सुनसरी : दुर्घटनामा एउटै वडाका पाँच जनाको मृत्यु

हिमाल प्रेस १ माघ २०८२ १७:५२
18
SHARES
सुनसरी : दुर्घटनामा एउटै वडाका पाँच जनाको मृत्यु

इटहरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८, सोनियाहीस्थित हुलाकी राजमार्गमा बिहीबार बिहान ट्रक पल्टिँदा मृत्यु हुने पाँच जनाको पहिचान खुलेको छ। बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ टायल र मार्बल लोड गरी जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा सवारी दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशम गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्।

ट्रकमा चालकसहित ९ जना सवार थिए। दुर्घटनाका क्रममा ट्रकको पछाडि लोडअनलोड कार्यका लागि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको थेबेले जानकारी दिए।

दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पताल पठाइएको छ। घाइते हुनेमा बर्जु गाउँपालिका-१ का ३४ वर्षीय सुन्दर गुरुङ, ५६ वर्षीय बैजनाथ गुरुङ र ५७ वर्षीय मानबहादुर गुरुङ रहेका छन्।

अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ। ट्रक चालक सुनसरीको दुहबी नगरपालिका-३ का अन्दाजी २८ वर्षीय वीरेन्द्रकुमार विश्वास दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजतलास भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: १ माघ २०८२ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast