मनपरी शुल्क, कमजोर नतिजा र राजनीतिक हस्तक्षेपको घेरामा शुक्रराज बलभद्र मावि

हिमाल प्रेस २० पुष २०८२ १२:५० | Sunday, January 4, 2026
572
SHARES
मनपरी शुल्क, कमजोर नतिजा र राजनीतिक हस्तक्षेपको घेरामा शुक्रराज बलभद्र मावि

काठमाडौँ- पोखरास्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा विभिन्न आर्थिक तथा शैक्षिक अनियमितता भएको आरोप लागेको छ।

विद्यालयसँग सम्बन्धित स्रोतका अनुसार मजदुर, दलित तथा निम्न आय भएका परिवारका विद्यार्थीसँग मनोमानी रूपमा शुल्क लिने गरिएको छ भने उठाइएको रकम शैक्षिक प्रयोजनभन्दा बाहिर ‘मोजमस्ती’ मा खर्च हुने गरेको आरोप छ।

स्रोतका अनुसार विद्यालयले अपेक्षित शैक्षिक गुणस्तर दिन नसकेको, आर्थिक हिनामिना भएका विषयमा पटकपटक प्रश्न उठे पनि व्यवस्थापनले चासो नदिएको आरोप छ।

परीक्षालाई मर्यादित बनाउन नसकिएको भन्दै आलोचना बढ्दो छ। परीक्षा हलमै मोबाइल फोन प्रयोग गरेर उत्तर लेख्न पाउने वातावरण बनाइएको र यसमा केही सहायक प्रधानाध्यापकहरूको संलग्नता रहेको दाबी स्रोतले गरेको छ।

विद्यालयमा एउटै परीक्षा तीन पटकसम्म लिने गरिएको घटनासमेत भएको स्रोतको भनाइ छ। कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा एक जना मात्र विद्यार्थी उत्तीर्ण भएको उदाहरणले विद्यालयको शैक्षिक अवस्था गम्भीर रहेको संकेत गर्ने स्रोतको दाबी छ।

यसैबीच विद्यालय राजनीतिक चपेटामा परेको आरोप पनि लागेको छ। स्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति नेपाली कांग्रेस निकटका व्यक्तिको नेतृत्वमा रहेको छ भने नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनलगायतका राजनीतिक प्रभावका कारण विद्यालयको प्रशासन र शैक्षिक वातावरण प्रभावित भएको छ।

उक्त विद्यालयकी लेखापाल सरिता रेग्मी राजनीतिक चपेटामा परेर राजीनामा नै दिन बाध्य भइन्। केही दिनअघि मिडियामार्फत उनले राजीनामा दिएकी थिइन्।

राजीनामापछि उनले भनिन्,‘कुनै पनि विद्यालयका लेखापाल थिचोमिचोमा नपरुन् भन्ने उद्देश्यले मैले राजीनामा दिएको हुँ। कुनै कर्मचारी वा शिक्षकलाई पनि यसरी दबाएर राख्न नपरोस् भन्ने मेरो चाहना हो।’

रेग्मीका अनुसार आफूलाई फसाउन विद्यालयभित्र विभिन्न हर्कत गरिएको थियो। ‘कहिले आवेदन फारामहरू थुतेर फ्याँकीदिने, कहिले छात्रवृत्ति नै लुकाइदिने, कहिले बिलहरू थुतेर फ्याँकीदिने जस्ता काम गरिन्थ्यो,’ उनले भनिन्।

आफू पढाउन कक्षामा जाँदा शिक्षकले नै विद्यार्थीलाई अन्य कक्षामा परिचालन गर्ने गरेको पनि बताइन्। उनले भनिन्,‘कक्षामा मेरो विषय पढाउन जाँदा विद्यार्थीलाई अरू कक्षामा पढाउन परिचालन गर्ने, शिक्षकचाहीँ घाम तापेर बस्नुहुन्थ्यो।’

प्रकाशित: २० पुष २०८२ १२:५० | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast