प्रसंग विगतका वर्षहरूमा धर्म र जातीयताका नाममा जुन माथापच्ची चलाइयो त्यो बेकार र तर्कहीन थियो। राजनीतिक अभीष्ट सिद्धि र सामाजिक सद्भाव बिथोल्दै नेपाली समाजलाई विखण्डन गर्ने मुख्य ध्येयका साथ पश्चिमा संगठन र नेपालभित्रका केही आफूलाई टाठाबाठा भनाउँदाहरू सक्रिय रहे र सफल पनि भए। राजनीतिक पार्टीका रुपमा स्थापित बन्न चाहने माओवादीले यस विषयमा अनेक तिग्डम मच्चायो। यसका मूल स्रोत पश्चिमा एनजीओ र आईएनजीओ नै थिए र साध्य थियो धर्मान्तरण। यो माओवादी नेता केबी रोका लगायतका व्यक्तिहरूको स्वीकारोक्ति हो।
पश्चिमा राज्यका नागरिकहरूले करका रूपमा राज्यद्वारा संरक्षित चर्चलाई ठूलो धनराशि तिर्नुपर्ने हुन्छ। यसरी जम्मा भएको पैसा कुत्सित उद्देश्य पूर्तिका लागि सेवाका नाममा अशिक्षा, बेरोजगारी, पछौटेपनले ग्रसित राज्यहरूमा लगानी गर्नु र धर्मान्तरणका माध्यमबाट आफ्नो जनमत तयार गरी समाजका साथै राष्ट्रलाई नै विखण्डित पारिदिनु हो।
अफ्रिका महादेश यसको पहिलो सिकार हुन पुग्यो। एक हातमा बाइबल र दोस्रो हातमा डलर लिएर भित्रिएका गोराहरूले सेवाका नाममा त्यहाँको आदिम संस्कृतिलाई नष्ट पारिदिँदै जग्गाजमिन र विभिन्न स्रोतहरूलाई आफ्नो अधीनमा पारे र त्यहाँ काला जातिलाई आफ्नो दास बनाए। ‘न हामीसँग आफ्नो जातीय पहिचान र संस्कृति छ न त भूमि’ अफ्रिकी नेताहरूको रोदन हो यो।
एसियामा व्यापारका रुपमा प्रवेश गरेको इस्ट इन्डिया कम्पनीले सोनेका चरीका नामबाट एसिया महादेशलाई दोहन गर्दै सांस्कृतिक आक्रमणका माध्यमबाट आफ्नो अनुकूल राज्य सञ्चालन गर्दै देशलाई नै टुक्र्याइदियो। महात्मा गान्धीलगायतका देश भक्तहरूले भारत छोडो आन्दोलन सफल बनाए।
फिरंगीहरूको उद्देश्यबाट परिचित पृथ्वीनारायण शाहलगायतका नेपाली सपूतहरूले नेपालमाथि गिद्धे नजर उठाउनबाट उनीहरूलाई रोकिदिए।
वर्तमान परिप्रेक्ष्यमा पश्चिमाहरूको लक्ष्य भनेको चीनमा धावा बोल्दै तिब्बत आदि गरिएका चीन स्वशासित क्षेत्रहरूलाई खण्डीकरण गर्नुरहेको छ। यसका लागि नेपाललाई रोज्नु र पैसा लगानी गर्नु हो। हिमाली भूभागमा बसोवास गर्ने जातिजनजातिको मौलिक संस्कृतिलाई विनाश पार्दै चीनलाई विभाजन गर्नका खातिर जनमत तयार पार्नु चालबाजी हो। स्थानीय वासीहरूको सांस्कृतिक सम्बन्धबाट घुसपैठ गर्नु-गराउनु, विदेशी सुविधा ग्रहणका साथ जनजातिका नाममा चर्चामा आउन चाहने र माथिल्लो तहमा पुगेका केही सीमित नेताहरूको स्वार्थका कारण पश्चिमाहरूको सक्रियता अझ बढ्दो छ।
नेपाल यिनै विदेशीहरूको क्रीडास्थली बनेको छ। यो यथार्थ सबैलाई थाहा छ तर बोल्न सक्ने अवस्था छैन किन भने बिकेका छन्।
नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो। यहाँ सबैलाई फुल्ने-फल्ने अधिकार छ। आफ्नो जातीय भेषभूषा तथा मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु पर्ने आवश्यकता छ।
पृथ्वीनारायण शाहले राष्ट्र र राष्ट्रियतामा दख्खल दिने कन्फुसियन चर्चका पादरीहरूलाई देश निकाला गरिदिए। बेतियामा बसेका पादरीहरूले लेखेको इतिहास पढ्दै पृथ्वीनारायण शाहलाई धिक्कार्ने नव इसाई विद्वत् मण्डलीले एकीकरणको महत्त्व बुझ्न सकेन। इसाई मत स्थापित गर्न विभिन्न तरिकाले लागिपरेका छन्।
नेपाली भाषी दार्जिलिङ मूलका डा. गोपाल गुरुङ पास्टरका नामबाट नेपालमा एमएनओ नाम गरेको इसाई संस्थाले विभिन्न जातजातिको रैथाने मूल संस्कृतिलाई निमिट्यान्न पार्ने कुचेष्टा भइरहेको छ।
राष्ट्रिय पर्वका रूपमा मनाइने विभिन्न चाडपर्व हुन् वा जातिगत तरिकाले मनाइने पर्वहरूमा होस् धर्मान्तरित नभएका व्यक्तिहरूको संख्या सारै न्यून छ। राज्यबाट प्राप्त हुने सुविधाका लागि मात्र हामी जनजाति भएका छौँ, स्वधर्म संरक्षणका लागि होइन! किन? परद्रव्यमा हामी किनबेच भइसकेको अवस्था छ। हामी भेडाबाख्राको हैसियतभन्दा तल झरिसकेका छौँ। हामीले शिवको शैवत्व बेच्यौँ, बुद्धको बुद्धत्व बेच्यौँ, आमाको मातृत्व बेच्यौँ, आत्माको आत्मत्व बेच्यौँ, संस्कारको संस्कारत्व बेच्यौँ, देशको राष्ट्रियता बेच्यौँ त्यतिले नपुगेर आफ्नै इमान बेच्यौँ। पैसालाई नै सबै साध्य ठान्यौँ।
आफूलाई क्रान्तिकारी र धर्मलाई अफिम ठान्ने माओवादीले आन्तरिक रूपमा पश्चिमा क्रिस्चियानिटीलाई नेपालमा फैलाउन र संरक्षण गर्न दिने सर्तमा जनयुद्धलाई आवश्यक पर्ने आर्थिक चाँजोपाँजो मिलाउने विषयमा करारनामा गर्यो। केन्द्रीय नेताहरू उनीहरूबाटै दीक्षित हुन पुगेका विषयहरू छताछुल्ल भएर पोखिएका छन्।
आसुरी समय रातको १२ बजे सबै पार्टीका नेताहरूले आदिम कालदेखि सनातन संस्कृतिको संरक्षण र संवर्द्धनमा रहेको विश्वको एक मात्र हिन्दू राष्ट्रलाई राजनीतिक रूपमा विश्व मान चित्रबाट हटाउँदै पश्चिमाको ऋण तिर्न सफल भए। सांस्कृतिक रुपमा ऐक्यबद्ध भएका नेपालीनेपालीलाई फुटाउँदै जाति जनजातिका नाममा राजनीति गर्दै राज्यश्री दोहन गर्न सफल भए।
विभिन्न समयमा युरोपियन युनियन, राजदूत, एनजीओ/आईएनजीओहरूले नेपालका विरुद्ध निकालेका विज्ञप्तिहरूको विरोध गर्ने भन्दा समर्थन गर्ने जनजाति महासंघलगायतका संघ, संगठन र व्यक्ति विशेषहरू मिसिनरीहरूबाट सञ्चालित भएका छन् भने सरकार अवाक् भएको छ। राज्यका विरुद्ध अपराध गर्ने विभिन्न संगठन र नागरिकलाई कारबाही गर्न सक्दैन।
दुई सांस्कृतिक साम्राज्यवादबाट सारा विश्व तनावग्रस्त अवस्थामा छ। सहनशीलता र भाइचाराका माध्यमबाट सारा संसारलाई ‘वसुधैव कुटुम्बकम्’ को भावनाबाट सम्बोधन गर्ने श्रेष्ठ संस्कृतिमाथि आज स्वदेश तथा विदेशबाट प्रहारैप्रहार गरिएको छ।
जातीयताका नाममा एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिरमा थुक्ने, संविधानका विरुद्ध बोल्ने, सार्वजनिक पदमा बसी धार्मिक आस्था र निष्ठाकी प्रतिमूर्ति लक्ष्मी स्वरूपमा पूजित गौलाई विवादित पार्दै गोवधको विषयलाई उठान गर्नुले यिनीहरूको हैसियत र परचालित अवस्था प्रस्ट्याउँछ।
यी यस्ता परचालित संगठन र विनातुकका व्यक्ति विशेषको पछि नलागी आफ्ना कमीकमजोरीलाई हटाउँदै मौलिक/रैथाने संस्कृतिको संरक्षणका साथ विभिन्न प्रलोभनमा पारी धर्मान्तरणका लागि ढोका ढक्ढक्याउने विदेशी तथा स्वदेशी बन्धुहरूलाई खबरदारी गर्नु र धर्मान्तरितलाई ससम्मान स्वधर्म मै फर्काउनु नै स्वधर्म र स्वराष्ट्र प्रेम हो।
यसका लागि सर्वमान्य व्यक्तिका रूपमा एकीकरणका नायक पृथ्वीनारायण शाह र दिव्योपदेशलाई आधार मानी सबैको अपनत्व हुने गरी पृथ्वीपथलाई अगाडि बढाउनु आजको आवश्यकता हो।




