काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र आकांक्षीहरू मत परिणाम आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन्। मतदाताको ध्यान आकर्षित गर्न उम्मेदवारहरूले खेतबारीमा गएर किसानलाई सघाउनेदेखि जितेपछि शीर्ष नेताहरूलाई क्षेत्रमा ल्याउनेसम्मका आश्वासन दिइरहेका छन्। मतदातासँग हाँस्ने–रुने र भावनात्मक सम्बन्ध गाँस्ने प्रयास जारी छ।
कोही उम्मेदवार खेतबारीमै पुगेर जानीनजानी कृषि कार्यमा व्यस्त देखिन्छन् भने कसैले गोठमै पुगेर गाईभैँसीको दूध दुहेको र गोबर सोहोरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यस्ता गतिविधि मतदाताका लागि सेवाभन्दा पनि ‘चटके शैली’ जस्तो देखिँदा कतिपय उम्मेदवारहरू व्यंग्य र आलोचनाको विषय बनेका छन्।
उम्मेदवारका चुनावी स्टन्ट : कसले के गरे?
ऋषि धमला : चुनावी परिणाम आफ्नो पक्षमा पार्न हरप्रयास गर्ने उम्मेदवारका रूपमा अग्रपंक्तिमा छन् ऋषि धमला। पूर्वपत्रकारसमेत रहेका धमला आम जनता पार्टीबाट रौतहट- ४ मा प्रत्यक्षतर्फका उम्मेदवार हुन्।
धमला कहिले स्थानीय होटलमा पसेर जुलेबी पकाउन खोज्छन् त कहिले काठ मिलमा पुगेर सिकर्मी बन्ने प्रयास। सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको भिडियोमा उनी काठ मिलमा पसेर हाते आरोले काठको टुक्रा चिर्न तम्सिएका देखिन्छन् तर आरो बाँगो जान थालेपछि असिनपसिन हुँदै उठ्छन्। अनि नजिकै रहेका एकजना युवा भनिरहेका छन्, ‘नेता हुनजस्तो कहाँ सजिलो छ र, काम गर्न त गाह्रो छ दाइ।’ धमलाले साइकल चढेको तस्बिर, भिडियो सामाजिक सञ्जालमा देखेपछि अर्को एकजनाले लेखेका छन्, ‘उहाँलाई दसैँमा मामाघर गएर रमाइलो गरेजस्तो भाको छ।’ चटपटे शैली मिसाएर मान्छे हँसाइरहेका छन् धमला।
धमलाको चटके शैलीलाई नुवाकोटका अर्का उम्मेदवार अच्युतम लामिछानेले पछ्याएका छन्। नुवाकोट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार बनेका लामिछाने गलामा फूलको माला र पछिल्तिर राष्ट्रिय झन्डा ओढेर भोट माग्दै गरेको भिडियोमा देखिन्छ। अनि सडकछेउमा मान्छे देख्नेबित्तिकै उनी परैबाट हात उठाउँदै पुग्छन्। ‘नझुक्किनुहोला, छोरो आयो नाति आयो’ भन्दै हात जोड्दै सडकमै लम्पसार परेर ढोग्छन्। उनको शैली प्रत्यक्ष देख्नेहरू अनौठो मानेर हेर्दैछन्। सामाजिक सञ्जालमा भिडियो हेर्नेहरूले चाहिँ नयाँ जोगीको संज्ञा दिएका छन्।
महावीर पुन : शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनको प्रचार शैली फरक छ। उनी फेसबुकमार्फत आफू फलानो ठाउँमा आउँदै गरेको जानकारी दिन्छन्। किताब पनि सँगै बोकेर पुग्छन्।
मान्छेको केही भीड जम्मा भएपछि भन्छन्, ‘भोट दिन मन लागे दिनू, मन नलागे नदिनू। मेरो किताब चाहिँ किनिदिनू।’ सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिर, भिडियोहरू हेर्दा उनको पक्षमा राम्रै माहोल छ तर उनी चुनावी उम्मेदवारभन्दा पनि किताब बेच्न हिँडेकोजस्तो देखिन्छन्।
सीधा र ठट्यौली शैलीमा बोल्ने महावीरको तरिका रोकच छ। चुनाव प्रचारसँगै किताब बेच्दै हिँडेपछि पुनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी पर्यो। उजुरी परेको थाहा पाएपछि महावीर झोक्किए। पुनले हाल किताब बेच्न छाडेका छन्।
प्रचण्ड : चुनावको सबैभन्दा प्रभावशाली उम्मेदवार हुन् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी जनयुद्धको उद्गमथलो रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। सत्ता र शक्तिबाट कहिल्यै नअघाएका प्रचण्ड यसपटक चुनाव जित्ने सुनिश्चित स्थान खोज्दै त्यहाँ पुगेका हुन्।
२०७९ सालमा गोरखा-२ बाट चुनाव लडेका प्रचण्डले त्यसअघि काठमाडौँ, सिरहा, चितवनबाट चुनाव जितेका थिए। चुनावका बेला बाहेक अरू बेला उनलाई भेट्न गाह्रै पर्ने गोरखाली मतदाता बताउँछन्। उनको चुनाव प्रचार शैली भड्किलो देखिन्छ। तहतहका सुरक्षा घेरा, चार्टर्ड विमानमा उडान र अघिपछि गाडीका ताँती हुन्छन्।
मतदाता रिझाउन बेलाबेला उनले पनि अनेक हर्कत गर्छन्। प्रचण्डले उम्मेदवारी दर्ता गरेको दिन मयूर नाचमा कम्मर मर्काए। यसअघि प्रचण्डको साथ छाडेर अर्कै पार्टी खोलेका जनार्दन शर्माले रुकुम पुग्दा यसरी मयूर नाच नाचेको देखिन्थ्यो।
रुकुम पूर्वमा प्रचण्ड त्यतिमा मात्रै रोकिएनन्, उनी जनयुद्धकालमा हिँडेको, बसेको भन्दै सुरक्षादस्तासहित भीरपाखा, खरबारीमा घुमिरहेका छन्। मर्निङवाक गर्न उनले छुटाएका छैनन्। जनयुद्धपछि शान्ति प्रक्रियामा आएर सार्वजनिक हुँदा ‘नेपाललाई सिंगापुर’ बनाउने अभिव्यक्ति दिएका उनी जनतासामु बोलेका कुरा कहिल्यै पूरा गर्न सक्दैनन्। त्यसैले उनी दोहोर्याएर त्यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न जाँदैनन् चुनाव हार्ने डरले। चुनाव जित्न चुनावीसभामा भावुक अभिव्यक्ति दिएर मत आकर्षिक गर्ने पनि प्रचण्डको अर्को फन्डा हो।
नरेन्द्र साह : क्यासिनो व्यवसायी नरेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्लाही-३ का उम्मेदवार बनेका छन्। निर्वाचन तय भएपछि पार्टी चहार्दै टिकट हत्याउने खुबीका साह गत चुनावमा पूर्वमाओवादीबाट सोही क्षेत्रका उम्मेदवार थिए। उनी नेकपा एमालेका हरि उप्रेतीसँग पराजित भएका थिए। त्यसअघि उनी स्वतन्त्र उम्मेदवार थिए। मत माग्ने क्रममा उनी जस्तोसुकै हर्कत गरेको पनि देखिन्छन्। मत माग्न घरघरमा पुग्ने क्रममा उनी रोएको फेसबुक पेजमा राखिएको भिडियोमा देखिन्छ।
माधव ढुंगेल : मतदाताको मन आकर्षित गर्न नेकपा एमालेबाट रामेछापको उम्मेदवार बनेका माधव ढुंगेलको स्टन्ट पनि कम छैन। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा ढुंगेलले पहिलो पटक टिकट पाएका हुन्। उनी पनि यतिबेला चुनावी क्षेत्रमा खटिएका छन्।
उनले मतदाता रिझाउन घरमै पुगेर मोही पारेका छन्। फूलाई किसान परिवारको सदस्य भएको संकेत दिन ढुंगेलले मोही पारे पनि सामाजिक सञ्जालमा भने विभिन्न प्रतिक्रिया आइरहेको छ।
‘नेताहरूको भोट माग्ने तरिका के यो ठिक हो? बरु विद्यालयको शौचालय सफा गरे हुन्थ्यो कि?’, जे होस् अघिपछि नदेखिए नि चुनावमा चाहिँ देखिने रहेछन् गाउँका नेता, कोट लगाएर मोही पारेको पहिलेचोटि देखेँ’ जस्ता प्रतिक्रिया छन्।
कुलमणि देवकोटा : नेकपा एमालेबाट सुर्खेत-२ का उम्मेदवार हुन् कुलमणि देवकोटा। एमाले सुर्खेतका जिल्ला अध्यक्षसमेत रहेका देवकोटा पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। चुनाव प्रचारप्रसारमा जुटिरहेका देवकोटाले मतदाता आकर्षित गर्न बाँझोबारी खने। अहिले उनी हाँसोको पात्र बनिरहेका छन्।
सुट लगाएर बारी खनेका देवकोटालाई कतिपयले ‘चटके’ को संज्ञा दिएका छन्। ‘जुनसुकै पार्टीको नेता होस् यो भोटका लागि देखावटी काम गरेर जनताको आँखामा छारो हाल्ने काम नगरियोस्। सकिन्छ भने किसानहरूलाई हाते ट्रयाक्टर प्रदान गरियोस्। मलजल बिउको प्रबन्ध मिलाइयोस्।
‘बाटोघाटो, स्कुल, अस्पतालको व्यवस्था गरी जनताको भलो हित हुने कामलाई पहिलो दर्जामा थाती राखेर आफ्नो भोट पार्टी र देशलाई उकालोतर्फ लैजाने प्रतिबद्धता लिएर कसम खाइयोस्। नाटक पनि कति आएको होला। यस्तो काम गर्ने मान्छे चुनाव नहुने बेलामा किन काम गर्न आउँदैनन्, अहिले कोदालोले खनेजस्तो गर्छ, पछि त्यही कोदालोले जनता कुट्छ, ट्वाइलेट पनि सफा गर्न लगाउनु नि। जनताले नौटंकी पत्याइदिनुपर्ने,’ जस्ता प्रतिक्रियाहरू देवकोटाको उक्त तस्बिरमा छन्।
रिमा विश्वकर्मा : चुनावी भाषणपछि ट्रोल बनेकी छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रिमा विश्वकर्मा। कलाकारिताबाट राजनीतिमा लागेकी विश्वकर्मा रास्वपाबाट समानुपातिक उम्मेदवार हुन्।
स्याङ्जामा आयोजित पार्टीको कार्यक्रममा उनले भनिन्, ‘म यसै ठाउँबाट बाचा गर्न चाहन्छु, स्याङ्जाको क्षेत्र नम्बर १ र २ बाट तपाईँहरूले हामीलाई बहुमतका साथ विजयी गराउनुभयो पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालनेद्र शाहलाई स्याङ्जामा ल्याउने बाचा अहिले नै गरेँ यहाँहरूलाई।’
शनिबार अर्जुनचौपारीमा पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा भनेकी थिइन्। उनको उक्त भनाइपछि उनी सामाजिक सञ्जालमा हाँसोको पात्र बनेकी छन्। ‘कति ठूलो बाचा हो, ओख्खो नि, कस्ता दिन आए नेपालीका, हेर्नलाई बहुमत दिनुपर्ने, कठै यिनका एजेन्डा! के बोलेको? कति सतही कुरा हो? नेता ल्याउँछु, तपाईँको घरमा भात खुवाउँछु जस्ता कुरा चुनावी एजेन्डा हुन् र?’ जस्ता प्रतिक्रिया आएका छन्।
आशिका तामाङ : सामाजिक अभियन्ताको परिचय बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर धादिङ क्षेत्र नम्बर १ को उम्मेदवार बनेकी आशिका तामाङ चुनाव प्रचार शैलीका कारण चर्चामा छिन्। मतदाताको मत आफूतिर तान्न घरदैलो अभियानमा रहेकी उनले कुखुरीको भालेसँग मत मागेको भिडियो भाइरल छ।
घरदैलो अभियानअन्तर्गत उनी धादिङको बेनीघाट रोराङ पुग्छिन्। सेतो भाले काखमा लिँदै आशिकाले भालेलाई भन्छिन्, ‘घण्टी बजाइदेऊ भाले। टिङरिङ्ग टिङरिङ्ग घण्टी बजाइदेउ भाले।’
आशिकाको बोली यतिमै रोकिँदैन। भालेलाई आशिका फेरि भन्छिन्, ‘घण्टी बजाएर भालले उद्घाटन गरेको छ। दिदीलाई भोट हाल है भाले।’ भालेको घाँटी समाउँदै भालेलाई चुनाव चिह्न घण्टी है भनेको दृश्य बडो रोचक छ। ‘है बुझ्यो नि, कत्ति हेन्सम भाले। रौँहरू एल्लोएल्लो कलरको छ।’ त्यतिमात्र होइन आशिकालाई देखेर मतदाता धुरुधुरु रोएको भिडियो पनि भाइरल बनेको छ।
यी त केही प्रतिनिधिमूलक घटना हुन्। गाउँ पसेका उम्मेदवारहरूका यस्ता प्रचार शैली अनेक हुन सक्छन्। उम्मेदवारहरूका यी गतिविधिले निर्वाचनलाई उत्सवमय बनाएका छन्। तर कतिपय उम्मेदवारलाई प्रतिनिधिसभा सदस्यको पदीय जिम्मेवारीबारे जानकारी नै नभएको भनेर आलोचना भइरहेको छ।




