सौगात र सृष्टिकाे नजरमा ‘भाइरल गोर्खे’

सुस्मिता बजगाईं २२ पुष २०८२ १२:५७
44
SHARES
सौगात र सृष्टिकाे नजरमा ‘भाइरल गोर्खे’

काठमाडौँ- ‘भाइरल’ प्रचलित शब्द हो। भाइरल हुनु भनेको कुनै पनि सूचना, भिडियो, तस्बिर वा समाचार इन्टरनेट र सामाजिक सञ्जालमा छोटो समयमा धेरै मानिसहरूमाझ फैलिनु हो।  फेसबुक, टिकटकमा चर्चित भएका तर सामाजिक रूपमा प्रभाव पार्न नसक्ने  भिडियो हेरेपछि  ‘मान्छे भाइरल हुन जे पनि गर्दा रहेछन्’ यो वाक्य प्रायः मानिसको मुखबाट निस्कन्छ। यस्तै भाइरल हुने चक्करमा रहेको पाँडे गाउँको एक पात्र गोर्खेको कथामा नेपाली फिल्म प्रदर्शन हुँदै छ।

फिल्मको नाम भाइरल शब्द र उही पात्रबाट राखिएको छ, अर्थात् फिल्म ‘भाइरल गोर्खे’। माघेसंक्रान्तिका अवसरमा फिल्म माघ १ गते देशभर प्रदर्शन हुनेछ। फिल्मका लेखक तथा निर्देशक निगम श्रेष्ठ हुन्।

फिल्मको मुख्य भूमिकामा छन्, अभिनेता सौगात मल्ल। उनी गोर्खे पात्रकाे भूमिकामा छन्, जो सुरुमा भाइरल भन्न नजानेर भाइरस भन्दै हिँड्छ। तर पछि ऊ टिकटकमा भाइरल बन्छ।

टिकटकको विस्तारसँगै जब गोर्खेलाई कुनै एक फिल्म स्टारकाे नक्कल गर्ने भोक जाग्छ तब, उसले के कस्ता हर्कतहरू गर्छ र भाइरल बन्छ भन्ने नै फिल्मको मुख्य कथा रहेको छ।

‘एक पात्र जसलाई भाइरल पनि भन्न नआएर भाइरस भनिरहेको हुन्छ, त्यो अवस्थादेखि भाइरल हुनेसम्म उसको यात्रा र त्यसपछिको दुःख, जीवनको सिकाइ, यथार्थ के हो भन्ने कुराहरू फिल्ममा समेटिएको छ। मेरो चरित्रको कथा यही नै हो’, अभिनेता मल्लले भने।

अभिनेता मल्लका अनुसार गोर्खे पात्रमा त्यस्तो खुबी छैन। ऊ गोठालो हो। अति नै सामान्य पात्र गोर्खेलाई फिल्मको एउटा हिरो मन पर्छ र उजस्तै बन्ने उसको सोख छ।  त्यहीअनुसार भाइरल बन्छ। गोर्खे भाइरल भइसकेपछि उसले सामना गर्नुपर्ने चुनौती पनि फिल्ममा समेटिएको अभिनेता मल्लले खुलाए। ‘यिनै चुनौतीबाट नै फिल्मले मानिसको जीवनमा आइरहने उतारचढाव पनि समेटेको छ’, उनले भने।

अभिनेता सौगात टिकटक चलाउँदैनन्। उनलाई सामाजिक सञ्जालप्रति त्यति रुचि छैन तैपनि उनी भाइरल बन्ने चक्करमा रहेको एक पात्रका कथामा अभिनय गर्न राजी भए।

कसरी र किन? उनी भन्छन्, ‘पहिले नै टिकटककै विषयमा फिल्म बन्नेछ भनेको भए यो फिल्ममा काम गर्दिनथेँ।  फिल्मको पटकथा सुनेर आकर्षित भएँँ। र निर्माण टिमसँग काम गर्ने निधो गरे।’

फिल्मको पटकथा पढेपछि अहिलेकै परिदृश्य र समय सान्दर्भिक लागेर काम गर्न थप इच्छुक भएको उनी सुनाउँछन्। फिल्मले टिकटकको मात्र नभनेर एक पात्रको जीवनकथादेखि पारिवारिक स्थितिसम्म समेटेको उनको बुझाइ छ। यो पात्रको कथा केही आफ्नो जीवनसँग पनि मिल्ने सौगात सुनाउँछन्। उनी भन्छन्,  ‘मलाई टिकटकमा भिडियो बनाउन  यही फिल्मले सिकायो।’

फिल्मको मुख्य भूमिकामा अभिनेत्री सृष्टि श्रेष्ठ छिन्। नेवारी लवजमा बोल्ने एक पात्र, जो कसरी भाइरल भइन् भन्ने चरित्रमा आफूले अभिनय गरेको उनले खुलाइन्। ‘मेरो भूमिकाबारे निगम सरले नेवारी लवज भएकी कीर्तिपुरकी एक पात्रको चरित्र भनेर चिनाउनुभएको थियो। जो त्यही लवजकै कारण टिकटक स्टार हुन्छ,’ उनले भनिन्।

सौगातजस्तै आफू पनि त्यति टिकटकतिर रुचि नराख्ने भएकाले फिल्मबाट सामाजिक सञ्जालबारे बुझ्ने मौका मिलेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘म आफैँ पनि त्यति टिकटक चलाउँदिनँ तर एक स्टार पात्रको भूमिकाको अनुभव लिन पाएँ, यसैमा खुसी छु।’

सौगातकै भनाइलाई समर्थन गर्दै उनले पनि यो फिल्मलाई समय सान्दर्भिक कथा भन्न रुचाइन्। ‘यो फिल्ममा सामाजिक सञ्जालमा हुने सकारात्मक र नकारात्मक असरको कुरा छ। एक मान्छे भाइरल हुन केके गर्छ भन्ने समेटिएको छ,’ उनले भनिन्। उनका अनुसार फिल्ममा यिनै विषयलाई कमेडी शैलीमा प्रस्तुत गरिएको  छ।

फिल्मका निर्मातामध्ये एक अमित श्रेष्ठ ‘भाइरल गोर्खे’ एउटा काल्पनिक कथा रहेको बताउँछन्। ‘फिल्ममा टिकटकजस्ता सामाजिक सञ्जालको क्रेजलाई मुख्य विषयवस्तुका रुपमा लिइएको छ,’ उनले भने।

 फिल्ममा सृष्टि र सौगातसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल,  रवि भुजेल, सुनील तामाङ, मिस पवीलगायत कलाकारको अभिनय छ। अमर महर्जनले छाया‌ंकन गरेकाे फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast