संविधानसभा बैठकमा कुर्सी फ्याँक्ने उमेशलाई उपेन्द्रले गरे पार्टीमा स्वागत

हिमाल प्रेस २२ पुष २०८२ ११:१०
16
SHARES
संविधानसभा बैठकमा कुर्सी फ्याँक्ने उमेशलाई उपेन्द्रले गरे पार्टीमा स्वागत

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

सप्तरी निवासी यादवलाई सोमबार बिहान काठमाडौँको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले औपचारिक रूपमा पार्टीमा स्वागत गरे।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा जसपाका महासचिव लालबाबु राउत, अर्का महासचिव रामकुमार शर्मा, केही समयअघि अशोक राई नेतृत्वको जसपाबाट जसपा नेपालमा प्रवेश गरेकी नेतृ रेणु यादवलगायत नेताहरूको उपस्थिति थियो।

उमेश यादव दश वर्षे सशस्त्र जनयुद्धमा सहभागी पूर्वमाओवादी लडाकु हुन्। जनयुद्धका क्रममा उनी सप्तरी जिल्लामा जनसरकार प्रमुखसमेत बनेका थिए। २०६९ सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट सप्तरी–३ बाट निर्वाचित यादव त्यसबेला प्रचण्ड नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बनेका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। २०७९ सालको निर्वाचनमा सप्तरी–३ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका यादव पुनः पराजित भए। त्यही वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी भएका थिए।

आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षा रहेको यादवले बताएका छन्। यसैबीच, उमेश यादवको राजनीतिक जीवनसँग जोडिएको एउटा चर्चित प्रसंग पनि बारम्बार स्मरण गरिँदै आएको छ।

२०७१ साल माघ ५ गते संविधानका विवादित विषयहरूमा प्रश्नावली तयार गर्न गठन गरिएको समितिबारे छलफल गर्न मध्यरातमा बोलाइएको संविधानसभा बैठक तत्कालीन विपक्षी मोर्चा एमाओवादीसहितका दलको विरोधका कारण अवरुद्ध भएको थियो। सोही बैठकका क्रममा एमाओवादी सभासद् यादवले संविधानसभाको कुर्सी उठाएर बजारे (फ्याँक्ने) को दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

प्रकाशित: २२ पुष २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast