कर्णालीमा बढ्दो बालविवाह रोक्न स्थानीय तहमा रणनीतिक पहल

हिमाल प्रेस २४ पुष २०८२ १३:३८
82
SHARES
कर्णालीमा बढ्दो बालविवाह रोक्न स्थानीय तहमा रणनीतिक पहल

सुर्खेत- कर्णाली प्रदेशमा बढ्दो बालविवाह रोक्न स्थानीय तहमा रणनीतिक पहल तीव्र बन्दै गएको छ। बालविवाह अन्त्यका लागि साझा सञ्जाल (क्याक्मा) ले कर्णालीका ७९ पालिकामध्ये ३२ पालिकामा बालविवाह अन्त्यको रणनीति तयार गरिसकेको जनाएको छ। सञ्जालमा कर्णालीका एक सयभन्दा बढी संघसंस्था आवद्ध छन्।

क्याक्माकी वकालतकर्ता निकिता कठायतले प्रदेशमै सबैभन्दा धेरै बालविवाह हुने अवस्थाले सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा गम्भीर असर पर्न थालेपछि रणनीति निर्माणलाई प्राथमिकता दिइएको बताइन्।

रणनीति कार्यान्वयनपछि स्थानीय तहमा बालविवाह रोकथामका कार्यक्रम सञ्चालन गर्न सहज हुने र बढ्दो घटनामा कमी आउने अपेक्षा गरिएको उनले बताइन्। सञ्जालले हालसम्म २० वर्षमुनि बालविवाह गरेका १२० जना बालिकाको उद्धार तथा अत्यावश्यक सहयोग गरिसकेको छ।

बालविवाहको प्रत्यक्ष मार बालिकामाथि पर्ने भन्दै कठायतले सामाजिक, शारीरिक, मानसिक र शैक्षिक क्षति न्यूनीकरणका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको बताइन्। तथ्यांकअनुसार कर्णालीमा १८ वर्षभन्दा कम उमेरमै विवाह गर्ने दर ४८ प्रतिशत रहेको छ।

सञ्जालकी उपाध्यक्ष माया सापकोटाले बालविवाहबारे समाजको बुझाइमै द्विविधा रहेकाले चुनौती थपिएको बताइन्। न्यून आर्थिक अवस्था, सामाजिक स्वीकृति, ‘इज्जत’ को गलत अवधारणा, कानुनी अपराध भए पनि समुदायस्तरमा स्वीकार्यता तथा छोरीलाई लामो समय अविवाहित राख्न गाह्रो हुने सोचले दलित, जनजाति, मधेशी र मुस्लिम समुदायमा बालविवाह बढी देखिएको उनको भनाइ छ।

सञ्जाल सुर्खेतकी अध्यक्ष ममता नगालले अभिभावकले बालविवाहलाई गम्भीरतापूर्वक नलिँदा समस्या बढ्दै गएको बताइन्। पछिल्लो समय ग्रामीण मात्र होइन सहरी क्षेत्रमा पनि बालविवाहका घटना बढ्दै गएको र ती घटनालाई गुपचुपमै राख्ने प्रवृत्ति देखिएको उनको भनाइ छ। केही स्थानीय तहले बालविवाह गरेमा सरकारी सेवामा रोकजस्ता कडा उपाय अपनाएकाले त्यस्ता ठाउँमा कमी आएको उनले बताइन्।

सञ्जालले आगामी दिनमा बालविवाह अन्त्यका लागि सोधखोज, छलफल, योजना निर्माण र प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राखेर काम गर्ने जनाएको छ। कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमसँगै कालीकोटको रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका तथा दैलेखको आठविस नगरपालिकाले अपनाएका रचनात्मक पहललाई पनि बालविवाह न्यूनीकरणका सकारात्मक अभ्यासका रूपमा सञ्जालले लिएको छ।

प्रकाशित: २४ पुष २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast