काठमाडौँ- भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहयोग गर्ने प्रस्ताव राखेकी छन्। कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि विज्ञप्ति निकालेर रोड्रिगेजले यस्तो प्रस्ताव राखेकी हुन्।
भेनेजुएला शान्तिका लागि प्रतिबद्ध रहेको बताउँदै रोड्रिगेजले अमेरिकासँग सन्तुलित र सम्मानजनक सम्बन्धलाई प्राथमिकता दिन तयार रहेको उल्लेख गरेकी छन्।
उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रहेर सहयोगको एजेन्डामा सहयोग गर्न आग्रह गरेकी छन्।
रोड्रिगेजले भनिन्,‘राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र शान्ति र वार्ताका हकदार छन्, युद्धका होइनन्। यो सधैँ राष्ट्रपति निकोलस मादुरोको सन्देश रहेको छ। र, अहिले सम्पूर्ण भेनेजुएलाको यही सन्देश छ।’
भेनेजुएलालाई शान्ति, विकास, सार्वभौमसत्ता र भविष्यको अधिकार रहेको उनले बताएकी छन्।
सैन्य कारबाहीपछि अमेरिकाले राष्ट्रपति मादुरो दम्पत्तिलाई नियन्त्रणमा लिएपछि उपराष्ट्रपति रोड्रिगेजले भेनेजुएलामा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्। उनले मादुरोको नीतिलाई नै निरन्तरता दिँदै शान्तिको कुरा गरेरहेकी छन्।
अर्कोतर्फ ट्रम्पले अब भेनेजुएला अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका छन्। उनले भेनेजुएलाको प्रशासनमा अमेरिकाको प्रभाव रहने उल्लेख गरेका छन्।



