फाइल तस्बिर
काठमाडौँ- भारतले प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०२५ मा आठपटक कुराकानी भएको जनाएको छ।
राष्ट्रपति ट्रम्पसँग भारतीय प्रधानमन्त्रीले प्रत्यक्ष कुराकानी नगर्दा भारत–अमेरिका व्यापार सम्झौता हुन नसकेको अमेरिकी वाणिज्य सचिव हावर्ड लटनिकको दाबीलाई झुटो भन्दै भारतले यस्तो बताएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच सन् २०२५ मा आठपटक कुराकानी भएको बताए।
विदेश मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफिङमा उनले भने,‘हाम्रा प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीच २०२५ को अवधिमा आठपटक फोनमार्फत संवाद भएको छ, जसमा दुवै नेताहरूले आपसी साझेदारीबारे छलफल गरेका छन्।’
अमेरिकी वाणिज्य सचिवले गरेका टिप्पणी आफूहरूले हेरेको उनले बताए।
‘हामीले यी टिप्पणीहरू देखेका छौँ। भारत र अमेरिका गत वर्ष फेब्रुअरी १३ देखि नै द्विपक्षीय वार्ता गर्न प्रतिबद्ध रहेका छन्,’ उनले भने,‘त्यसयता दुवै पक्षले सन्तुलित र पारस्परिक रुपमा लाभदायक व्यापार सम्झौतामा पुग्न कैयौँ चरणका वार्ताहरू भएका छन्। धेरैपटक हामी सम्झौता नजिक पनि पुगेका छौँ।’
अमेरेकी वाणिज्य सचिवले गरेका टिप्पणीहरू सत्य नभएको भन्दै उनले दुवै मुलुकबीच व्यापार सम्झौता हुने विश्वास व्यक्त गरे।
रूसबाट तेल खरिद गर्ने देशहरूमाथि पाँच सय प्रतिशत ट्यापरिफ लगाउने अमेरिकाको नयाँ विधेयकबारे पनि प्रवक्ता जयसवालले प्रतिक्रिया दिएका छन्।
‘प्रस्तावित विधेयकबारे हामीलाई जानकारी छ, यस विषयमा ध्यान दिइँदैछ,’ उनले भने।



