फाइल तस्बिर।
युरोप र अमेरिका सम्बन्धमा तनाव बढ्दै गएको छ। तनाव बढ्नुको कारण अमेरिकाको ग्रिनल्यान्डमाथि कब्जा गर्ने इच्छा हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जसरी पनि ग्रिनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउन लागिपरेका छन्। फ्रान्स र जर्मनीले ग्रिनल्यान्डमा आफ्ना सेनाहरू तैनाथ गरेका छन्। अमेरिका र युरोपबीच ग्रिनल्यान्डलाई लिएर यसरी तनाव कायम रह्यो भने नाटोको भविष्य खतरामा पर्न सक्ने अनुमान गरिएको छ।
हालै बाडेन-वुर्टेमबर्गमा आयोजित एक स्थानीय चुनावी कार्यक्रममा जर्मन चान्सलर फ्रिडरस मैर्त्सले युरोप अब पूर्ण रूपमा अमेरिकामाथि निर्भर रहेर अगाडि बढ्न नसक्ने बताए। उनको यस्तो धारणालाई ग्रिनल्यान्डप्रति अमेरिकाको हालैको कदमसँग जोडेर हेरिएको छ। युरोपका विज्ञहरू अमेरिका अब नियममा आधारित वैश्विक व्यवस्थाबाट हटेर शक्तिमा आधारित मोडलतर्फ अघि बढिरहेको मान्दछन्। यस्तो अवस्थामा मैर्त्सले युरोपले समयमै आफूलाई बलियो बनाउँदैन भने बदलिँदो वैश्विक संरचनामा उसको स्थान कमजोर हुन सक्ने चेतावनी दिएका छन्।
ग्रिनल्यान्ड अधिग्रहणमा बाधा पुर्याउनेहरूमाथि ट्यारिफ लगाउने ट्रम्पको धम्की
आन्ध्र महासागर (अटलान्टिक) पारि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिलकुलै फरक सन्देश दिएका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा उनले ग्रिनल्यान्ड अधिग्रहणको योजनालाई समर्थन नगर्ने देशहरूमाथि ट्यारिफ लगाउन सक्ने धम्की दिएका। ट्रम्पका अनुसार डेनमार्कको स्वायत्त क्षेत्र रहेको ग्रिनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै आवश्यक छ।
ट्रम्पले यसअघि पनि ग्रिनल्यान्डमाथि आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्। यस पटक भने उनले सीधै सैन्य विकल्पको संकेत दिएर तनाव थप बढाइदिएका छन्। नाटोले यस मुद्दामा सहयोग गरेन भने अमेरिकाले यसमा आफ्नो भूमिकामाथि पुनर्विचार गर्न सक्ने उनको भनाइ छ।
यद्यपि, युरोपेली नाटो देशहरूले हालैका दिनहरूमा डेनमार्क र ग्रिनल्यान्डको समर्थनमा सैनिकहरू पठाएका छन्।
अमेरिकासँग वार्ता जारी
डेनमार्क र ग्रिनल्यान्डका परराष्टमन्त्रीहरूले वासिङ्टनमा वार्ता जारी राखेका छन्। वार्तामा अमेरिका, डेनमार्क र ग्रिनल्यान्ड तीनवटै पक्ष एक कार्यदल बनाउन सहमत भएका छन्। अर्कोतर्फ युरोपेली संघका देशहरूले ग्रिनल्यान्डमा आफ्ना सेनाहरूको तैनाथी बढाइरहेका छन्। ट्रम्पले युरोपेली सैनिकहरूको तैनाथीले आफ्नो लक्ष्यमा असर नपर्ने स्पष्ट पारेका छन्।
मैर्त्सको धारणा र ट्रम्पका धम्कीहरूलाई सँगै राखेर हेर्दा चित्र अझ स्पष्ट हुन्छ। युरोपलाई लाग्दैछ अब ऊ यस्तो युगमा प्रवेश गर्दैछ, जहाँ अमेरिकाका प्राथमिकताहरू बदलिरहेका छन् र युरोपले आफ्नो रणनीतिक दिशा आफैँ तय गर्नुपर्नेछ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका आफ्ना स्वार्थका लागि सहयोगी राष्ट्रहरूमाथि पनि आर्थिक र सैन्य दबाब प्रयोग गर्न हिचकिचाइरहेको छैन।
बदलिँदो भूराजनीतिक परिस्थितिका बीच जर्मन चान्सलर मैर्त्सले जर्मनीभित्र पनि आत्ममन्थन गर्नुपर्ने कुरा बताएका छन्। मैर्त्सका अनुसार देशको औद्योगिक आधारलाई बचाई राख्न जर्मनहरूले आउने वर्षमा धेरै र लामो समयसम्म काम गर्नुपर्नेछ। बलियो अर्थव्यवस्था बिना जर्मनीले न त राजनीतिक चुनौतीहरूको सामना गर्न सक्छ, न त सामाजिक समस्याहरूको नै भन्ने उनको तर्क थियो।
भूराजनीतिको यो नयाँ रेखाले युरोप, अमेरिका र आर्कटिक क्षेत्रको भविष्यमा दूरगामी असर पार्न सक्छ। पश्चिमी सहयोगीहरूबीच आगामी दिनमा तनाव अझै बढ्न सक्ने संकेतहरू देखिएका छन्। एएफपीको सहयोगमा



