कांग्रेसका पाँच प्रदेशका सभापतिहरूले भने – विशेष महाधिवेशनको औचित्य सकियो

हिमाल प्रेस २१ पुष २०८२ १७:५६
20
SHARES
कांग्रेसका पाँच प्रदेशका सभापतिहरूले भने – विशेष महाधिवेशनको औचित्य सकियो

काठमाडौँ- नेपाली कांग्रेसका पाँच प्रदेशका सभापतिहरूले विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन्। सोमबार संयुक्त वक्तव्य निकालेर उनीहरूले यस्तो बताएका हुन्।

कोशी प्रदेशका सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानिया, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले संयुक्त वक्तव्य निकालेर नियमित महाधिवेशनतर्फ केन्द्रित हुन आह्वान गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको निर्णयअनुसार आगामी वैशाख २८–३१ सम्म नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यसअघि विशेष महाधिवेशनको औचित्य समाप्त भएको उनीहरूले बताएका छन्।

पाँचै प्रदेशका सभापतिहरूले देशभरका कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न आह्वान गरेका छन्।

यसअघि पुस २६–२८ गतेसम्म १५ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न हुन नसकेको उनीहरूको भनाइ छ।

‘महाधिवेशनपूर्व अनिवार्य रुपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न भई केन्द्रीय समितिमार्फत केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउने कार्य हुन नसकेको कारण निर्धारित कार्यतालिका अनुसार पुस २६–२८ गते महाधिवेशन हुनसक्ने अवस्था रहेन,’ विज्ञप्तिमा भनिएको छ।

आइतबार सभापति शेरबहादुर देउवाको महारजगञ्जस्थित निवासमा बसेको संस्थापन पक्षीय नेताहरूको बैठकले पनि नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको भन्दै विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको थियो।

क्रियाशील सदस्यता नटुंगिएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुसमा हुने भनिएको महाधिवेशन सारेर वैशाख २८ देखि ३१ गतेसम्म सम्पन्न गर्ने बहुमतले निर्णय गरेको थियो।

वैशाखमा महाधिवेशन गर्ने नयाँ कार्यतालिकामाथि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच जना नेताले फरकमत राख्दै विशेष महाधिवेशन गरेरै छाड्ने आफ्नो निष्कर्ष सुनाएका थिए।

उनीहरूले पुस २७–२८ गत काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने आह्वान गरेका छन्। विशेष महाधिवेशन पक्षधर नेताहरूले यो मितिमा काठमाडौँ आउन देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई आह्वानसमेत गरेका छन्।

सोमबार विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुनः स्मरणपत्र बुझाएका छन्। यद्यपि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महाधिवेशनको विषयले प्रवेश पाएन। बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा मात्र छलफल भएको थियो।

विशेष र नियमितको विवादका कारण कांग्रेसको १५ औँ महाधिवेशन पेचिलो बन्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast