पुरानो मानसिकताले देश चल्दैन, नयाँ र युवा आउनुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस २ माघ २०८२ १६:०५
24
SHARES
पुरानो मानसिकताले देश चल्दैन, नयाँ र युवा आउनुपर्छ : प्रधानमन्त्री तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले पुरानो मानसिकताले अब देश नचल्ने भन्दै युवाहरू नेतृत्वमा आउनुपर्ने बताएकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आउँदो चुनावमा नयाँ र युवा आउनुपर्ने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले पुरानो सोच र शैलीले अब देश चल्न नसक्ने बताइन्।

‘मुलुक चुनवामा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,’ उनले भनिन्,‘भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यो अवस्था दोहोरिनु हुँदैन। युवाको आकांक्षाअनुरूप हामी चल्नुपर्छ। तपाईँहरू पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुस्। पुरानो मानसिकताले अब देश चल्दैन। पुरानो सोच र शैलीले पनि चल्दैन। अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ। युवाको भावनाअनुसार शासन चल्नुपर्छ।’

उनले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखिन्। कार्कीले भनिन्,‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरूवात चुनावबाटै हुनुपर्छ। मतदाता पनि यसमा चनाखो बन्नुपर्छ।’

प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन्।

भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक(सामाजिक अवस्थालगायतका विषयमा चर्चा भएको थियो।

घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ।

साथै घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराए।

प्रकाशित: २ माघ २०८२ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast