इटहरी- सुनसरीमा बिहीबार बिहान १ बजेतिर सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि बिहीबार दिनभर जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। घटनापछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो।
सशस्त्र प्रहरी बलको बीओपी लौकही नजिकै पर्ने पुरी टोलमा गोली लागेर कोसी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले दोषीलाई कारबाहीको माग गर्दै शव सडकमा राखेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा ठूलो संख्यामा भेला भएका स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर प्रयोग गरेको थियो। दिनभरको प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन प्रभावित बनेको थियो।

घटनापछि उत्पन्न तनाव कम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले पाँचबुँदे सहमति गरेपछि प्रदर्शन रोकिएको छ। सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रहनेछन् भने सात दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरिएको छ। छानबिनबाट सुरक्षा निकायको लापरबाही पुष्टि भए नियमानुसार राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
सहमतिको अर्को बुँदाअनुसार मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रशासनले सहजीकरण गर्ने तथा मृतकका छोराले चाहेमा सशस्त्र प्रहरीमा भर्ना प्रक्रियामा नियमानुसार सहयोग गरिनेछ। मृतकको शव पोष्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरी त्यसपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय भएको छ।



