युवा आन्दोलनबारे बहसको निष्कर्ष

जेनजीले हल्लाएको दक्षिण र दक्षिण-पूर्वी एसिया : सत्ता ढले, प्रणाली थर्कियो, भविष्य अझै अनिश्चित

हिमाल प्रेस ४ माघ २०८२ ११:०३
8
SHARES
जेनजीले हल्लाएको दक्षिण र दक्षिण-पूर्वी एसिया : सत्ता ढले, प्रणाली थर्कियो, भविष्य अझै अनिश्चित

काठमाडौँ- कल्पना गरौँ- फेसबुक, इन्स्टा, एक्स र टिकटकलगायत सामाजिक सञ्जालको स्क्रिनबाट सुरु भएको आगोले पूरै सरकार ढाल्ने र दलहरूलाई तह लगाउन सक्छ। अनि लाखौँ युवा सडकमा उत्रिन्छन्, नारा लगाउँछन् र इतिहास लेख्छन्। यो कुनै फिल्मको स्क्रिप्ट थिएन- यो दक्षिण र दक्षिण-पूर्वी एसियाको वास्तविकता हो, जसलाई जेनेरेसन जेड (जेनजी) ले नयाँ स्वरूप दिइरहेको छ। यद्यपि राज्य संयन्त्रको अनुभव नभएर आफैँ पनि अलमलमा छन्।

दक्षिण र दक्षिण–पूर्व एसियाको राजनीतिक परिदृश्यमा पछिल्ला दशकमा युवा पुस्ताको उदय र सुझबुझले गहिरो प्रभाव पारिरहेको छ। विशेष गरी जेनजी भनेर चिनिने १९९७ देखि २०१२ सम्म जन्मिएका युवाले मुलुकको परम्परागत राजनीतिक, नसुध्रिएको आर्थिक अवस्था मात्र होइन राजनीतिले निम्ताएको बेथिति, बेरोजगारी र सामाजिक असन्तुष्टि सडकमा उतारेर सरकारहरूलाई चुनौती दिइरहेका छन्।

उनीहरूले राजनीति गरेर माथि पुगेका र राज्य संयन्त्रमा हालिमुहाली गर्दै आएका प्रशासकहरूको सन्तानको जीवनशैली पनि उजागार गरेर नेप्पोबेबी भन्दै आन्दोलन गरे। त्यो प्रकारको आक्रोश दक्षिण र दक्षिणपूर्वी एसियामा चार दशकअघि देखि देखिएको हो। तर अहिले प्रविधिले झन् प्रभावकारी र सहज बनेको छ। हुन पनि दक्षिण र दक्षिणपूर्वी एसियाको राजनीतिमा पछिल्ला दुई दशकयता देखिएको परिवर्तन कुनै एक देशको आकस्मिक विस्फोट होइन।

परिवर्तन राज्यको क्षमता कमजोर हुँदै जाँदा, संस्थागत विश्वास खस्कँदा र नेतृत्वप्रतिको मोहभंग हुँदै जाँदा जन्मिएको लामो प्रक्रियाको परिणाम हो। सामाजिक सञ्जालले युवालाई छिटो संगठित बनायो, वैकल्पिक सूचना फैलायो र राज्यको झूटलाई बाहिर ल्यायो। टिकटकको १५ सेकेन्डको भिडियोले लाखौँलाई सडकमा उतार्न सक्नु जेनजीको शक्ति हो। पछिल्ला वर्षहरूमा यस प्रक्रियालाई निर्णायक मोडमा पुर्‍याउने शक्ति बनेको छ जेनजी।

यी आन्दोलनहरू आर्थिक संकटबाट जन्मिएका छन्, भ्रष्टाचार र असमानताबाट आएका छन् तर अहिले तीसँगै सामाजिक सञ्जालका माध्यमबाट प्रभावकारी ढ‌ंगले फैलिएका छन्। कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्याङ्क्स (कोसाट्ट) ले यही पृष्ठभूमिमा काठमाडौँमा पुस ३० र माघ १ गते दक्षिण र दक्षिणपूर्वी एसियाका छ मुलुक (नेपाल, भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स र इन्डोनेसिया) का युवा नेताहरू, सुरक्षा विज्ञहरू, राजनीतिशास्त्रीहरू, कूटनीतिज्ञहरू र पत्रकारहरूलाई समेटेर युवा आन्दोलनहरूको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भविष्यको दिशाबारे विभिन्न ६ सेसनमा बहस आयोजना गरेको थियो।

सम्मेलनको मुख्य विषय ‘दक्षिण र दक्षिण–पूर्व एसियामा युवा आन्दोलनहरू : आकांक्षा, संक्रमण र आगामी बाटो’ थियो। सामाजिक सञ्जाल, डिजिटल सञ्चार र प्रविधिको व्यापक पहुँचले यो पुस्तालाई केवल असन्तुष्ट दर्शक होइन, सक्रिय राजनीतिक पात्र बनाइदिएको विषयबाट नै यो सम्मेलन सुरु भएको थियो। सम्मेलनमा श्रीलंकाको राष्ट्रपति भवन कब्जा भएको क्षणदेखि बंगलादेशमा प्रधानमन्त्री भागेको रात, नेपालमा सरकारी भवन जलेको दृश्यदेखि इन्डोनेसियामा सांसदको विशेषाधिकार खारेज र भारतमा सीएए र किसान आन्दोलनमा विद्यार्थीहरूको अग्रता र फर्कन बाध्य पारिएका विषय उठेका थिए।

यही भएर होला बहसको केन्द्रमा एउटै प्रश्न घुमिरह्यो- के ध्वंसले मात्र परिवर्तन सम्भव हुन्छ? कि सुशासनबिनाको क्रान्ति आफैँ संकट बन्छ? वक्ताहरूले विगत केही दशकका युवा आन्दोलनहरूको विकासक्रम विश्लेषण गर्दै भनेका थिए। युवा आन्दोलन नयाँ होइनन्, तर जेनजी पुस्ताले तिनलाई डिजिटल उपकरणहरूको माध्यमबाट नयाँ उचाइमा पुर्‍याएको भनियो। जसमा अधिकको मत मिलेको थियो। सामाजिक सञ्जालहरू जस्तै ट्विटर अर्थात् एक्स, फेसबुक, टिकटक, डिसकर्ट र इन्स्टाग्राम लगायतले युवालाई छिट्टै संगठित हुने, सूचना प्रवाह गर्ने र राज्यको आधिकारिक कथालाई चुनौती दिने क्षमता प्रदान गरेको छ।

यही आन्दोलनको जडमा कतिपय मुलुकमा सत्ता परिवर्तन भएका छन् । यस्तो आन्दोलनले कतिपय मुलुकमा भने प्रणालीमा सुधारको दबाब सिर्जना गरेका पनि बहसमा उठेको थियो। दक्षिण र दक्षिणपूर्व एसियाका प्रमुख देशहरूमा जेनजी आन्दोलनहरूको इतिहास, प्रभाव र भविष्यको अनिश्चितता नियाल्दा युवाहरू सफल देखिएका छन्। पछिल्लो समय श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्री भागे। बंगलादेशमा पनि प्रधानमन्त्री भागिन् भने नेपालमा सेनाले जोगायो तर पुराना ऐतिहासिक भवनहरू जल्नबाट बचाएन। संक्रमण सकिएको छैन। युवा आक्रोश छँदै छ। यसलाई भूराजनीतिक परिदृश्यमा हेरिएको विषय त्यहाँ उठेको थियो।

कार्यक्रमको सुरु कोसाटका कन्भेइनर तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास)का प्रमुख डा. निश्‍चलनाथ पाण्डेले क्षेत्रीय अवस्थाको समग्र चित्र कोरेका थिए। उनले यस क्षेत्रको वर्तमान अवस्था र युवा आक्रोशको कारण प्रस्तुत गरे। पाण्डेले जेनजी आन्दोलनलाई पुस्तागत आवेगको परिणाम मात्र नभई राज्य र नागरिकबीचको सम्बन्ध बिग्रँदै गएको संकेतका रूपमा व्याख्या गरेका थिए। उनका अनुसार दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा जहाँ राज्य कमजोर मात्र भएन राज्यले राम्रा भन्दा हाम्रालाई स्थान दिँदै राज्य सत्तामा हालीमुहाली गर्‍यो  परिणामस्वरूप यस्तो आक्रोश देखिएको हो।

पाण्डेले सडकबाट राजनीति सम्हाल्ने प्रयास हुँदा राज्य र नागरिकबीच खाडल उत्पन्न हुने बताए। उनका अनुसार यसमा नेपाल, श्रीलंका र बंगलादेश पछिल्ला उदाहरण हुन् भने फिलिपिन्स, इन्डोनेसिया र भारत पुरानो उदाहरण।

नेपालमा युवा सक्रिय भएर २०४६ को आन्दोलन सफल भएको थियो। २०६२/०६३ मा पनि युवाको लहर थियो। पाण्डेले विगतका जनआन्दोलनदेखि हालसम्मका घटना निरन्तरता रहेको बताए। उनले भने, ‘आन्दोलनले व्यवस्था हल्लाउन सक्छ, नागरिक र राजनीतिको दुरी घटाउन सक्छ तर राज्य चलाउन भने संस्थागत क्षमता चाहिन्छ। त्यो क्षमता युवामा अहिलेको डिजिटल युगले पहिलाझैँ बूढै हुनपर्ने भन्दा फरक बनाएको छ। अनुभव अध्ययनशील सबैले हासिल गर्न सक्ने देखिन्छ।’

उनको यस्तो भनाइ श्रीलंकाको अनुभवसँग जोडिँदा अझ अर्थपूर्ण देखिन्थ्यो। पूर्वकर्नेल एवम् दक्षिण एसिया सस्टेनेबिलिटी एन्ड सेक्युरिटी रिसर्च इन्स्टिच्युटका कार्यकारी निर्देशक नलिन हेराथले अरागलया आन्दोलनको भित्री कथा सुनाए। आर्थिक पतन, राजनीतिक अहंकार र परिवारवादी शासनविरुद्ध युवाले उठाएको आवाजले राजापाक्षे परिवारलाई सत्ताबाट मात्र हटाएन।

राष्ट्रपति भवन कब्जा गर्‍यो। त्यसैबीचमा प्रधानमन्त्री भागे। एउटा कुरा उल्लेखनीय रह्यो- राज्यका संरचना व्यापक रूपमा जलाइएनन्। ‘अरागलया राज्यविरोधी होइन, शासक विरोधी आन्दोलन थियो। उनीहरूले राज्य संरचनाको बचाउ गरे तर शासकहरूलाई समुद्र कटाए’, उनले भने। हेराथले  नेपालमा जेनजीले शासकलाई घुँडा त टेकाए पनि राज्यको सम्पत्ति नागरिकको सम्पत्ति जलेको देख्दा मन दुखेको बताए।

उनको बुझाइमा अराजकतालाई सुरक्षा निकायले सौम्य बनाउन सक्ने स्थान रहन्छ।  उनले भने, ‘नेपालको सुरक्षाकर्मी विश्वशान्तिमा नेतृत्व गरिरहेको छ तर नेपालमा दुईतीन घण्टाको अराजक आन्दोलन रोक्न सक्दैन। यस्तो अवस्थामा बिस्तारै विश्वमा नेपाली सेनाप्रतिको भाष्य परिवर्तन हुँदै जानेछ।’ यस्तो विषयमा नेतृत्वले ध्यान दिनुपर्ने पनि उनको धरणा थियो। सुरक्षा निकायले स्पष्ट पहल नदेखाएकाले उनीहरू आश्चर्यमा परेको पनि बताए।

बंगलादेश अझै संक्रमणमै छ। कार्यक्रममा बंगलादेशबाट सहभागी मुलुकका प्रमुख सल्लाहकार मोहम्मद युसुफका प्रेससचिव नयेम अलीले हसिना शासन पतनपछिको समयलाई व्यक्तिगत रूपमा सबैभन्दा स्वतन्त्र अनुभवका रूपमा वर्णन गरे। उनीजेनजी आन्दोलनका सक्रिय पात्र पनि हुन्।

सबै ब‌ंगलादेशी नागरिकले सुरक्षित र स्वतन्त्र महसुस गरेको पनि उनले बताए। तर सहज ढ‌ंगले आएको भन्दै तस्बिरहरू देखाए। रगतले पाेतिएका सडक देखाए उनले। अनि मलाई गोली हान् भन्दै अघि बढेका युवाकाे साहस पनि तस्बिरमा देख्न सकिन्थ्यो। हजार शब्दभन्दा एक तस्बिर बढी बोल्छ भनिन्छ। उनी आफैँ पनि फोटो पत्रकारितामा लागेकाे हुनाले सबै मुभमेन्ट क्याप्चर गरेका रहेछन्।

त्यो स्वतन्त्रता स्थिरतामा रूपान्तरण हुन समय लागिरहेको अलीले स्वीकार गरे। हसिना भागेपछिको ७२ घण्टे शून्य समय साँच्चै मुलुकले सास फेरेझैँ लाग्ने सुन्दर पल रहेको  उनको भनाइ थियो। तर अहिले नयाँ सरकार बन्न ढिलाइ भइरहँदा कतिपयमा निराशा छ। निर्वाचन प्रक्रिया जटिल बनेको छ। बंगलादेश इन्टरप्राइज इन्स्टिच्युटका उपनिर्देशक सासी बानिकले संस्थागत रिक्तता देखापर्दै गएको बताए। उनले यसलाई संरचनागत संकटका रूपमा व्याख्या गरे। आरक्षण सुधार आन्दोलनदेखि हालसम्मका घटनालाई जोड्दै उनले भने- ‘राज्य असफल हुँदा आन्दोलन जन्मिन्छ, तर आन्दोलन आफैँ राज्य बन्न सक्दैन। दमन र प्रतिरोधको चक्रले लोकतान्त्रिक मागलाई अझ जटिल बनायो।’

भारत र नेपालको अनुभवले यो जटिलतालाई अर्को कोणबाट देखाएको उनको भनाइ थियो। भारतमा विद्यार्थी राजनीति, नागरिक प्रतिरोध र गैरदलीय आन्दोलनहरूको लामो इतिहास छ। चेन्नईको स्टेला मरिस कलेजकी आर प्रीताले युवा आन्दोलनले सत्ता परिवर्तनभन्दा बढी नीतिगत दबाब सिर्जना गरेको अनुभव सुनाइन्।

युवा अभियन्ता जनक पोखरेल र काठमाडौँ विश्वविद्यालयकी श्रीती केसीले आन्दोलनको ऊर्जा र संगठनात्मक कमजोरीबीचको अन्तर औँल्याएका थिए। जनक पोखरेलले  भने, ‘आन्दोलनले प्रश्न उठाउँछ, तर उत्तर दिन संस्थागत संरचना चाहिन्छ। नेपालमा जेनजीको असन्तोष प्रखर छ, तर त्यो ऊर्जा दीर्घकालीन सुशासनमा कसरी रूपान्तरण हुन्छ भन्ने प्रश्न खुला छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि रन्जु दर्शनाले राजनीतिक दलप्रतिको निराशा र नयाँ पात्रको खोजीलाई स्पष्ट शब्दमा राखिन्। परम्परागत दलप्रतिको मोहभंग, डिजिटल सक्रियता र नयाँ राजनीतिक अनुहारप्रतिको आकर्षणले नेपाली राजनीति नयाँ मोडमा पुगेको उनले बताइन्।  उनले एउटा जोखिम पनि औँल्याइन्—युवा राजनीतिमा आए, तर शासन सिक्ने प्रक्रिया अझै बाँकी छ।

दक्षिणपूर्वी एसियाबाट आएका अनुभवहरूले यो बहसलाई अझ फराकिलो बनायो। इन्डोनेसियाबाट सहभागी हिसान अनिस मत्ताले युवा आन्दोलनपछि शासन र सुशासनमा आएको क्रमिक सुधारको चर्चा गरिन्। फिलिपिन्सका अपोलिनारियो जेआर बागानोले युवा आन्दोलन, कुलीन राजनीति र भूराजनीतिक दबाबबीचको द्वन्द्व प्रस्तुत गरे। यी सबै कथा फरक सन्दर्भका थिए, तर मूल प्रश्न उस्तै थियो- सडकको शक्तिलाई राज्यको जिम्मेवारीमा कसरी बदल्ने?

कार्यक्रमको अन्त्यमा कोनराड एडेनबगभच स्टिफटुङका निर्देशक एन्डरेस क्लेनले यस्तो बहस अहिलेको आवश्यकता भएको उल्लेख गरे। समापन सत्रमा डा. पाण्डेले उठेका सबै विषयलाई एकै सूत्रमा बाँध्दै भने, ‘जेनजीले व्यवस्था हल्लाइसकेको छ, अब चुनौती त्यो ऊर्जालाई संस्थागत सुशासनमा रूपान्तरण गर्ने हो।’

दक्षिण र दक्षिणपूर्वी एसिया अहिले क्रान्तिको होइन, संक्रमणको चरणमा छ। जेनजी आन्दोलनले सत्ता ढाल्न सक्छ, तर ध्वंस मात्र समाधान होइन। सुशासन, संस्थागत क्षमता र राजनीतिक परिपक्वता बिना परिवर्तन टिकाउ हुँदैन। युवाले इतिहास बनाइसकेका छन्, अब प्रश्न यो हो के उनीहरूले शासन पनि सम्हाल्न सक्छन् ?

युवा आन्दोलनको ऐतिहासिक पृष्ठभूमि

दक्षिण र दक्षिणपूर्व एसियामा युवा आन्दोलनहरूको इतिहास लामो छ। यो क्षेत्रका कैयन् मुलुकहरू उपनिवेशवाद, तानाशाही र आर्थिक असमानताविरुद्धका संघर्षहरूमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहे। उदाहरणका लागि भारतमा १९७० को दशकमा जेपी आन्दोलनले इन्दिरा गान्धीको आपत्कालीन शासनविरुद्ध युवाहरूको विद्रोहलाई प्रतिनिधित्व गरेको थियो। त्यो यस क्षेत्रको महत्त्वपूर्ण युवा आन्दोलनका रूपमा चिनियो।

नेपालमा २०४६ को जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा विद्यार्थीको सक्रियता निर्णायक थियो, जसले राजतन्त्रको अन्त्य गरेको थियो। बंगलादेशमा १९७१ को मुक्ति संग्राममा युवाको योगदान इतिहासमा अमर छ। पछिल्ला दशकहरूमा आरक्षण सुधार आन्दोलनहरूले विद्यार्थीको शक्ति देखाएका छन्।

श्रीलंकामा १९८० को दशकमा जनता विमुक्ति पेरामुना (जेव्हीपी) आन्दोलनले युवाहरूको असन्तुष्टिलाई प्रतिबिम्बित गरेको थियो। फिलिपिन्समा १९८६ को पिपल पावर रिभोलुसनले फर्डिनान्ड मार्कोसको तानाशाही अन्त्य गरेको थियो, जसमा युवाहरूको भूमिका उल्लेखनीय थियो।

इन्डोनेसियामा १९९८ को रिफर्मासी आन्दोलनले सुहार्तोको शासन ढालेको थियो, जसमा विद्यार्थी अग्रभागमा थिए। यी ऐतिहासिक आन्दोलनहरूले देखाउँछन् कि युवाहरू सधैं परिवर्तनका वाहक बनेका छन्। तर जेनजी पुस्ताको विशेषता भनेको प्रविधि–आधारित क्रान्ति हो।

सम्मेलनका वक्ताहरूले सामाजिक सञ्जालहरूले आन्दोलनहरूलाई सीमाहीन बनाएको बताए। उदाहरणका लागि बंगलादेशको २०२४ को जुलाई क्रान्ति टिकटक र फेसबुकबाट फैलिएको थियो, जसले श्रीलंकाको २०२२ को अरागलाया आन्दोलनलाई प्रेरणा दियो।

यी आन्दोलनहरूले आर्थिक पतन, राजनीतिक अहंकार र राज्यप्रतिको विश्वासको क्षयलाई मुख्य कारक बनाएका छन्।

नेपाल : हिंसात्मक मोड र संक्रमणको चुनौती

नेपालमा विद्यार्थी आन्दोलनको इतिहास २०४६ को जनआन्दोलनसम्म पुग्छ, जसमा विद्यार्थीले पञ्चायती व्यवस्थाविरुद्ध सडक तताएका थिए। २०६२/६३ को आन्दोलनमा पनि युवाहरूको भूमिका निर्णायक थियो, जसले गणतन्त्र स्थापना गरेको थियो।

पछिल्ला वर्षमा आन्दोलनहरू आर्थिक असन्तुष्टिबाट निर्देशित भएका छन्। सम्मेलनमा युवा अभियन्ता पोखरेलले भनेका थिए- ‘नेपालमा राज्य संयन्त्रको कमजोरी र सुरक्षा निकायको दिशाहीनताले आन्दोलनहरूलाई हिंसात्मक बनाउने गरेको छ।’

२०२५ मा नेपालको जेनजी आन्दोलनले विश्वको ध्यान खिचेको थियो। यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धबाट सुरु भएको देखिए पनि पहिलेदेखि नै नेप्पोबेबी र भ्रष्टाचार अन्त्यको नारा लगाइरहेका थिए। जसलाई सरकारले आलोचना दबाउन प्रयोग गरेको ठानियो। नेपोबेबी ट्रेन्डले राजनीतिज्ञहरूका सन्तानको विलासी जीवनशैलीलाई उजागर गरेपछि युवाहरू सडकमा उत्रिए। भदौ २३ मा सुरु भएको यो आन्दोलनका क्रमम ७४ जनाको ज्यान गयो। प्रदर्शनकारीहरूले संसद् भवनमा आगजनी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

यसपछि ‘युथ्स अगेन्स्ट करप्सन’ नामको डिस्कर्ड सञ्जालमा डेढ लाख युवाहरूले अन्तरिम प्रधानमन्त्री खोजे। अधिकले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की छाने र उनी अहिले प्रधानमन्त्री छिन्। भ्रष्टाचार, बेरोजगारी र असमानताको मुद्दामा बोल्दै आएकी उनले प्रतिनिधिसभा निर्वाचन गरेर बिदा हुने बताएकी छन्।

भारत : विभाजित तर प्रभावकारी जेनजी आन्दोलन

भारतमा युवा आन्दोलनको इतिहास १९७० को जेपी आन्दोलनसम्म फर्किन्छ, जसले इन्दिरा गान्धीको सरकारलाई चुनौती दिएको थियो। पछिल्ला वर्षहरूमा २०११ को अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलन र २०१२ को दिल्ली बलात्कार काण्डपछि भएका प्रदर्शनहरूमा युवाहरूको सक्रियता देखिएको थियो।

सम्मेलनकी अर्का वक्ता दक्षिण एसियाली विश्वविद्यालयकी एसोसिएट प्रोफेसर श्वेता सिंहले भनिन्, ‘भारतमा युवा आन्दोलनहरू दल–केन्द्रित नभई दीर्घकालीन संरचनामा दबाब दिन्छन्।’

२०१९-२०२० मा नागरिकता संशोधन ऐन (सीएए) विरुद्धका प्रदर्शनहरूमा जामिया मिलिया इस्लामिया र जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरूले नेतृत्व गरेका थिए। यसले सरकारलाई कानुन कार्यान्वयनमा गर्न बाध्य पार्‍यो। २०२०–२०२१ को किसान आन्दोलनमा पनि युवा किसानले सामाजिक सञ्जाल प्रयोग गरेर अन्तर्राष्ट्रिय ध्यान खिचे, जसले तीन कृषि कानुन खारेज गरायो।

