सर्लाही– सर्लाहीको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ।
पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।
चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपर्याे। चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।
बाल्यकाल निकै सङ्घर्षमा बिताउनुभएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उनी एउटा कुशल ट्र्याक्टर चालक बनिसकेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ । कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो”, उनले सुनाए ।
“विवेकको आमाले सानैमा छाडेर गइन्”, विवेकका जिजूहजुरआमा अतिरुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।” विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखिन् ।
विवेककी हजुरआमा बोल्न सक्दिनन्। जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकिन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजुबहिनीलाई ।
एकपटक जन्मदर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।



