काठमाडौँ- यू १९ महिला साफ च्याम्पियनसिप फुटबल शनिबार सुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन खेल बंगलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको प्रिम्याच कन्फ्रेन्समा चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।
नेपाली यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताए । दक्षिण एसियाली फुटबल महासंघ साफको समन्वय तथा अखिल नेपाल फुटबल महासंघ एन्फाको आयोजनामा हुने प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।



