निकोलस मादुरो ११ अप्रिल २०१३ मा भेनेजुएलाको काराकासस्थित बोलिभार एभेन्युमा आयोजित चुनावी सभामा सहभागी हुन पुग्दा समर्थकहरूलाई अभिवादन गर्दै। फाइल तस्बिर : एपी/रासस
काठमाडौँ- धेरै महिनादेखि अमेरिकी जासुसहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको हरेक गतिविधिमा कडा निगरानी राखिरहेका थिए। यो एउटा सानो टोली थियो, जसमा भेनेजुएला सरकारभित्रकै एक जना स्रोत पनि सामेल थियो।
शीर्ष सैन्य अधिकारीहरूका अनुसार ६३ वर्षीय मादुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे र यहाँसम्म कि ‘उनका घरपालुवा जनावरहरू’ सम्म यो टोलीले नजर राखिरहेको थियो।
त्यसपछि डिसेम्बर प्रारम्भमा ‘अपरेशन एब्सोल्युट रिजल्भ’ नामक एउटा मिसनलाई अमेरिकाले अन्तिम रूपम दिइयो। यो महिनौँको विस्तृत योजना र अभ्यासको परिणाम थियो, जसमा अमेरिकाका सैनिकहरूले राजधानी काराकासमा रहेको मदुरोको सुरक्षित आवासको नक्कली ढाँचा बनाएर प्रवेश गर्ने बाटाहरूबाट छिर्ने अभ्यास गरेका थिए।
यो योजना पूर्णरूपमा गोप्य राखिएको थियो। अमेरिकी कांग्रेसलाई समेत यसबारे कुनै जानकारी दिइएको थिएन। यहाँसम्म कि यसबारे उनीहरूसँग सल्लाहसमेत लिइएन। सबथोकको सटिक तयारी भएपछि शीर्ष सैन्य अधिकारीहरूले सही समयको पर्खाइ गरिरहेका थिए। यो अपरेसन शीतयुद्धपछि ल्याटिन अमेरिकामा अमेरिकाको एक असाधारण सैन्य हस्तक्षेप थियो।
सुरक्षाबलले भेनेजुएलामाथि अचानक आक्रमण गर्न चाहेको शनिबार अधिकारीहरूले बताए। चार दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएसँगै अपरेसन सुरू गर्ने कोसिस भएको थियो। तर, पछि राम्रो मौसम र कम बादल लाग्ने समयको प्रतिक्षा गर्ने निर्णय गरियो।
अमेरिकाको सैन्य अधिकारी जनरल ड्यान केनले शनिबार पत्रकार सम्मेलनमा भने,‘क्रिसमस र नयाँ वर्षको समयमा अमेरिकी सेनाका महिला र पुरुषहरू हप्तौँसम्म पूर्ण तयारीका साथ बसिरहे। उनीहरूलाई राष्ट्रपतिको निर्देशनको प्रतिक्षा थियो।’
‘शुभकामना, तपाईँलाई सफलता मिलोस्’
अन्ततः ट्रम्पले स्थानीय समयअनुसार शुक्रबार राति १० बजेर ४६ मिनेटमा मिसन सुरू गर्न आदेश दिए। अपरेसनबारे ट्रम्पले भने, ‘हामी यसलाई चार दिन पहिले, तीन दिन पहिले वा दुई दिन पहिले गर्नेवाला थियौँ। फेरि अचानक परिस्थिति अनुकूल भयो र हामीले भन्यौँ, जाऊ, गर।’
जनरल केनका अनुसार ट्रम्पले शुभकामना दिँदै मिसन सुरू गर्न निर्देशन दिएका थिए।
ट्रम्पको आदेश मध्यरातभन्दा केही समयअघि आएको थियो, जसले गर्दा सेनालाई अँध्यारोमा काम गर्नका लागि लगभग पूरै रातको समय मिल्यो। यसपछि जे भयो, त्यसले वासिङ्टन र विश्वभरका मानिसहरूलाई चकित बनायो। हावा, जमिन र समुद्रमा चलेको यो अपरेसन दुई घन्टा २० मिनेटमा पूरा भयो।
लगत्तै धेरै क्षेत्रीय शक्तिहरूले अमेरिकी कदमको निन्दा गरे। ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भेनेजुएलाका नेतालाई हिंसक तरिकाले नियन्त्रणमा लिनु पूरै अन्तर्राष्ट्रिय समुदायका लागि जोखिमपूर्ण उदाहरण रहेको बताए।
ट्रम्पले ह्वाइट हाउसको ‘सिचुएसन रुम’ बाट यो मिसनको निगरानी गरेनन्। यसको सट्टा उनी फ्लोरिडाको पामबीचमा रहेको आफ्नो ‘मार–ए–लागो’ क्लबमा सल्लाहकारहरूसँग उपस्थित थिए। त्यहाँ उनले सीआईए निर्देशक जोन र्याटक्लिफ र विदेशमन्त्री मार्को रुबियोसँग बसेर अभियानको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए।
ट्रम्पले शनिबार भने,‘यो हेर्नु अविश्वसनीय थियो। यदि तपाईँले देख्नुभएको भए के भयो, मेरो मतलब म यसलाई साच्चै एउटा टिभी शो जस्तै हेरिरहेको थिएँ। हाम्रो सैन्य बलले कमालको काम गरे।’
दशकौँपछि ठूलो सैन्य तैनाथी
गत केही महिनामा हजारौँ अमेरिकी सैनिकहरू यस क्षेत्रमा तैथान गरिएका थिए। एउटा विमानवाहक जहाज र दर्जनौँ युद्धपोतहरू दशकौँपछि भेनेजुएला क्षेत्रमा तैनाथ गरिएको थियो। राष्ट्रपति ट्रम्पले मादुरोमाथि लागुऔषध तस्करी र ‘नार्को–टेरोरिज्म’ को आरोप लगाएका थिए। अमेरिकाले लागुऔषध ओसारपोसार गर्ने भनिएका दर्जनौँ डुंगाहरू यस क्षेत्रमा नष्ट गरेको थियो।
तर ‘अपरेसन एब्सोल्युट रिजल्भ’ को सुरूवाती संकेतहरू आकाशमा देखिए। अमेरिकी अधिकारीहरूका अनुसार बमवर्षक, लडाकु विमान र निगरानी विमानहरूसहित १५० भन्दा बढी विमानहरू रातभरिमा तैनाथ गरिएका थिए।
स्थानीय समयअनुसार करिब बिहान २ बजे काराकासमा ठूलो विस्फोटहरूको आवाज सुनियो र सहरमाथि धुँवाको मुस्लो उडिरहेको देखियो। अधिकारीहरूका अनुसार केही हवाई आक्रमणहरूमा एयर डिफेन्स सिस्टम र अन्य सैन्य स्थलहरूलाई निशाना बनाइएको थियो।
मिसन सुरू हुनुभन्दा पहिले अमेरिकाले काराकासको बिजुली काटेको ट्रम्पले बताए। यद्यपि यो कसरी गरियो भन्नेबारे उनले खुलाएनन्। उनले भने,‘हाम्रो एउटा विशेष विशेषज्ञताका कारण काराकासको बिजुली धेरै हदसम्म बन्द गरिएको थियो। त्यहाँ अँध्यारो थियो।’
‘उनीहरूलाई थाहा थियो हामी आउँदैछौँ’
काराकासको चारैतिर आक्रमणको आवाज गुञ्जिरहेको बेला अमेरिकी सैनिकहरू सहरमा प्रवेश गरिरहेका थिए। यो कार्यमा अमेरिकी सेनाका शीर्ष विशेष युनिट एलिट डेल्टा फोर्सका सदस्यहरू पनि सामेल रहेको बताइएको छ।
आधुनिक हतियारका साथै ‘ब्लोटर्च’ बोकेर उनीहरू काराकास प्रवेश गरेका थिए। आवश्यक परे मादुरोको सेफ हाउसको ढोका काट्ने उद्देश्यले सुरक्षा बलले ‘ब्लोटर्च’ बोकेका थिए।
जनरल केनका अनुसार स्थानीय समयअनुसार २ः०१ बजे आक्रमण सुरू भएको केही बेरमै सैनिकहरू मादुरो भएको ठाउँमा पुगे। ट्रम्पले उक्त सुरक्षित ठेगानालाई काराकासको बीचमा अवस्थित एउटा भार सुरक्षा भएको सैन्य ‘किला’ बताए।
उनले भने,‘उनीहरू पूर्ण तयारीका साथ बसिरहेका थिए र हाम्रो पर्र्खाइमा थिए। उनीहरूलाई थाहा थियो हामी आउँदैछौँ।’
सैनिकहरू पुग्ने बित्तिकै उनीहरूमाथि गोलीबारी सुरू भयो र एउटा अमेरिकी हेलिकप्टरलाई पनि निशाना बनाइयो। यद्यपि त्यो उडान भर्न सफल भयो।
जनलर केनले भने,‘मादुरोलाई पक्रने टोली उनको आवास परिसरमा उत्रियो र तीव्रताका साथ अगाडि बढ्यो।’
राष्ट्रपति ट्रम्पले अमेरिकी सैन्य बल असम्भव जस्तै भएको ठाउँमा पुगेर मादुरोलाई नियन्त्रणमा लिएको बताए। उनले भने,‘उनीहरू सीधै भित्र छिरे र ती ठाउँहरूमा पनि छिरे जहाँ पुग्न सजिलो थिएन, जस्तै स्टीलका ढोकाहरू, जो विशेष गरी यसै कारणले लगाइएका थिए।’ यस अपरेसनमा मादुरोकी पत्नी सिलिया फ्लोरेसलाई पनि पक्राउ गरियो।
मादुरोले पछिल्लो समय क्युबाली अंगरक्षकहरूमाथि बढी निर्भरता बढाएका थिए। ट्रम्पका अनुसार अमेरिकी सैनिक मादुरोको परिसरमा प्रवेश गरिरहेका बेला उनी एक सुरक्षित कोठातर्फ भाग्ने कोसिस गरिरहेका थिए।
उनले भने, ‘उनी एक सुरक्षित ठाउँसम्म पुग्ने कोसिस गरिरहेका थिए। यद्यपि त्यो सुरक्षित हुँदैनथ्यो, किनभने हामी ४७ सेकेन्डमा त्यो ढोका उडादिन्थ्यौँ। उनी ढोकासम्म पुगेका थिए। तर, त्यसलाई बन्द गर्न सकेनन्। उनलाई यति छिटो घेरियो कि उनी त्यो कोठामा छिर्न पाएनन्।’
गिरफ्तारीको विरोध भएको भए के अमेरिकाले मादुरोलाई मार्न सक्थ्यो भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने,‘त्यस्तो हुन सक्थ्यो।’
एक दुई जना घाइते भए पनि कुनै पनि सैनिकको मृत्यु नभएको ट्रम्पले बताए। अर्कोतर्फ भेनेजुएलाका अधिकारीहरूले हालसम्म कुनै पनि मृत्युको पुष्टि गरेका छैनन्।
यसअघि अमेरिकाले मादुरोलाई पक्राउ गर्न सहयोग पुर्याउनेलाई पाँच करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो। तर, शनिबार बिहान स्थानीय समयअुनसार ४ : २० बजे मादुरो र उनकी पत्नी अमेरिकाको नियन्त्रणमा थिए। उनीहरूमाथि आपराधिक मुद्दा चल्ने अमेरिकाले जनाएको छ।
अपरेसन सकिएको करिब एक घन्टापछि ट्रम्पले पत्रकार सम्मेलन गरेर विश्वलाई जानकारी गराएका थिए। (बीबीसीको सहयोगमा)