भारतमा जेनजी आन्दोलनहरू विभाजित छन्। सम्मेलनमा छलफल भएअनुसार भारतमा जेनजी आन्दोलनहरूले केन्द्रीय सरकारलाई हल्लाउन सकेका छैनन्, तर क्षेत्रीय स्तरमा प्रभावकारी छन्। भविष्यमा यो आन्दोलनले राजनीतिक प्रणालीलाई पुनर्संरचना गर्न सक्छ, तर विभाजन र दमनका कारण अनिश्चित छ।

बंगलादेश : हसिनाको पतन र नयाँ राजनीतिक युग

बंगलादेशमा युवा आन्दोलनहरूको इतिहास १९७१ को मुक्ति संग्रामबाट सुरु हुन्छ, जसमा विद्यार्थीले पाकिस्तानविरुद्ध लडाइँमा महत्वपूर्ण भूमिका खेलेका थिए। पछिल्ला दशकहरूमा आरक्षण सुधार आन्दोलनहरू (२०१८) ले युवाहरूको शक्ति देखाएए। सम्मेलनका वक्ता बंगलादेशका चिफ एडभाइजरका प्रेस सेक्रेटरी नयेम अलीले भने, ‘हसिनाको पतनपछि संक्रमणकालीन समय चुनौतीपूर्ण भए पनि नागरिक स्वतन्त्रताको दृष्टिले ऐतिहासिक छ।’

२०२४ को जुलाई क्रान्ति (जुलाई मास अप्राइजिङ) ले विश्वलाई चकित पारेको थियो। यो आन्दोलन सरकारी जागिरमा आरक्षणको विरोधबाट सुरु भएको थियो, तर पुलिस दमनपछि सेख हसिनाको सरकारविरुद्ध जनता सडकमा उत्रिए। जेनजी युवाहरूले टिकटक र फेसबुकबाट संगठित भए। सरकारले १,५०० भन्दा बढीको ज्यान लिएपछि हसिना भारत भाग्न बाध्य भइन्।

यसलाई विश्वको सफल जेनजी क्रान्तिको रुपमा लिइन्छ। यो आन्दोलनले बंगलादेशको राजनीतिमा गहिरो परिवर्तन ल्याएको छ। अवामी लिगलाई निर्वाचनबाट प्रतिबन्धित गरियो र विद्यार्थीहरूले नयाँ राजनीतिक पार्टी गठन गरे। तर संक्रमणकालमा संस्थागत कमजोरी र धार्मिक हिंसा चुनौती बनेका छन्। आन्दोलनले लोकतान्त्रिक मागहरू पूरा गर्न सक्छ तर अनिश्चित भविष्यले चिन्ता बढाएको छ।

श्रीलंका :  अरागलायाको अहिंसात्मक प्रतिरोध

श्रीलंकामा युवा आन्दोलनहरूको इतिहास १९८० को जेव्हीपी विद्रोहबाट सुरु हुन्छ, जसले आर्थिक असमानताविरुद्ध युवाहरूको असन्तुष्टि व्यक्त गरेको थियो। सम्मेलनका वक्ता नलिन हेराथले भने- ‘श्रीलंकामा आन्दोलन आक्रोशपूर्ण भए पनि राज्य संरचना ध्वस्त नपार्ने दिशामा गएन। २०२२ को अरागलाया (संघर्ष) आन्दोलन आर्थिक संकटबाट जन्मिएको थियो।’

राजापाक्षे परिवारको भ्रष्टाचार र आर्थिक कुप्रबन्धनविरुद्ध युवाहरूले सडक कब्जा गरे। यसमा क्रस–क्लास सोलिडारिटी (वर्गीय एकता) र अहिंसात्मक प्रतिरोधले सफलता दियो। प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जा गरे, तर सरकारी सम्पत्तिमा व्यापक आगजनी भएन। महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीबाट र गोताबाया राजापाक्षेलाई राष्ट्रपतिबाट हटायो। यो आन्दोलनले श्रीलंकाको राजनीतिमा ‘सिस्टम चेन्ज’ को माग उठायो।

यसले कार्यकारी राष्ट्रपतित्वको शक्तिमा कटौती गर्ने संविधान संशोधन गरायो। तर आर्थिक संकट कायम रहेकाले अनिश्चितता छ। यो आन्दोलनले युवाहरूलाई शासनमा भागLदार बनाउने आशा जगाएको छ।

फिलिपिन्स : भ्रष्टाचारविरुद्धको जेनजी विद्रोह

फिलिपिन्समा युवा आन्दोलनहरूको इतिहास १९८६ को पिपल पावर रिभोलुसनबाट सुरु हुन्छ, जसले मार्कोसको तानाशाही अन्त्य गरेको थियो। सम्मेलनका वक्ता एपोलिनारियो जुनियर बगानोले भने- ‘तानाशाहीविरोधी आन्दोलनदेखि हालका भू–राजनीतिक चुनौतीहरूमा युवाहरू सक्रिय छन्। २०२५ मा फिलिपिन्सको जेनजी आन्दोलन बाढी नियन्त्रण परियोजनामा भ्रष्टाचारबाट सुरु भएको थियो।’

प्रदर्शनले सरकारी कोषको दुरुपयोगलाई उजागर गर्‍यो। यसमा युवाहरूले लाइफस्टाइलचेकपीच ह्यास ट्याग ट्रेन्डबाट संगठित भएर सडकमा उत्रिए। यसले उच्च पदाधिकारीहरूको राजीनामा गरायो। यो आन्दोलनले फिलिपिन्सको राजनीतिमा असर पारेको छ। यसले आर्थिक असमानता र बेरोजगारीको मुद्दा उठाएको छ। तर सम्मेलनमा छलफल भएअनुसार आन्दोलनले सरकारलाई पूर्ण रूपमा हल्लाउन सकेको छैन। भविष्यमा यो संक्रमणले सुधार ल्याउन सक्छ, तर दमनका कारण अनिश्चित छ।

इन्डोनेसिया : विशेषाधिकार विरुद्धको युवा विद्रोह

इन्डोनेसियामा युवा आन्दोलनहरूको इतिहास १९९८ को रिफर्मासीबाट सुरु हुन्छ, जसले सुहार्तोको शासन ढालेको थियो। सम्मेलनकी वक्ता हिसान अनिस मत्ताले  युवा आन्दोलनपछि शासन सुधारका प्रयासहरू भएको बताइन्। २०२५ मा इन्डोनेसियाका सांसदहरूको आवास भत्ता वृद्धि भएपछि जेनजी आन्दोलन सुरु भएको थियो। अगस्टमा सुरु भएको यो प्रदर्शनले भ्रष्टाचार र असमानताको मुद्दा उठायो। यसमा युवाहरूले सामाजिक सञ्जालबाट संगठित भए। सरकारले १० जनाको ज्यान लिएपछि राष्ट्रपति प्राबोवो सुबियान्टोलाई विशेषाधिकार खारेज गर्न बाध्य पार्‍यो। आन्दोलनले इन्डोनेसियाको राजनीतिमा प्रभाव पारेको छ।

यसले बेरोजगारी र आर्थिक दबाबको मुद्दा केन्द्रमा ल्याएको छ। आन्दोलनले सरकारलाई सुधार गर्न दबाब दिएको छ, तर अनिश्चित भविष्य छ। सम्मेलनका निर्देशक एन्डरेस क्लेन र कोसाट्टका कन्भेइनर डा. पाण्डेका अनुसार ध्वंस होइन, सुशासन नै परिवर्तनको आधार हुन्।  उनीहरूको बुझाइमा युवा आन्दोलनहरूले ध्वंसले सत्ता ढाल्न सक्छ, तर सुशासन बिना परिवर्तन टिकाउ हुँदैन।

यी आन्दोलनहरूले आशा जगाएका छन्, तर संक्रमणकालीन चुनौती र अनिश्चित भविष्यले चिन्ता बढाएका छन्। दक्षिण र दक्षिणपूर्व एसियामा जेनजी आन्दोलनहरूले नयाँ युगको सुरुवात गरेका छन्, जसमा युवाको भूमिका निर्णायक हुनेछ।  संस्थागत तयारी र नीति निर्माण बिना यो आन्दोलनहरूको सफलता अधुरो रहन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast