चीन प्रतिस्पर्धा कूटनीतिक वा व्यापारिक सीमामा सीमित रहेन। कृत्रिम बुद्धिमत्ता, डाटा सुरक्षा र सैन्य प्रविधिमा नियन्त्रण नयाँ शीतयुद्धको आधार बन्दै गएको छ। बहुपक्षीय संस्थाहरू कमजोर हुँदै जाँदा क्षेत्रीय गठबन्धन र शक्तिकेन्द्रित राजनीति बलिया हुन थालेका छन्।
युक्रेन युद्धले अन्तर्राष्ट्रिय कानुन र सुरक्षा संरचना चुनौती देखाइरह्यो। इजरायल-गाजा युद्धले विश्व शक्तिहरूको दोहोरो मापदण्ड र नैतिक असफलतालाई नांगो बनाएको छ। युद्धविराम र मानवीय पहुँचबारे चलेका बहस शक्तिशाली राष्ट्रहरूको स्वार्थमा कैद रहन पुगेका छन्।
सन् २०२५ लोकतन्त्रका लागि सहज वर्ष रहेन। युरोप र अमेरिकामा दक्षिणपन्थी राष्ट्रवादी दलहरूको उभारले उदार लोकतन्त्रको भविष्यबारे गहिरो प्रश्न उठायो। निर्वाचनमार्फत सरकार गठन भएका मुलुकमा पनि संस्थागत विश्वास कमजोर हुँदै गएका छन्।
उच्च मुद्रास्फीति, जीवनयापन लागतको चाप, ऋण संकट र आपूर्ति शृंखलाको पुनर्संरचनाले विश्व अर्थतन्त्रलाई अस्थिर बनाएको छ। ऊर्जा र खाद्य सुरक्षा अब आर्थिक मात्र नभई राजनीतिक हतियार बन्न पुगेका छन्।
कृत्रिम बुद्धिमत्ता सत्ता र नियन्त्रणका औजार बनेका छन्। प्रविधिमाथि राज्य नियन्त्रण बढ्दै जाँदा स्वतन्त्रता, गोपनीयता र मानवअधिकार नयाँ जोखिममा परेका विभिन्न अध्ययनहरूले देखाएका छन्।
सन् २०२५ बिदा भए पनि २०२६ को विश्व राजनीति, अर्थतन्त्र, प्रविधिलगायतका विषयमा के के होलान् भन्ने चासो हुनु स्वाभाविक छ। प्रस्तुत छ २०२६ का केही भविष्यवाणी :
कर लगाउने धम्कीबाट पछि हट्नेछन् ट्रम्प
राजस्व बढाउने, मुख्य उद्योगहरूको संरक्षण गर्ने, व्यापारिक साझेदारहरूलाई आफ्नो राजनीतिक लाइनमा ल्याउने र व्यापार घाटा कम गर्ने जस्ता विभिन्न कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चारैतिर कर लगाउने धम्की दिएर कार्यभार सम्हालेका थिए। तर अहिले उनले यो सोचेजस्तो सजिलो नरहेको अनुभव गरेका छन्।
अप्रिलको ‘मुक्ति दिवस’ पछि सेयर बजारमा आएको ठूलो गिरावट, चीनको बदला लिने धम्की, अन्य देशहरूले उनलाई दिएका सहुलियत र बढ्दो महँगीले उनको कर बढाउने अभियानको गतिलाई सुस्त बनाइदिएको छ।
वर्षको अन्त्यसम्ममा सर्वोच्च अदालतको एउटा फैसलाले उनलाई हालका करहरू हटाएर अर्कै प्रकारका शुल्क लगाउन बाध्य पार्न सक्छ। उनले अर्धचालक र औषधिजन्य वस्तुहरूमा कर लगाउने धम्कीबाट हात झिक्नेछन् र अन्य क्षेत्रमा पनि विशेष सम्झौता गर्दै करको दर घटाउनेछन्।
डोनबास क्षेत्र छोड्ने छैनन् जेलेन्स्की
पूर्ण स्तरको युद्ध सुरु भएको झन्डै चार वर्ष भइकेको छ। यद्यपि रुसले डोनेत्स्क प्रान्तको एक चौथाइ भाग र लुहान्स्कको सानो खण्ड कब्जा गर्न सकेकोफ छैन। यी दुवै भाग युक्रेनले छोडिदेओस् भन्ने रुसको माग छ।
अमेरिकी वार्ताकारहरू पनि शान्तिका लागि किभले चुकाउनुपर्ने मूल्य यही हो भन्ने ठान्छन्। तर डोनबासको बाँकी भाग सुम्पनु जेलेन्स्कीका लागि सैन्य, संवैधानिक र राजनीतिक दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण हुनेछ।
कुनै पनि पक्षको नियन्त्रण नहुने गरी गैरसैनिक क्षेत्र बनाउन त्यहाँबाट सेना हटाउनु मस्को र किभ दुवैका लागि अस्वाभाविक र अस्वीकार्य हुनेछ। युक्रेनको रक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त भयो भने मात्र उसले आत्मसमर्पण गर्नुपर्ने स्थिति आउन सक्छ, जुन कुरा अहिले असम्भवजस्तै देखिन्छ।
अमेरिकी संसद्मा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाउनेछ
नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो सदन) मा पुनः आफ्नो वर्चस्व कायम गर्नेछन् तर सिनेट (माथिल्लो सदन) फिर्ता लिन भने थोरै मतान्तरले चुक्नेछन्। तल्लो सदनमा नियन्त्रण भएपछि डेमोक्र्याटहरूलाई डोनाल्ड ट्रम्पका योजना रोक्न र उनको प्रशासनभित्र भएका अनियमितताहरूमाथि छानबिन सुरु गर्न सजिलो हुनेछ।
ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोगको प्रक्रिया सुरु हुने सम्भावना पनि नकार्न सकिँदैन, यद्यपि यो पहिलेका प्रयासहरू जस्तै असफल हुन सक्छ। ट्रम्पले डेमोक्र्याटहरूको जित रोक्न नोभेम्बरसम्म आफूले सक्ने सबै प्रयास गर्नेछन्।
मध्यावधि निर्वाचनमा जाने छैन फ्रान्स
सन् २०२७ को वसन्त ऋतुमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले अधिकांश राजनीतिक दलहरू अहिलेदेखि नै सोही चुनावको तयारीमा केन्द्रित भएका छन्। सन् २०२४ को संसदीय चुनावले संसदलाई विभाजित बनाइदियो, मध्यमार्गी शक्तिलाई कमजोर पार्यो र बजेट वा अन्य कानुन पारित गर्न अत्यन्तै कष्टकर बनायो। त्यसैले अहिले फेरि चुनाव गराउनुको कुनै फाइदा दलहरूले देखेका छैनन्।
विभिन्न सर्वेक्षणका अनुसार अहिल्यै चुनाव गराए पनि संसद्को विभाजन उस्तै रहने देखिन्छ र कुनै पनि एउटा पक्षले बहुमत पाउने सम्भावना छैन। यस्तो स्थितिमा मरिन ले पेनको कट्टर दक्षिणपन्थी पार्टी रासम्ब्लेमाँ नासियोनालले मात्र फाइदा पाउने देखिन्छ।
राष्ट्रपति इमानुएल म्याक्रोँले पनि समय अगावै राष्ट्रपतिको चुनाव गराउने कुनै पनि सुझाव वा सम्भावनालाई पूर्ण रूपमा खारेज गरिदिएका छन्।
जापानी प्रधानमन्त्री साना ताकाइची नै
तथ्यांक हेर्ने हो भने जापानका कुनै पनि प्रधानमन्त्री एक वर्षभन्दा बढी टिक्ने सम्भावना निकै कम हुन्छ। अक्टोबरदेखि जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीका अगाडि धेरै चुनौतीहरू छन्। उनकै पार्टीभित्रका केही गुटहरूले उनलाई निकै कडा स्वभावको ठान्छन्। चीन उनलाई अस्थिर बनाउन लागिपरेको छ। उनी आमनिर्वाचनको जनादेश विना नै यो पदमा पुगेकी हुन्।
तर ताकाइचीले जापानी राजनीतिमा एउटा नयाँ शैलीको प्रतिनिधित्व गर्छिन्। उनी प्रस्ट बोल्ने नेता हुन्। महँगी र ब्याजदर बढे पनि उनी जनतामाझ लोकप्रिय छिन्। आउँदो वसन्त ऋतुमा हुने आम निर्वाचनमा उनको जित हुने र त्यसपछि उनको सत्ता झन् बलियो हुने अनुमान गर्न सकिन्छ।
चिनियाँ मुद्राको मूल्य खासै बढ्दैन
चीनको विशाल व्यापार नाफाले उसको मुद्राको वास्तविक मूल्य अहिले कम रहेको देखाउँछ तर त्यहाँको सुस्त आर्थिक अवस्थाले गर्दा मूल्य कम रहने संकेत गर्छ। सन् २०२६ मा अन्य देशहरूले चीनमाथि थप कर लगाउन सक्छन्। चिनियाँ अधिकारीहरूले मुद्राको मूल्य बढाउन दिनुको सट्टा ती करको असर आफैँ झेल्ने प्रयास गर्नेछन्।
हाल डलरको तुलनामा चिनियाँ मुद्रा ७.०१ को स्तरमा छ। एक वर्षपछिको बजार अनुमान ६.८९ को हाराहारीमा छ। सन् २०२६ को अन्त्यसम्ममा यो मुद्राको मूल्य त्यो भन्दा माथि जाने देखिँदैन।
जर्मनीमा एफडी पार्टीविरुद्धको राजनीतिक पर्खाल भत्किने छैन
चान्सलर फ्रेडरिक मर्जले आफ्नो अनुदारवादी पार्टी (सीडीयू) लाई कट्टर दक्षिणपन्थी पार्टी एएफडीसँग स्थानीय वा राष्ट्रिय कुनै पनि तहमा सहकार्य गर्न नदिने अडान राख्दै आएका छन्।
तोकिएका पाँचवटा क्षेत्रीय चुनावहरूमा एएफडीले ठूलो जित हासिल गरेमा मर्जको यो निर्णयको कडा परीक्षा हुनेछ। सेप्टेम्बरमा पूर्वी राज्य सक्सोनी अनहाल्टमा हुने चुनावमा एलिस विडेलको नेतृत्वमा रहेको यो पार्टीले सत्ताधारी सीडीयूलाई उछिनेर झन्डै बहुमत सिट जित्ने अनुमान गरिएको छ।
आफ्नै पार्टी सीडीयूभित्रबाट पनि वामपन्थीहरूसँग मिल्नुभन्दा एएफडीसँगको यो राजनीतिक पर्खाललाई पुनरवलोकन गर्नुपर्ने दबाब बढ्नेछ। मर्जले आफ्नो अडान परिवर्तन गरेमा सोसल डेमोक्र्याट्ससँगको उनको हालको गठबन्धन सरकार टुट्न सक्छ।
बेलायती प्रधानमन्त्री स्टारमरले चुनौतीको सामना गर्नुपर्ने
बेलायती राजनीतिमा फेब्राइल (अत्यन्तै अस्थिर वा तनावपूर्ण) शब्द धेरै प्रयोग गरिन्छ। सन् २०२५ मा कियर स्टारमर र उनका अर्थमन्त्री रेचेल रिभ्सको नेतृत्व वरिपरिको वातावरण यस्तै तनावपूर्ण देखिइसकेको छ।
अब आउँदो मे महिनामा विशेष ध्यान दिनुपर्नेछ, जब स्कटल्यान्ड, वेल्स र केही अंग्रेजी काउन्सिलहरूको चुनावमा लेबर पार्टीको नतिजा खराब आउन सक्छ। साथै नाइजेल फराजको ‘रिफर्म यूके’ पार्टीको सम्भावित सफलताले स्टारमरलाई नेतृत्वबाट हटाउने दबाब वा अभियान सुरु गर्न बल पुर्याउनेछ।
अहिल्यै नेतृत्वका आकांक्षीहरूबीच भित्रभित्रै होडबाजी सुरु भइसकेको छ। तर उनलाई चुनौती दिनु त्यति सजिलो भने छैन। लेबर पार्टीको अघिल्लो शासनकालमा पनि नेतृत्व परिवर्तनका प्रयास फितलो तयारी र समन्वयको अभावले गर्दा असफल भएका थिए। नेतृत्वलाई चुनौती दिन कम्तीमा २० प्रतिशत लेबर सांसदहरूको समर्थन र पार्टीको राष्ट्रिय कार्यकारिणी समितिको अवरोध पार गर्नुपर्ने हुन्छ।
साउदी अरब-इजरायल आआफ्नै अडानमा रहनेछन्
गाजामा जारी इजरायल-हमास युद्धमा एउटा कमजोर युद्धविराम गराएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सम्बन्ध सुधार होस् भन्ने चाहन्छन्। तर अहिलेको स्थिति हेर्दा यसको सम्भावना निकै कम छ। साउदी राजकुमार मोहम्मद बिन सलमान आफ्नो अडानमा अडिग छन्। उनले प्यालेस्टाइन राज्य स्थापनाको प्रस्ट मार्ग तय नभएसम्म इजरायलसँग सम्बन्ध अघि नबढाउने बताउँदै आएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस मागलाई कडा रूपमा अस्वीकार गर्दै आएका छन्। उनले यस वर्षको चुनाव हारे नै भने पनि इजरायलले आफ्नो यो अडानमा खासै लचिलोपन देखाउने सम्भावना छैन। साथै गाजा युद्धलाई लिएर मुस्लिम विश्वमा फैलिएको आक्रोशका कारण पनि प्रिन्स मोहम्मदले आफ्नो अडान बदल्ने देखिँदैन।
लुलाले राष्ट्रपतिको चुनाव जितेर कीर्तिमानी बनाउनेछन्
कुनै स्वास्थ्य समस्या नआएमा ८० वर्षको उमेरमा पनि आउँदो अक्टोबरमा ब्राजिलमा हुने राष्ट्रपति निर्वाचन लागि लुइज इनासियो लुला डा सिल्भा बलिया दाबेदार हुन्। एक प्रभावशाली अभियानकर्ताका रूपमा रहेका यी वामपन्थी नेतालाई ब्राजिलको बलियो अर्थतन्त्र र ट्रम्पको दबाब वा प्रलोभनको अगाडि नझुक्ने उनको अडानले फाइदा पुर्याउनेछ।
ब्राजिलको दक्षिणपन्थी खेमामा देखिएको आन्तरिक कलहले पनि उनलाई मद्दत गरिरहेको छ। केही अनुदारवादीहरूले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सत्तापलटको षड्यन्त्र गरेको अभियोगमा चलाइएको मुद्दाको बदला लिन अमेरिकाले ब्राजिलमाथि नाकाबन्दी लगाउनुपर्छ भन्ने तर्क गरेका थिए। यो रणनीति उल्टो साबित भयो किनभने लुलाले यसैलाई आधार बनाएर राष्ट्रियताको नाममा जनतालाई आफ्नो पक्षमा ल्याउन सफल भए।
टेस्ला बजार हिस्सा वृद्धि गर्ने असफल हुनेछ
अमेरिकामा विद्युतीय सवारी साधन (ईभी) का लागि दिइँदै आएको संघीय कर छुट को म्याद सकिनु र राष्ट्रपतिले सवारीसाधनको कार्बन उत्सर्जन घटाउने नियमहरूलाई खारेज गर्नुले टेस्लालाई निकै दबाबमा राखेको छ।
चीन र युरोपको अवस्था पनि अझै अनिश्चित छ। टेस्लाले आफ्नो लोकप्रिय मोडल ‘मोडल वाई’ को सस्तो संस्करण बजारमा ल्याए पनि सन् २०२५ मा जुन कारणले टेस्लाको बजार हिस्सा घटेको थियो। ती समस्या सन् २०२६ मा पनि उस्तै रहने देखिन्छन्।
चीनको बीवाईडी र अन्य प्रतिद्वन्द्वी कम्पनीहरूले आकर्षक मूल्यमा थप नयाँ मोडलहरू बजारमा ल्याउनेछन्। यसैबीच एलन मस्क टेस्लाको परम्परागत कार उत्पादन व्यवसायलाई सुधार्नुभन्दा एआईमा लगानी गर्न र आफैँ चल्ने रोबोट्याक्सी सञ्चालनमा ल्याउन बढी केन्द्रित भएका छन्।
केन्द्रीय बैंकहरूले ब्याजदर अझ घटाउनेछन्
जापानलाई एउटा अपवादको रूपमा छोडेर हेर्ने हो भने विश्वका अन्य केन्द्रीय बैंकहरूले सन् २०२६ मा पनि ब्याजदर घटाउने क्रम जारी राख्ने सम्भावना बढी छ। अमेरिका र त्यहाँको संघीय रिजर्भ (फेड) का नयाँ अध्यक्ष (सम्भवतः केभिन ह्यासेट) को नेतृत्वमा विश्वभरका अधिकारीहरू बाँकी रहेको थोरै महँगीलाई बेवास्ता गर्दै ब्याजदरलाई सामान्य स्तरमा झार्न तयार देखिन्छन्। अमेरिकी केन्द्रीय बैंकले उच्च प्रविधिका कारण भइरहेको तीव्र वृद्धिलाई औँल्याउँदै यसलाई सन् १९९० को दशकको उत्पादनशील उछालको पुनरावृत्ति हो भनी तर्क गर्नेछ।
युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लगार्डले अहिलेको मौद्रिक नीति राम्रो अवस्थामा रहेको बताएकी छिन्। यदि आर्थिक वृद्धि सुस्त भयो भने केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर अझै घटाउन सक्नेछ।
निजी ऋणका क्षेत्रमा लुकेका थप समस्या बाहिर आउनेछन्
सन् २०२२ देखि निजी ऋणहरू नतिर्ने दर झन्डै तीन गुणाले बढेको छ। ब्याजदर शून्यको हाराहारीमा हुँदा धेरै ऋण लिएका कम्पनीका लागि अहिलेको उच्च ब्याजदर एउटा ठूलो परीक्षा बनेको छ। यद्यपि अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदर घटाउन सुरु गरिसकेको छ तर केही कम्पनीहरूका लागि यो ढिलो भइसकेको हुनसक्छ।
धेरै कम्पनीहरूलाई ऋण तिर्न थप समय वा थप नगद लगानीको आवश्यकता पर्नेछ। केही कम्पनीहरू ‘फर्स्ट ब्रान्ड्स’ र ‘ट्रिकलर’ जस्तै नराम्रोसँग टाट पल्टिने अवस्थामा पुग्नेछन्। यसले लगानीकर्ताहरूलाई नोक्सान त पुर्याउनेछ। यदि अमेरिकी अर्थतन्त्र धेरै नै खराब भएन भने यसले समग्र वित्तीय प्रणालीलाई नै भने अस्थिर बनाउने छैन।
ओरालो लाग्नेछ एआईको चर्चा
च्याटजीपीटी आएको तीन वर्ष भइसक्दा कृत्रिम बौद्धिकता एआई क्षेत्रमा सजिलै पैसा कमाउने दिन अब सकिएका छन्। लगानीकर्ताहरूले अहिले ठूला प्रविधि कम्पनीहरूलाई कडा प्रश्नहरू सोध्न थालिसकेका छन्। उदाहरणका लागि चिप्स बनाउने दिग्गज कम्पनी एनभिडियालाई गुगलको एआई प्रगतिले चुनौती दिइरहेको छ भने मेटाको बजार मूल्यमा पनि गिरावट आएको छ। यस अर्थ एआईको अत्यधिक चर्चा शिखरमा पुगेर अब ओरालो लाग्न थालेको छ।
एआईले सोचेजस्तो काम वा फाइदा दिन सकेन भने पनि ती ठूला र विभिन्न क्षेत्रमा फैलिएका कम्पनीहरूलाई खासै असर पर्दैन र उनीहरू जोगिनेछन्। यसले गर्दा समग्र बजारमा हुने गिरावटलाई १० देखि १५ प्रतिशतमा सीमित राख्न मद्दत पुग्नेछ।
एआईले बनाएको गीत उच्च स्थानमा पुग्न सक्नेछैन
यस वर्ष ब्रेकिङ रस्ट नामक एक कृत्रिम (एआई) आवाजले अमेरिकाको एउटा कम चिनिएको कन्ट्री म्युजिक चार्टमा पहिलो स्थान हासिल गर्यो, जसले मेसिनको बढ्दो प्रभावको संकेत त दियो। तर अमेरिका र बेलायतका मुख्य सिंगल्स चार्ट जस्तो उच्च स्थानमा पुग्न भने एआई असफल हुनेछ।
नेटफ्लिक्सको फिल्म ‘के-पप डेमन हन्टर्स’ का गीतहरूले काल्पनिक कलाकारहरूका गीतहरू पनि हिट हुन सक्छन् भन्ने प्रमाणित गरे। तर ती गीतहरूलाई फिल्मको कथा र पात्रहरूको चित्रणले सफलता दिलाएको थियो। यस्तो सिर्जना एआईले गर्न सक्दैन। न त एआईले ओलिभिया रोड्रिगो जस्ता वास्तविक ताराहरूको जस्तो लोभलाग्दो व्यक्तित्व नै बनाउन सक्छ, न त केन्ड्रिक लामार र ड्रेक बीचको सांगीतिक लडाइँमा देखिएको जस्तो मानवीय भावना र व्यक्तित्वको टकराव नै पैदा गर्न सक्छ।
घरघरमा हुनेछन् काम गर्ने रोबोट
गत अक्टोबरमा पालो आल्टोको स्टार्टअप कम्पनी वानएक्सले आफ्नो नियो नामक रोबोटका लागि पूर्वअर्डर लिन थाल्यो। यो रोबोट मानिस जस्तै देखिने, पातलो र नरम कपडाको पहिरन लगाएको जस्तो देखिन्छ। २० हजार डलर (झन्डै २७ लाख नेपाली रुपैयाँ) तिर्ने ग्राहकहरूलाई सन् २०२६ सम्ममा यो रोबोट घरमा डेलिभरी दिइने बताइएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण अब रोबोटिक सहयोगीहरू भर्चुअल संसारबाट निस्किएर वास्तविक संसारमा आउँदै छन्।
टेस्ला, फिगर एआई र युनिट्री जस्ता कम्पनीहरू घरको काम गर्ने आफैँ चल्ने रोबोट बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। तर मानिसले जस्तै कुशलतापूर्वक काम गर्ने क्षमता (जस्तै : लुगा पट्याउने) विकास गर्नु अझै पनि एउटा महँगो र निर्माणाधीन प्रक्रिया हो। ‘नियो’ अझै पनि पूर्ण रूपमा आफैँ चल्न सक्ने भइसकेको छैन। त्यसैले अहिलेका लागि यो रोबोट नयाँ प्रविधिमा सोख राख्ने धनी व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ।
क्वान्टम कम्प्युटर सञ्चालनमा आउनेछ
केही प्रविधि कम्पनीहरूले अहिल्यै आधारभूत स्तरका क्वान्टम कम्प्युटरहरू विकास गरिसकेका छन्। यिनीहरूलाई साधारण कम्प्युटरसँगै मिलाएर यस्ता कामहरू गर्न प्रयोग गरिन्छ, जुन कुनै एकले मात्र एक्लै गर्न सक्दैनन्। यसलाई प्रयोगमा ल्याउन हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा तीव्र गतिमा प्रगति भइरहेको छ।
यो ठ्याक्कै कहिलेसम्ममा तयार हुन्छ भन्ने समय निश्चित नभए पनि सरकारहरूले कम्पनीहरूलाई आफ्ना संवेदनशील तथ्यांमहरू सुरक्षित राख्न सुझाव दिन थालेका छन्। किनभने एकपटक बलियो क्वान्टम कम्प्युटर बनेपछि यसले आजका प्राय: सबै सुरक्षा कोड वा इन्क्रिप्सन विधिहरूलाई बेकामे बनाइदिनेछ।
अफ्रिकाको आर्थिक वृद्धिले एसियाको वृद्धि उछिन्नेछ
अफ्रिकाको आर्थिक वृद्धिले एसियालाई उछिन्न त सक्छ, तर यी दुईबीचको अन्तर निकै कम हुनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार चीनको आर्थिक सुस्तताका कारण सन् २०२६ मा एसियाको औसत वृद्धि दर ४.१ प्रतिशतमा झर्न सक्छ। अर्कोतर्फ अफ्रिकाको वृद्धि दर भने अलि तल्लो स्तरबाट सुधार हुँदै ४.१ प्रतिशतभन्दा केही माथि पुग्ने अनुमान गरिएको छ।
सुडानको युद्ध, साहेल क्षेत्रमा बढ्दो उग्रवाद र शृंखलालाबद्ध सत्तापलट जस्ता राजनीतिक उथलपुथल भइरहे पनि अफ्रिकालाई कमजोर डलर, सुनको उच्च मूल्य र सुधारिएको वित्तीय नीतिले फाइदा पुर्याइरहेको छ।
अर्को वर्ष विश्वका सबैभन्दा तीव्र गतिमा बढ्ने २० अर्थतन्त्रमध्ये आधा अफ्रिकी मुलुक हुने अपेक्षा गरिएको छ। इजिप्ट र नाइजेरिया जस्ता ठूला अर्थतन्त्रहरूले पनि कठिन संरचनागत सुधारपछि वृद्धि हासिल गरिरहेका छन्। यद्यपि सामूहिक रूपमा हेर्दा अफ्रिकाका ५४ वटा अर्थतन्त्रहरू अझै पनि विश्वव्यापी अर्थव्यवस्थाको दिशा बदल्न सक्ने गरी ठूला भइसकेका छैनन्।
सुनको मूल्य प्रति आउन्स ५,००० डलर नाघ्नेछ
सुनको मूल्यमा देखिएको तीव्र वृद्धि अझै जारी रहने सम्भावना छ, यद्यपि यसको बढ्ने गति केही सुस्त हुन सक्छ। मूल्य बढ्नुका मुख्य कारणमा विभिन्न देशका केन्द्रीय बैंकहरूले गरिरहेको सुनको खरिद र लगानीकर्ताहरूको आकर्षण हुन्। लगानीकर्ताहरूले सुनलाई बढ्दो सरकारी ऋण , भौगोलिक-राजनीतिक विखण्डन र कागजी मुद्राको घट्दो मूल्यविरुद्धको एक सुरक्षित कवचका रूपमा हेरिरहेका छन्।
यस्तो संसार जहाँ अनिश्चिततानै सामान्य बनेको छ र आरक्षित मुद्राका रूपमा डलरको भूमिकामा दरारहरू देखिन थालेका छन्। यस्तो अवस्थामा सुनको यो बढ्दो यात्रा अझै अगाडि बढ्ने देखिन्छ।
महिला खेलाडी विश्वको शीर्ष ५० सर्वाधिक कमाउने खेलाडीको सूचीमा पर्ने सम्भावना न्यून
महिला खेलकुदमा हालैका वर्षहरूमा तीव्र वृद्धि देखिए तापनि महिला खेलाडीको कमाइ अझै पनि पुरुष खेलाडीको तुलनामा धेरै कम छ। स्पोर्टिकोका अनुसार सन् २०२५ मा कोको गौफ ३१ मिलियन डलर कमाइका साथ विश्वकै सर्वाधिक कमाउने महिला खेलाडी थिइन्। यो रकमले उनलाई विश्वका शीर्ष १०० खेलाडीको सूचीमा समेत पार्न सकेन। किनभने सूचीमा पर्ने अन्तिम पुरुष खेलाडीको कमाइ पनि ३७ मिलियन डलरभन्दा बढी थियो।
चर्चित बास्केटबल खेलाडी क्याटलिन क्लार्कको कुल आम्दानी १६ मिलियन डलर थियो। उनको वास्तविक तलब भने मात्र एक लाख १४ हजार डलर मात्र थियो। हालैका वर्षहरूमा नाओमी ओसाका र सेरेना विलियम्स मात्र शीर्ष ५० को सूचीमा पर्न सफल भएका छन्। कोको गौफले ती उचाइ छुनका लागि अझै धेरै ठूला विश्वव्यापी ब्रान्डहरूसँग सम्झौता गर्न वा थप ग्रान्ड स्लाम उपाधि जित्न बाँकी नै छ।
फाइनान्सियल टाइम्सबाट



