पुस १४ गते रास्वपासँग एकीकरणको सहमति भएपछि रास्वपाका नेता गणेश पराजुली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो पार्टीका कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछाने। कुलमान शनिबार रास्वपाबाट बाहिरिएका छन्।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेको १२ दिनमै कुलमान घिसिङ बाहिरिएपछि वैकल्पिक शक्तिको स्थिरतामाथि प्रश्न उठेको छ। निकै उत्साहका साथ वैकल्पिक शक्तिहरू एक हुने उद्देश्यले रास्वपासँग एकता गरेका घिसिङ नेतृत्वमाथि अनेक आरोप लगाउँदै बाहिरिएका हुन्।
रास्वपाबाट अलग भएलगत्तै घिसिङले ‘उज्यालो नेपाल पार्टी’ को नेतृत्व सम्हालेका छन्। उनले आगामी निर्वाचनमा ‘बिजुलीको चिम’ चुनाव चिह्न लिएर मैदानमा जाने घोषणा गरे।
‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिदृश्यले वैकल्पिक शक्तिहरू मिल्नुपर्ने जनदबाब बढेको थियो। सोही क्रममा कुलमान र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा समाहित भएका थिए।
भागबन्डाको तानातान
वैकल्पिक शक्तिको एकतामा कुलमानको बहिर्गमन एउटा ठूलो तगारो बनेको छ। रास्वपासँगको ‘ब्रेकअप’ पछि कुलमानले आफ्ना ६ जना समानुपातिक उम्मेदवारलाई ‘सेफ जोन’ मा नराखेको र अनावश्यक मिडियाबाजी गरिएको आरोप लगाएका छन्।
रास्वपाले भने कुलमानले सम्झौताविपरीत अनावश्यक पदको बार्गेनिङ गरेको दाबी गरेको छ। उज्यालो नेपालका नेता श्री गुरुङका अनुसार समानुपातिकतर्फका ११० जनाको सूचीमा आफ्ना १४ जना उम्मेदवारलाई निकै तल राखिएको र वरीयतामा समेत अवमूल्यन गरिएकाले एकता टुट्ने अवस्था आएको हो। उनी भन्छन्, ‘हाम्रा नेताहरूको वरीयता तेस्रो हुनुपर्नेमा पाँचौँ स्थानमा धकेलियो, जुन हाम्रो अपमान हो।’
रास्वपा प्रवक्ता मनीष झाका अनुसार कुलमानले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने प्रस्ताव राखेका थिए। रास्वपाले यसअघि नै काठमाडौँ उपत्यकाका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने लिखित निर्णय गरिसकेको थियो। ‘उहाँहरूले पार्टीको नाम नै परिवर्तन गर्नुपर्ने असम्भव अडानसमेत राख्नुभयो,’ प्रवक्ता झाले भने।
महत्त्वाकांक्षा र पदको टकराव
कुलमानसँगको वार्तामा सहभागी एक रास्वपा नेताका अनुसार पदाधिकारीमा थप तीन पद र कुलमानलाई वरिष्ठ उपसभापति दिनुपर्ने अडान आएको थियो। लिखित सहमतिमा एक महामन्त्री मात्र थप्ने र कुलमानलाई दोस्रो वरीयता दिने उल्लेख थियो।
पदको यो मोह रास्वपाभित्रका अन्य नेताहरूमा पनि देखिएको छ। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र संसदीय दलका सचेतक सन्तोष परियारजस्ता नेताहरूले पार्टी छाड्नुले आन्तरिक कलह थप सतहमा आएको छ।
कुलमानको प्रधानमन्त्रीको सपना र बालेनको अनिश्चितता सुशीला कार्की सरकारबाट बाहिरिएलगत्तै पार्टी अध्यक्ष बनेका कुलमानलाई अब भावी प्रधानमन्त्रीको रूपमा अघि बढाइने उज्यालो नेपालका नेता महेन्द्र लावती बताउँछन्। कुलमानले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन्।
कुलमान मात्र होइन, बालेन शाहको रास्वपा यात्रा पनि कति लामो हुन्छ भन्नेमा संशय व्यक्त हुन थालेको छ। विगतमा रास्वपाप्रति कडा आलोचना गर्ने बालेन अहिले भावी प्रधानमन्त्रीको सुनिश्चिततापछि मात्रै पार्टीमा मिसिएका हुन्। ‘बालेनले पनि पदकै लागि विगत भुले, अब उनी कतिन्जेल टिक्छन् भन्ने हेर्न बाँकी छ,’ रास्वपाका एक नेताले टिप्पणी गरे।
वैकल्पिक शक्तिमाथिको प्रश्नचिह्न नेपालमा वैकल्पिक राजनीतिको जग बसाल्ने अभियन्ता उज्वल थापाले विवेकशील अभियानमार्फत साझा पार्टीसँग एकताको प्रयास गरेका थिए। पछि रवीन्द्र मिश्रको राजावादी एजेन्डाका कारण त्यो प्रयास सफल हुन सकेन। अहिले रास्वपाले पनि सोही नियति भोगिरहेको छ।
वैकल्पिक राजनीतिक अभियन्ता मिलन पाण्डेका अनुसार धरातल र विचार नमिल्दा यस्तो समस्या आएको हो। उनी भन्छन्, ‘अहिलेको एकता विचार वा सिद्धान्तमा भन्दा पनि निर्वाचन र भागबन्डाका लागि मात्र केन्द्रित देखिन्छ। त्यसैले यो छिट्टै टुट्ने र फुट्ने क्रम चलिरहेको छ।’




