निर्वाचन आयोगले विधानविपरित निर्णय गरे देशभर आन्दोलन हुन्छ : खड्का

हिमाल प्रेस २ माघ २०८२ १५:४६ | Friday, January 16, 2026
24
SHARES
निर्वाचन आयोगले विधानविपरित निर्णय गरे देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई क्षति पुर्‍याउने गरी विशेष महाधिवेशन भएको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।

गगन थापा र विश्वप्रकाश शर्माले ‘अवैधानिक भेला’ गरेर त्यसलाई विशेष महाधिवेशन भनेको खड्काले बताए। केन्द्रीय कार्य समितिले मात्रै विशेष महाधिवेशन बोलाउन सक्ने विधानको व्यवस्था रहेको उनको भनाइ छ।

‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्छन्, तर, बोलाउने भनेको केन्द्रीय समितिले हो, कार्यविधि पनि केन्द्रीय कार्यसमितिले बनाउने हो,’ उनले भने,‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन विकल्पमा राखेकोले हामी नियमित महाधिवेशनतर्फ अघि बढ्यौँ। यो अवस्थामा विशेष महाधिवेशनको औचित्य थिएन।’

कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरित अन्यथा निर्णय गरे देशभर आन्दोलन हुने बताए। उनले केन्द्रदेखि वडासम्म चार तारे झन्डा र रूख अंकित झन्डासहित आन्दोलन हुने जिकिर गरे।

‘हामी निर्वाचन आयोगलाई भन्न चाहन्छौँ–नेपाली कांग्रेसको विधान, मुलुकको संविधान, निर्वाचन ऐनअनुसारभन्दा तलमाथि भएर निर्वाचन आयोगले षडयन्त्र वा दबाबमा परेर नेपाली कांग्रेसको विधानविपरित अन्यथा निर्णय गर्‍यो भने नेपाली कांग्रेसले देशभरि आन्दोलन गर्नेबाहेक विकल्प हुने छैन,’ खड्काले भने।

उनले महामन्त्रीहरूले प्रतिनिधिहरूलाई झुटो आश्वासन दिएर विधानविपरित विशेष महाधिवेशन गरेको आरोप लगाए। उनले महामन्त्रीहरूले अनेकौँ भ्रम फैलाएको आरोप लगाए।

प्रकाशित: २ माघ २०८२ १५:४६ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast