अमेरिकी सेनाको आक्रमणपछि शनिबार भेनेजुएलाको राजधानी काराकासस्थित कार्लोटा विमानस्थलमा उडिरहेको धुवाँ। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भएको सैन्य कारबाहीलाई रवाफिलो शैलीमा वर्णन गरेका छन्। उनले यसलाई अत्यधिक सैन्य शक्ति र एउटा सानदार आक्रमणको संज्ञा दिएका छन्।
भेनेजुएलामाथि भएको सैन्य कारबाहीका सम्बन्धमा शनिबार पत्रकारसँगकाे कुराकानीमा ट्रम्पले कारबाहीलाई अमेरिकी इतिहासमै अमेरिकी सैन्य शक्ति र दक्षताको सबैभन्दा आश्चर्यजनक, प्रभावकारी र शक्तिशाली प्रदर्शनहरूमध्ये एक रहेको दाबी गरे। उक्त कारबाहीमा कुनै पनि अमेरिकी सैन्य कर्मचारी मारिएका छैनन्।
ट्रम्पको भनाइअनुसार कुनै पनि अमेरिकी सैन्य उपकरणहरू पनि नष्ट भएनन्। साथै निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गर्ने मुख्य उद्देश्य पनि पूरा भएको छ।
अमेरिकाले शनिबार बिहानै आश्चर्यजनक सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर देशबाहिर लगेको छ। यो कारबाहीले एक बहालवाला नेतालाई पदबाट हटाएको छ। समाचार संस्था एपीका अनुसार यो घटना तेलमा धनी दक्षिण अमेरिकी राष्ट्रमाथि ट्रम्प प्रशासनले महिनौँदेखि बढाउँदै लगेको दबाबको चरम उत्कर्ष हो।
एक सैन्य आधार इलाकामा रहेको आफ्नै घरबाट रातारात नियन्त्रणमा लिइएका मादुरो र उनकी पत्नीलाई अमेरिकी युद्धपोतमा राखेर न्युयोर्कतर्फ लगिएको समाचारमा उल्लेख छ। जहाँ उनीहरूले फौजदारी अभियोगहरूको सामना गर्नेछन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले भेनेजुएला चलाउने योजना बनाएको बताएका छन्। उनले अमेरिकी उपस्थिति त्यहाँ पहिल्यै भइसकेको दाबीसमेत गरे।
‘हामीले सुरक्षित, उचित र विवेकपूर्ण रूपमा सत्ता हस्तान्तरण नगरेसम्म यो देश चलाउनेछौँ’, ट्रम्पले पत्रकार सम्मेलनमा भने।
ट्रम्पले अमेरिकी सेनाद्वारा भेनेजुयलामाथि गरिएको कारबाही दोस्रो विश्वयुद्धयता मानिसहरूले नदेखेको आक्रमण रहेको दाबी गरे। उनले भने, ‘अमेरिकाले हिजो जे उपलब्धि हासिल गर्यो, त्यो अरू कुनै पनि राष्ट्रले गर्न सक्दैन।’
मादुरो सरकारले संयुक्त राज्य अमेरिकामाथि नागरिक र सैन्य शिविरहरूमा आक्रमण गरेको आरोप लगाउँदै यसलाई साम्राज्यवादी हमला भनेको छ र आफ्ना नागरिकहरूलाई सडकमा उत्रिन आग्रह गरेको छ।
करिब ३० मिनेटभन्दा कम समय चलेको उक्त आक्रमणका क्रममा कम्तीमा सातवटा ठूला विस्फोट भएका थिए। जसका कारण मानिसहरू त्रसित हुँदै सडकमा निस्किए भने कतिपयले आफूले देखेका र सुनेका कुराहरू सामाजिक सञ्जालमा साझा गरे।
उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजका अनुसार केही भेनेजुएलाली नागरिक र सेनाका सदस्यहरू मारिएका छन्। यद्यपि उनले मृतकको यकिन संख्या भने खुलाइनन्। ट्रम्पले भेनेजुएलामा केही अमेरिकी सेना घाइते भएको तर कोही पनि नमारिएको दाबी गरेका छन्।
काराकास र नाम नखुलेको एक तटीय सहरबाट प्राप्त भिडियोहरूमा रातको आकाशमा भइरहेका निरन्तरका विस्फोटहरूले उज्यालो देखिएको र धुवाँको बादलले दृश्य ढाकेको देखिन्थ्यो। अन्य फुटेजहरूमा राजमार्गमा गाडीहरू गुडिरहेका र पछाडिका पहाडहरूमा विस्फोट भइरहेको देख्न सकिन्छ।
भेनेजुएलाको सत्ताधारी दलका नेता नहुम फर्नान्डेजले एपीलाई बताएअनुसार मादुरो र फ्लोरेस (उनकी पत्नी) पक्राउ पर्दा उनीहरू फोर्ट ट्युना सैन्य परिसरभित्र रहेको आफ्नै घरमा थिए।
‘उनीहरूले त्यहीँ बमबारी गरे,’ उनले भने, ‘त्यहीँबाट उनीहरूले देशका राष्ट्रपति र प्रथम महिलाको अपहरण गरे।’
भेनेजुएलाको कानुनअनुसार मादुरोपछि रोड्रिग्वेजले सत्ता सम्हाल्नुपर्ने हुन्छ। यद्यपि उनी सत्तामा आएको कुनै आधिकारिक पुष्टि भएको छैन तर उनले आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै मादुरो र उनकी पत्नी जीवितै रहेको प्रमाण माग गरेकी छिन्।
यो आक्रमण ट्रम्प प्रशासनले भेनेजुएलाका नेतामाथि महिनौंदेखि चलाउँदै आएको दबाब अभियानको परिणाम हो। यसमा दक्षिण अमेरिकाको समुद्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र पूर्वी प्रशान्त तथा क्यारिबियन क्षेत्रमा लागूऔषध ओसारपसारको आरोप लागेका डुंगाहरूमाथि गरिएका आक्रमणहरू समावेश थिए। गत साता सीआईएले भेनेजुएलाका लागूऔषध तस्करहरूले प्रयोग गर्ने गरेको आशंका गरिएको एक डकिङ क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो।





